७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कालिकोटमा वडाअध्यक्षमाथि जातीय भेदभाव गर्ने विरुद्ध मुद्दा दर्ता

जिल्लाको पचालझरना गाउँपालिका–२ का वडाअध्यक्ष ४१ वर्षीय करबीरे विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा स्थानीय विरुद्ध मुद्दा दर्ता भएको छ।

पक्राउ परेका सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीविरुद्ध जातीय विभेदको मुद्दा दर्ता भएको हो।

स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल फोनमा वडाअध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले पुष १२ गते प्रहरीमा उजुरी दिएपछि सोमबार मुद्दा दर्ता भएको छ।

प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको कालिकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए।

उनका अनुसार कार्यालय सहयोगी बोगटीले फेसबुक स्ट्याटसको कमेन्ट बक्समा ‘ए डुम कोमारा’ भन्दै गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाका अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरिएको र आज मुद्दा दर्ता गरेको केसीले बताए।

पीडित वडाध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछूत तथा भेदभाव सम्बन्धी कसुर सजाएँ ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए। नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्दै कालिकोटका दलित अधिकारकर्मी,मानव अधिकारकर्मीले चर्को विरोध जनाएका छन्। आरोपित बोगटीले आफूले जातीय भेदभाव गर्ने उद्देश्यले टेलिफोन र सामाजिक सञ्जालमा नभनेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित: १६ पुस २०८० ०७:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App