१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हराएको लिउक सामाजिक सञ्जालले फर्कायो!

कुकुर तिहारको भोलिपल्ट लक्ष्मीपूजाको दिन हराएको लिउक नाम गरेको कुकुर घर झन्डै दुई महिनापछि आइतबार घर फर्किएको छ। भक्तपुर कौशलटारका रमेश खड्काले हराएको ‘जर्मन सेफर्ड’ जातको लिउक नाम गरेको कुकुर घर फर्कंदा परिवारका सबै सदस्य खुसी भएको बताए।

‘लिउक हराएको निकै भइसकेको थियो, हामीले ऊ आउने वा पाउने आशा मारिसकेका थियौं,’ खड्काले भने, ‘सामाजिक सञ्जालका कारण हराएको कुकुर फेला पार्न सम्भव भएको छ। अहिले हामी एकै ठाउँमा छौं भनेर जानकारी गराउन पाउँदा निकै खुसी छौं।’

लिउक परिवारको एउटा हिस्साजस्तै भएकाले ऊ हराएपछि परिवारका सबैले दुःख मानेको खड्काले बताए। ‘खासगरी छोराहरू निकै दुखी थिए,’ उनले भने, ‘अहिले लिउक घर आएपछि देशविदेशमा रहेका छोरा पनि खुसी छन्।’

चार वर्षअघि काठमाडौं बुढानीलकण्ठका साथीले आफूलाई उक्त कुकुर उपहार दिएको खड्काले सुनाए। उक्त कुकुर छोरा आदित्यले लिएर आएको र हराएपछि सबैभन्दा धेरै दुखी उही भएको उनले बताए। ‘छोरा आदित्य विदेशमा छन्। उतैबाट सधैं कुकुरको खोजीमा जुटिरहे,’ खड्काले भने, ‘सबैको सहयोगबाट कुकुर भेटियो।’

सुरुमा घरवरपरका सबै बस्तीमा कुकुर खोजेपछि थाकेका खड्काले सामाजिक सञ्जालमा हराएको सूचना पोस्ट गरे। त्यो सूचना पढेपछि अस्ट्रेलियास्थित कोहिनुर सुवेदीले चासो देखाएको र उनैको सहयोगले थप खोजीमा सहयोग पुगेको खड्काले बताए। 

कोहिनुरले अस्ट्रेलिया बसेर नेपालमा कुकुरहरूको रक्षाका लागि काम गर्दै आएको खड्काले बताए। कुहिनुरबाट ‘एडप्ट एन्ड लस्ट डग्स नेपाल’ भन्ने पेजबारे थाहा भएको जानकारी दिँदै खड्काले भने, ‘कुकुर हराएको सूचना त्यहाँ पोस्ट भएपछि पत्ता लगाउन हामी सफल भयौं।’ 

त्यो पेजमा थुपै्र ‘डगलभर’हरू आबद्ध रहेको र उनीहरू कुकुरको खोजी र उद्धारमा निरन्तर जुटिरहने खड्काले सुनाए। उनीहरूकै सहयोगका कारण भक्तपुरबाट हराएको कुकुर काभ्रेस्थित काठमाडौं विश्वविद्यालय (केयु) को प्रांगणमा भेटिएको जानकारी खड्काले दिए। ‘केयुमा अध्ययनरत विद्यार्थीले सामाजिक सञ्जाल फेसबुकमा सूचना भेटेपछि हामीलाई जानकारी गराएका थिए,’ उनले भने, ‘त्यहाँ पुगेपछि हामीले हाम्रो कुकुर पायौं।’

काठमाडौं विश्वविद्यालयमा पढ्ने तर नचिनेका आस्था र प्रदीप सामाजिक सञ्जालमा जोडिएका र उनीहरूले नै त्यहाँ लिउकजस्तै कुकुर भएको भनेर जानकारी खड्कालाई गराएका थिए।

‘उनीहरूको मद्दतमा हामी आइतबार धुलिखेल पुग्यौं,’ खड्का भन्छन्, ‘त्यहाँ हामीले लिउकलाई भेट्यौं।’ कुकुर केही दुब्लो भएका कारण सुरुमा चिन्नसमेत मुस्किल भएको उनले सुनाए। ‘तर कुकुरले हामीलाई चिनिहाल्यो,’ खड्काले भने, ‘हामीबाट छुट्टिएको परिवारको सदस्य भेटिएपछि खुशी मिलेको छ।’ 

लिउक केयुका विद्यार्थीले दिने बिस्कुटलगायत खानेकुरा खाएर बाँचेको खड्काले सुनाए। सामाजिक सञ्जालको सहयोगमा कुकुर भेटिँदा उनी गद्गद् छन् सामाजिक सञ्जालमा कुकुर हराएको विषयमा पोस्ट गरेपछि कतिपयले ‘मान्छे मार्ने देशमा कुकुर किन खोज्छौं’ भनेको उनले सुनाए। ‘तर प्रयोग गर्न जाने सामाजिक सञ्जालका फाइदा धेरै छन्। लिउकको घरफिर्ता यसैका कारण सम्भव भएको छ,’ उनले भने, ‘सामाजिक सञ्जालमा लिउकबारे चासो राख्ने सबैलाई धन्यवाद्।’ 

प्रकाशित: १२ पुस २०८० ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App