१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बर्दियामा चितुवाको आक्रमणबाट नौ जना घाइते

चितुवाको आक्रमण परि घाइते भएकामोहन थारु।

चितुवाको आक्रमणबाट आइतबार दिउँसो नौ जना घाइते भएका छन्। गुलरिया नगरपालिका–११ गो कचौरामा चितुवाले आक्रमण गरेको हो।गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षीय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भीर घाइतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ।

वनका कर्मचारी धर्म चौधरी र प्रहरीका सहायक हवल्दार गोमानसिंह सोनार सामान्य घाइते भएका छन्। ५ जना सामान्य उपचार पछि घर फर्केका छन्।

थारु खेतमा तोरी काटिरहेको बेला चितुवाले एक्कासि आक्रमण गरेको हो भने हज्जाम घर पछाडि उभिएको बेला घर नजिकैको अरहर बारीबाट निस्केको चितुवाले एक्कासि आक्रमण गरेको उनको आफन्तले जानकारी दिए।

थारुको निधार, दायाँ पाखुरा र हातमा गहिरो चोट छ।त्यसैगरी हज्जामको बायाँ खुट्टाको थाईमा गहिरो घाउ रहेको बर्दिया अस्पतालका इमरजेन्सी सहायक रुपेन्द्र सोनकारले बताए। ‘हज्जामको थाईमा ५ वटा टाका लागेको छ’सोनकारले भने,‘त्यसैगरी ढाडमा नङ्ग्राले चिथोरेको घाउ छ।’ अस्पतालमा भर्ना भएका दुवै घाइतेहरूको सामाजिक सेवा इकाईबाट निःशुल्क रुपमा उपचार भईरहेको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेयले जनाए।

चितुवाले आक्रमण गरेको जानकारी पाएपछि वनको टोली घटना स्थलमा पुगेको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीले बताए। ‘वन र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली चितुवा उद्धार गर्न घटना स्थलमा पुग्यो’ प्रमुख बिडारीले भने,‘हजारौँको भिडले हाम्रो टोलीलाई काम गर्न अवरोध पु¥याउँदा वनको कर्मचारीसमेत घाइते हुन पुगे।’ स्थानीयले हाम्रो टोलीलाई आक्रमण गर्दा वनका कर्मचारी भागाभाग भएको उनले जानकारी दिए।

 आइतबार साँझ ५ बजेसम्म पनि कर्मचारीहरू कार्यालयमा नपुगेको जनाए। चितुवा नजिकैको बगैँचातर्फ भागेको जानकारी प्राप्त भएको प्रमुख बिडारीले जानकारी दिए। साँझ भइसकेकोले आज डार्ट गर्न समस्या हुन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरि छिटो भन्दा छिटो चितुवालाई नियन्त्रणमा लिने प्रमुख बिडारीले जानकारी दिए।

प्रकाशित: १ पुस २०८० १२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App