८ असार २०८१ शनिबार
image/svg+xml
समाज

निर्दोष नेपालमाथि भइरहेको अन्याय अन्त्य हुनुपर्छ:प्रम दाहाल

कोप–२८

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कुनै भूमिका नहुँदानहुँदै पनि नेपालीहरू जलवायु परिवर्तनका कारण सिर्जित विपद्बाट अत्यधिक प्रभावित रहेको बताएका छन्। ‘हामीलाई घोर अन्याय भएको छ, यसकोे अन्त्य हुनुपर्छ,’ दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको उच्च राजनीतिक सत्रलाई शनिबार सम्बोधन गर्र्दै उनले भने।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका बाढी, पहिरो, डढेलोे, हिमताल विस्फोट तथा खडेरीजस्ता विपद्का घटनाले नेपालीहरू गम्भीर हिसाबले प्रभावित रहेको बताए। ‘म यहाँ हाम्रा निर्दाेष जनताले जलवायु न्याय पाउनुपर्छ भनेर उभिएको छु,’ उनले भने। सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले जलवायु जोखिममा रहेका अल्पविकसित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोगको आवश्यकता औंल्याउँदै विकसित राष्ट्रले पर्याप्त स्रोतसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिए। पर्याप्त सहयोगको अभावमा नेपालजस्ता राष्ट्रले संकटलाई आफ्नै हिसाबले सम्बोधन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री दाहालले बर्सेनि विकासोन्मुख राष्ट्रलाई १०० अमेरिकी डलर जलवायु वित्त उपलब्ध गराउने भनी विकसित राष्ट्रबाट यसअघि भएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने, जलवायु विपद्लाई सम्बोधन गर्ने क्रममा ऋण सहयोग नभई अनुदान सहयोग हुनुपर्नेमा पनि उनले जोड दिएका छन्। 

हालै स्थापना भएको हानि तथा नोक्सानी कोषको प्रक्रिया सरल हुनुपर्ने र यो अल्पविकसित र पर्वतीय राष्ट्रका समस्या समाधानमा पर्याप्त हुनुपर्ने तर्क प्रधानमन्त्रीको थियो। प्रधानमन्त्री दाहालले पर्वत र जलवायु परिवर्तनका विषय संवाद सुरु गर्न आवश्यक रहेको बताएका छन्। 

प्रधानमन्त्री दाहालले पेरिस सम्झौताले तय गरेका उत्सर्जन कटौती, स्वच्छ ऊर्जालगायत लक्ष्य हासिल गर्नेतर्फ नेपाल सम्पूर्ण हिसाबले प्रतिबद्ध रहेको पनि बताए।

प्रकाशित: १७ मंसिर २०८० ०१:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App