२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नौ हजार भूकम्पपीडितले पाए २२ करोड रुपैयाँ

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रुपैयाँ निकासा गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म कुल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन्। प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासा प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले राससलाई जानकारी दिए।

पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ। प्रवक्ता खड्काका अनुसार बुधबारसम्म दुई करोड ५३ लाख रुपैयाँ निकासा गरिएकोमा बिहीबार थप रकम निकासा भएको हो।

प्राधिकरणबाट प्राप्त विवरणअनुसार बझाङका चार सय ९० लाभग्राहीमध्ये एक सय १२ परिवारका लागि २८ लाख रुपैयाँ, रुकुम पश्चिमका आठ हजार पाँच पाँच ८५ लाभग्राहीका लागि २१ करोड ४६ लाख २५ हजार रुपैयाँ र बाजुराका एक हजार चार सय ३७ लाभग्राहीमध्ये एक सय ४२ लाभग्राहीका लागि पहिलो किस्ताबापतको ३५ लाख ५० हजार रुपैयाँ निकासा गरिएको हो।

सल्यानमा कायम भएका एक हजार चार सय ८५ लाभग्राहीसहित जाजरकोटका लाभग्राहीका लागि भने रकम निकासा गर्न बाँकी रहेको छ। कायम भएका लाभग्राहीका लागि छिट्टै र कायम हुन बाँकी रहेका लाभग्राहीका लागि कायम गरिसकेपछि द्रूत गतिमा वितरण हुने पनि प्रवक्ता खड्काले जानकारी दिए। -रासस

प्रकाशित: १५ मंसिर २०८० ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App