२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु

फाइल तस्बिर

भूकम्पले घर भत्किएपछि जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडाका नेत्र विकको सात जनाको परिवार पालमुनि पुग्यो।कात्तिक १७ गते आएको भूकम्पको केन्द्रविन्दू रामीडाँडा उच्च पहाडी क्षेत्र हो। त्रिपालमुनि बस्न थालेदेखि नेत्रकी ७३ वर्षीया बृद्ध आमा गोरी कामी बिरामी हुन थालिन्। 

‘त्रिपालमुनि न्यानो कपडा नहुँदा आमाको स्वास्थ्य अवस्था बिग्रदै गयो,’ उनले भने, ‘उपचारका लागि गत बुधवार रामीडाँडा स्वास्थ्य चौकीमा भर्ना गरायौँ। उपचार सम्भव नभएपछि लिम्साको आधारभूत अस्पताल पनि लग्यौंं। तर, वृद्ध शरीर भएकी आमालाई बचाउन भने सकेनौं।’ 

रामीडाँडामा अहिले झन् चिसो बढेको छ। पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

रामीडाँडा स्वास्थ्य चौकीमा कार्यरत अनमी सपना बुढाका अनुसार भूकम्पछि दैनिक बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ। ‘अरु बेला दिनमा १० देखि १२ जनासम्म बिरामीहरू आउँथे,’ उनले भनिन्, ‘अहिले दैनिक एक सय बढी बिरामीहरू स्वास्थ्य संस्थामा आउने गरेका छन्।’ उपचारका लागि आउने अधिकांशमा ज्वरो आउने, वान्ता हुनेलगायतका समस्या देखिने गरेको उनले बताइन्।

भूकम्पपछि चिसोले जाजरकोटमा ज्यान गुमाउने गोरी एक्ली होइनन्। भूकम्पयता जाजरकोटमा मात्रै अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ। प्रहरीको तथ्याङ्क अनुसार कात्तिक १९ देखि हालसम्म २४ जनाको चिसोकै कारण ज्यान गुमाएका छन्। कात्तिक १९ मा जाजरकोटमा चिसोका कारण पहिलो मृत्यु भएको थियो। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जाजरकोटको कुशे गाउँपालिकाका ७ जना, भेरी नगरपालिकामा २, बारेकोट गाउँपालिकामा २, नलगाड नगरपालिकामा ३, छेडागाड नगरपालिकामा ५ र जुनिचाँदे गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार जुनिचाँदे गाउँपालिका–५ सिलिन्गेमा मृत्यु भएका एक वर्षीय बालक निरजको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो। यस्तै भेरी नगरपालिका–२ पुरानो रिसाङकी एक महिनाको शिशु निरुता पुनको पनि नियोमियाको कारण मृत्यु भएको थियो। निमोनिया भएपछि उनलाई जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।  

प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी भिमप्रसाद ढकालका अनुसार मृतकमध्ये अधिकांश दमका बिरामीहरू हुन्। मृतकमध्ये दुई जनालाई हृदयघात भएको थियो भने अधिकांस दम रोगका बिरामीहरू थिए। चिसोमा दीर्घरोगीहरू ठूलो समस्यामा छन्। कर्णाली प्रदेश अस्पतालका डाक्टर विकाश खड्काका अनुसार दमका बिरामीहरूलाई न्यानो आवश्यकता पर्छ।  

‘भूकम्प प्रभावित जिल्लामा घर भत्किएर नागरिकहरू अहिले पालमुनि बस्नु भएको छ, न्यानोको अनुभूति गर्न पाउनु भएको छैन्,’ उनले भने, ‘चिसोका कारण दमलगायत दीर्घरोगीहरू समस्यामा हुनुहुन्छ।’ भूकम्प पीडितहरूले अझै अस्थायी घर बनाउन सकेका छैनन् । चिसो झनझन बढ्दै गएको छ।  

भूकम्पयता जाजरकोटमा मृत्यु भएकाहरूको विवरण

१. गल्पु शाही (५१) कुशे–६

२. पदमबहादुर शाही (५९) कुशे–७

३. मनबहादुर शाही (५५) कुशे–६

४. डुमे पुन (७०) कुशे–१

५. लालबहादुर शाही (५४) कुशे–७

६. मैना सिंह (८०) कुशे–२

७. रामसिलन गिरी (५२) कुशे–९

८. धुलेश्वर कार्की (८८) भेरी–२

९. निरुता पुन (१ महिना) भेरी–२

१०. चल्ली दमाई (८०) बारेकोट–७

११. गोरी कामी (७३) बारेकोट–१

१२. नरेन्द्र सिंह (७१) बारेकोट–४

१३. सर्मिला विक (२५) नलगाड–८

१४. गोपालबहादुर रावल (८४) नलगाड–४

१५. पम्फा रावल (४९) नलगाड–४

१६. सिडुगे शाही (७०) जुनिचाँदे–९

१७. बिर्खे दमाई (६४) जुनिचाँदे–१

१८. सुगिली नेपाली (८९) जुनीचाँदे–४

१९. निरज शाही (१) जुनिचाँदे–५

२० मनसरी कामी (५६) छेडागाड–१३

२१. मनी रावत (६२)  छेडागाड–२

२२. सेतु बुढा (६१) छेडागाड–२

२३. हरिबहादुर रावत (५७) छेडागाड–१

२४. लिले बुढा (६५) छेडागाड–१

प्रकाशित: १४ मंसिर २०८० ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App