१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पर्यटन मन्त्रालयकाे अधिकृत भन्दै पैसा नतिरी मदिरा खाएको आरोपमा एक पक्राउ

तस्बिर: भानुचोकस्थित एक मदिरा पसलको सिसिटिभीमा कैद भएका साह।

‘मोबाइल फोन पे’ बाट रकम भुक्तानी गरेको भन्दै धरानको विभिन्न पसलहरूबाट महँगो मूल्यको मदिरा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धरान-१९ का विकास साह छन्। उनको साथबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डको शाखा अधिकृतको परिचय पत्र पनि फेला परेको छ।

यस्तै, रुटिन अफ धरान बन्द पेजको रिपोर्टर भएको परिचय पत्र पनि साहको साथबाट भेटिएको छ। हाल प्रहरी नियन्त्रणमा रहेका साहले विभिन्न पसलहरूमा महँगो रक्सी खरिद गर्ने र फोन पे गर्ने गरेका थिए। उनले मोबाइलमा पेमेन्ट भएको स्क्रिन सट देखाएर समान लैजाने गरेका थिए। तर, व्यवसायीको खातामा भने पैसा जम्मा नहुने पीडितहरूको भनाइ छ।

धरानको थुप्रै मदिरा पसलहरूबाट मोबाइल पे गरेको भन्दै महँगो मदिरा लिएर जाने तर पैसा नआउने गरेपछि व्यवसायीहरूले भित्रभित्रै साहको खोजी गरिरहेका थिए। साहले कहिले आफू पर्यटन मन्त्रालयको कर्मचारी, कहिले वीपी प्रतिष्ठानको डाक्टर भएको परिचय दिने गरेको पीडित व्यवसायीहरूको भनाइ छ। 

साह सोमबार भानुचोकस्थित बाबा कोल्डड्रिंसमा मदिरा बेच्न आएको र त्यहाँका स्टाफले साहुजी नभएकोले मंगलबार आउन भनेका थिए। मंगलबार साँझ साह सोही पसलमा मदिरा बेच्न पुगेको बेला व्यवसायीहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको मनोकामना कोल्डड्रिंसका प्रोप्राइटर रमेश हतुवालीले बताए। साह बा ७ च ४४८० नम्बरको कार चढेर मदिरा बेच्न पुगेका थिए।

उनका अनुसार साहको मोबाइलमा फोन पे गरेको देखिने तर आफूहरूको खातामा पैसा जम्मा नहुने भएकोले सिस्टम ह्याक गरेको पनि हुनसक्ने उनले बताए। ‘उसले मोबाइलमा पैसा तिरेको देखिन्छ, तर हाम्रोमा जम्मा हुँदैन। एउटा मात्र होइन, सबैलाई यसरी नै ठगेको देखिन्छ। कतै सिस्टम ह्याक गरेको पो हो कि? गहिरो अनुसन्धान हुनुपर्ने देखिन्छ,’उनले भने। मंगलबार नियन्त्रणमा लिने क्रममा साहले आफू पर्यटन मन्त्रालयको अधिकृत बताएका थिए। तर आफूले तत्काल पर्यटन मन्त्रीको सचिवालयमा सम्पर्क गरेर बुझ्दा विकास साह नाम गरेको व्यक्ति कर्मचारी नभएको जानकारी पाएको पनि हतुवालीले बताए।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले साह विरुद्ध जाहेरी परेमा मुद्दा दर्ता गरेर कानुन बमोजिम कारबाही गर्ने बताए। तर, पीडितहरूले के गर्ने भन्ने प्रष्ट नभएको डिएसपी मल्लले बताए। ‘जाहेरी पर्‍यो भने मुद्दा दर्ता भएर कानुनी कारबाही हुन्छ। पीडितहरू के गर्ने भनेर सल्लाह गर्दै हुनुहुन्छ,’उनले भने।

यसैबिच, ठगी आरोपमा पक्राउ परेका साहका अभिभावक र मदिरा व्यवसायी संघका प्रतिनिधिहरुबीच छलफल भइरुहेको छ। 

साहका अभिभावकहरूले ठगी भएका पीडित व्यवसायीहरूको रकम तिरिदिने भन्दै एक पटकलाई माफी दिन आग्रह गरेको एक व्यवसायीले बताए। उनका अनुसार हालसम्म ११ जना पीडितहरू सम्पर्कमा आएका छन्। उनीहरूबाट ५० हजार बराबरको मदिरा ठगी भएको पनि खुलेको छ। ‘तत्काल ५० हजार बराबरको ठगी भएको देखियो। निवेदन दिने कि नदिने भनेर छलफल हुदैछ। एक पटकलाई छोड्ने हो कि भन्ने मत देखियो,’ती व्यवसायीले भने। 

प्रकाशित: १३ मंसिर २०८० ०९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App