७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

किन बन्दै छन् दलका नेता पूर्व राजाविरुद्ध आक्रामक ?

तीन दशक अगाडि जननेता मदन भण्डारीले राजा वीरेन्द्र शाहलाई ‘महाराजले आँखा नचम्काई बक्सियोस्, हात नलम्काई बक्सियोस्’ भन्दै राजधानीमा गरेको भाषण निकै चर्चित बनेको थियो। २०४७ सालमा एमालेका महासचिव भण्डारीले राजा वीरेन्द्रलाई राजनीति नै गर्ने हो भने सिधै चुनावमा आउने चुनौती दिएका थिए।

भण्डारीकै शैलीमा अहिलेका नेताले पनि पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिन थालेका छन्। मुलुकमा राजावादीको सक्रियता बढेसँगै ठूला दलका युवादेखि पाका नेताहरु पूर्व राजा ज्ञानेन्द्रसँग आक्रोशित छन्। नेताहरूले पूर्व राजा ज्ञानेन्द्रलाई पनि जस्केलाबाट छिर्ने कोसिस गर्नुभन्दा सिधै चुनावमा आउन चुनौती दिएका छन्।

एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिए। पत्रकार महासंघ ताप्लेजुङले आइतबार बिहान फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले पूर्वराजालाई जस्केलाबाट छिर्ने कोसिस नगर्न चेतावनी दिए।

‘पूर्वराजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउन आवश्यक छैन,’ उनले भने, ‘नेपाली जनताको समृद्धिको चाहनामा अवरोध सिर्जना गर्ने कार्य कुनै हालतमा सह्य हुँदैन।’

बहुदलीय व्यवस्था विरोधी हर्कत भइरहँदा सरकारको धारणा नआउनु रहस्यको विषय भएको भट्टराईले बताए। ‘म नेपाली कांग्रेसका साथीहरूलाई समेत आग्रह गर्छु,’ उनले भने, ‘अहिले यो त एमालेमाथिको दबाब न हो भनेर खुच्चिङ मान्ने अवस्था होइन, तपाईंहरुको पनि यसबारेमा धारणा के छ ?’

यसअघि शनिबार तमघासमा आयोजित नेपाली कांग्रेस गुल्मीको अधिवेशन उद्घाटन सत्रमा महामन्त्री गगन थापाले पनि राजतन्त्र फर्काउन मन भए पार्टी खोलेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्रलाई चुनौती दिएका थिए।

थापाले पूर्वराजाले च्याँखे थापिरहेको टिप्पणी गरे। ‘पूर्वराजाले जुवाको च्याँखे खालमा दाउ हान्ने होइन, थापाले भने, ‘महाराज ! जुवा खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ, कांग्रेस भिड्न तयार छ ।’ राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईं नेतृत्वको महाभियनाले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीति गर्ने भए दल खोलेर मैदानमा आउन चुनौती दिएका हुन्।

यसैगरी बिहीबार राष्ट्रिय युवा संघ नेपालले राजधानीमा गरेको विरोध प्रदर्शनमा एमाले नेता महेश बस्नेतले पनि पूर्व राजा ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन नभए प्रसाईंको पछि लाग्न भनेका थिए। ‘ज्ञानेन्द्र तिमीलाई निर्मल निवासमा बस्न मन छ कि छैन,’ बस्नेतले भनेका थिए, ‘मन नभए दुर्गा प्रसाईंको पछि लागे हुन्छ।’

त्यस्तै कात्तिक दोस्रो साता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गणतन्त्रमाथि प्रश्न उठाउने अधिकार कोही, कसैलाई नभएको बताउँदै पूर्व राजा ज्ञानेन्द्रलाई जोरी नखोज्न चेतावनी दिएका थिए। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई लक्षित गर्दै वंश शासनलाई अगाडि सारेर देशलाई अध्याँरोमा धकेल्ने प्रयास गर्नेले यो व्यवस्थामाथि प्रश्न गर्ने नैतिक अधिकार गुमाएको बताएका थिए। 

एक अर्को कार्यक्रममा पनि नेता नेपालले पूर्वराजालाई चेतावनी दिँदै धेरै जोरी नखोज्न भनेका थिए । नेपालले पूर्वराजालाई हिम्मत भए आफूहरुसँग चुनाव लड्न पटक पटक चुनौती दिँदै आएका छन्।

त्यसो त पूर्व राजा ज्ञानेन्द्रले पनि दलका नेताहरुलाई चेतावनी नदिएका होइनन्। उनले बेलाबेलामा देशमा अस्थिरता बढ्दै गएको र राष्ट्रियता खतरामा रहेको औंल्याउँदै आएका छन्। उनले दलका नेतालाई निषेध र प्रतिशोधको मानसिकताबाट बाहिर निस्कन आग्रह गर्दै आएका छन्।

प्रकाशित: १० मंसिर २०८० १३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App