७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

तिहार सकियाे,छठ सुरू

छठ मनाउन केराको जोहो गर्दै मधेसका महिला। तस्बिर: मिथिलेस यादव/नागरिक

लोक आस्था र विश्वासको पर्व छठ यो वर्ष शुक्रबार सुरु हुँदैछ। कात्तिक शुक्ल चौथीको दिनदेखि चार दिनसम्म मनाइने यो पर्व केही वर्ष अघिसम्म मधेसमा मात्र सीमित थियो। अहिले यो पर्व पहाडमा पनि हर्षोल्लासका साथ मनाउने गरिन्छ। शुक्ल चौथीको दिन नहायखाय गरी छठ बर्तालुहरू आफूलाई शुद्धीकरण गर्दै घर आँगन चोख्याउँछन्। शुद्धताको विशेष महत्व राख्ने छठ पर्व कात्तिक शुक्ल सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुन्छ।

यसपटक शनिबार पञ्चमीमा खरना (रसियाव रोटी), आइतबार साँझिया घाट अर्थात् अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाआजा गरी सोमबार बिहानी घाट अर्थात् उदाउँदो सूर्यलाई अर्घ दिएर छठपूजा सम्पन्न हुनेछ। छठपूजाका लागि देशका विभिन्न स्थानमा रहेका पोखरी, तलाउ तथा नदी तटहरूमा सरसफाइ गरिएको छ। यही सन्दर्भमा काठमाडौंका नदीकिनार र तलाउहरू पनि सफा पारिएको छ। बर्सेनि नदी सफाइमा खटिने बाफलका सन्तोष रौनियार यसपटक पनि आफ्नो टिम लिएर टंकेश्वरस्थित विष्णुमती नदी किनार सफाइमा जुटे।

‘काठमाडौंमा पहिलो पटक छठ मनाउने सुरु भएकै कालीमाटी टंकेश्वर नदीबाटै हो,’ सन्तोषले नागरिकसँग भने, ‘हाम्रा हजुरआमाले सयौं वर्षअघिदेखि नै कालिमाटीकै टंकेश्वरमा रहेको विष्णुमति नदीकै किनारमा रौनियारलगायत अन्य मधेसी तथा पहाडी दुवै समुदायसँगै बसेर मनाउँदै आउनुभयो। त्यही भएर हामी यही घाट सरसरफाइ गरी यहीं नै छठ पूजा गर्छौं,’ उनले भने, ‘लोक आस्था र विश्वासको पर्व छठ भावनात्मक सम्बन्धसँग जोडिएको छ।’

साहित्यकार राजेन्द्र विमलका अनुसार छठ पर्व सांस्कृतिक समन्वयसँग जोडिएकाले राष्ट्रिय एकता बलियो बनाएको छ। ‘संसारका सबै बलिया प्राचीन सभ्यतामा सूर्य पूजाको महत्व देखिन्छ,’ उनले भने, ‘छठ पूजा त अस्ताउँदो र उदाउँदो सूर्यलाई दिइने अर्घसँग जोडिएको छ। संसारमा प्रत्यक्ष देखिने एक मात्र सूर्यदेव नै हुन्। यसकारण पनि छठ सबैको पर्व हो।’

विगतमा मिथिला र तराई मधेसको मुख्य पर्व मानिने छठ पर्व अहिले सबै जातजाति र समुदायको बन्न पुगेको उनको भनाइ छ। ‘वीरगन्जको घरिअर्वा पोखरी भनेझैं काठमाडौंको रानीपोखरी छठ पर्वको केन्द्र बनेकै समयमा महानगरपालिकाले बन्द गर्नु राम्रो भएन,’ उनले सुझाए, ‘नदी र तलाउ किनारमा समूहमा बसेर सामूहिक र सद्भावको भावनात्मक सम्बन्ध राखेर मनाइने यो छठ पर्व रानीपोखरीमा मनाउन दिनुपर्छ। महानगरका मेयरले रानी पोखरी छठका बेला खुला गर्नुपर्छ।’

संस्कृतविद् रामभरोस काप्रीले परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्यदेवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोकव्यवहार र लोकपद्धतिको पर्वका रूपमा समेत लिने गरिएको अनुभव सुनाए। तराई होस् या पहाड, सबै क्षेत्रमा छठ पर्वको महत्व उत्तिकै छ। सूर्य देवताको उपासना गरी मनाइने छठ पर्वमा सबै जातजाति मिलेर आवश्यक पूजासामग्री तयार पर्ने भएकाले यो सबैको पर्व हुन गएको उनको ठम्याइ छ।

धार्मिक मान्यताअनुसार खरनाकै छठ पूजाको पहिलो दिन भएको उनले बताए। साँझिया घाटको पूजामा बर्तालुहरू तयार पारिएको पूजासामग्री डालोमा राखेर परिवारका सबै सदस्यसहित नदी, तलाउ ,पोखरीलगायतमा पुगेर किनारमा मिलेर छठी माता र सूर्य देवको भजन कीर्तन गरी साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाउनेछन्। छठ पूजामा मुख्यतया ठेकुवा, पुरी, कसार, ऋतुअनुसारका फलफूल, उखु, केराउ, चामल, अर्घ, पातलगायत पूजासामग्री आवश्यक हुन्छ।

शुद्धता तथा पवित्रताको पर्व छठ पूजामा साँझिया घाटका दिन नदी किनारमै सिरसीता देवीको आकृति बनाएर पूजा गरि भजन–कीर्तन गर्छन्। अस्ताउँदो सुर्यलाई जलाशयमा अर्घ दिएर फर्कने गर्छन्।

‘हाम्रा ऋषिमुनिहरूले त्यतिखेर प्रत्यक्ष देखिने र अनुभव गर्न सकिने सूर्यदेवको पूजाअर्चना गरी लोकव्यवहार र लोकपद्धतिबाट छठ पूजा गर्ने गरेको ग्रन्थहरूमा उल्लेख छ,’ संस्कृतविद् काप्रीले नागरिकसँग भने, ‘यो पर्व पूर्ण रूपमा कृषिमा आधारित पनि हो। किनभने, यस पर्वमा कात्तिक महिनाभरि फल्ने फलफूल, खाद्यान्नलगायतका सबै अनाज भगवान् सूर्यलाई अर्पण गरी अस्ताउँदो र सप्तमीमा उदाउँदो सूर्यको अर्घ दिएर पूजा सम्पन्न हुन्छ। चार दिनको पूजा सम्पन्न गरेपछि मात्र बर्तालुहरूले नुनसहितको खाना खान्छन्।’

उनका अनुसार अहिले मधेसी, पहाडी र मुस्लिम समुदायले समेत यो पर्वमा व्रत बस्ने गरेका छन्।

छठ बर्तालु पुनम रौनियारका अनुसार छठमा आवश्यक पर्ने बासले बनेको डालो र सुपली डोम समुदायले नै तयार पारेका हुन्छन्। फलफूल मुस्लिम समुदायले बिक्री गर्छन्। पुनम विगत एक दशकदेखि परिवारको सुखसमृद्धिका लागि आफै छठ ब्रत बस्दै आएकी छन्।

‘मैले छोरीको विवाहका लागि भाकल गरी छठ पर्व उठाएकी हुँ। व्रत बस्न थालेपछि मेरो परिवारमा स्वास्थ्य, समृद्धि र पुण्य लाभ भयो,’ पुनमले अनुभव सुनाइन्, ‘छठ पूजालाई नै समझेर परिवारका कोही सदस्य बाहिर छन् भने अनिवार्य घर आउँछन्। परिवारमा एकता र समुदायमा सदभाव छठ पूजाले कायम गरेको छ।’

कात्तिक चौथीको दिनमा बर्तालुहरू नुहाएर चोखो भई चोखै खानेकुरा खान्छन्। पञ्चमीमा खरनाको दिन भोको बसेर साँझ सूर्य अस्त भएपछि परिवारको सदस्यहरू मिलेर पूजाकोठामा माटोको चुलोमा चोखो गहुँको पिठोको सुक्खा रोटी पकाउँछन्।

साथै दुध नहालेको चमल, पानी र सखरको रसिआव पकाउँछन्। यस दिन रसिआव रोटी तथा ऋतुअनुसारको फलफूल चढाएर छठी माताको भजन गाएर बर्तालुहरूे खरना पूजा गर्छन्। पूजापछि परिवारका सदस्यहरूले प्रसाद खाएर खरना पुजा सम्पन्न गर्छन्। षष्ठीको दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर पुजा गर्छन्।

सप्तीमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पुजा सम्पन्न हुन्छ। ‘अमेरिका, रुस, जापान, क्यानाडा, बेलायत, भारत, नेपाल, अस्ट्रेलिया लगायत देशमा समेत छठ पर्व उल्लासका साथ मनाउने गरेको मैले पाएको छु ,’ संस्कृतिवद् काप्रीले भने, ‘आस्था र विश्वासका साथ छठ पूजा मनाउने समुदाय अहिले विश्वभरि छ।’

विमलका अनुसार निःसन्तानलाई सन्तान प्राप्तिका लागि छठ व्रत बस्ने लोकविश्वास कायम छ। धर्मग्रन्थअनुसार सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा मुख्य अंशलाई देवसेना भनिन्छ। प्रकृतिको छैटौं अंश भएका कारण पनि यी देवीको नाम षष्ठी देवी भएको जनविश्वास छ।

 ‘आफ्नो सन्तान मृत भेटिएपछि कायमुनि बिलौना गरिरहेका बखत प्रकृतिको ठुलो अंश प्रकट भई मुनिको मृत सन्तानलाई जीवित पारिदिएको कथा ग्रन्थमा उल्लेख छ,’ विमलले भने, ‘त्यसपछि देवीले आफनो नाम षष्ठी रहेको र संसारमा यही नाम प्रचार गर्न मुनिलाई आज्ञा दिएर विलीन भएको कथा छ। यसकारण निःसन्तानले सन्तान प्राप्तिका लागि पनि छठ व्रत बस्छन्।’

प्रकाशित: १ मंसिर २०८० ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App