३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

यस्ता छन् सात प्रदेशका सात समाचार(भिडियो सहित)

जाजरकोट भूकम्पमा ४८ घाइते डिस्चार्ज

जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ जना घाइते डिस्चार्ज भएका छन्।

अस्पतालका अनुसार अहिले ८ घाइतेको उपचार भइरहेको छ। अस्पतालमा ६० जना घाइते उपचाररत थिए।

पोखरा घुम्न आएका विदेशीलाई भाइटीका  

पोखरा घुम्न आएका पर्यटकले भाइटीका लगाएका छन्। बुधबार पोखरामा आयोजित १६ औं भाइटिका महोत्सवमा देश विदेशका ६८ जना पर्यटकले भाइटीका लगाएका हुन्।

होटेल संघ पोखराले आयोजना गरेको यो महोत्सवमा नेपालसहित १५ देशका पर्यटक सहभागी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु

अछाममा टेम्पो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गए राति मध्यपहाडी राजमार्ग अन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो।

चितवनमा तरकारी बिक्री नभएर खेतबारीमै कुहिन थाले

तरकारी बिक्री नभएर खेतबारीमै कुहिन थालेपछि चितवनका किसान चिन्तित भएका छन्।

पश्चिम चितवनका किसानले तिहार र छठ पर्वलाई लक्षित गर्दै लगाएका काँक्रा, फर्सी, सिमी मुला लगायतका तरकारी नबिकेपछि यति बेला किसान चिन्तित बनेका हुन्।

छठका लागि पोखरी तथा किनार झकिझकाउ

प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयका किनार झकिझकाउ बनाइएको छ।

मधेसका विभिन्न ठाउँको जलाशयमा छठ पर्वका लागि घाट निर्माण गरिएको छ।

बराह क्षेत्रमा लाग्ने महाकुम्भ मेलाको तयारी तीव्र

सुनसरीको प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको चतरामा १२÷१२ वर्षमा लाग्ने महाकुम्भ मेला र ६÷६ वर्षमा लाग्ने अर्ध कुम्भ मेलाको तयारी तीव्र पारिएको छ।

प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधनी एकादशी मेलामा महाकुम्भ मेलाको प्रचारप्रसार गरिने भएको छ।

त्रिपालमुनि भूकम्प पीडितको तिहार

रुकुम पश्चिम आठबिसकोट–१३ घेत्मास्थित लटाका दिपकसंगम थापाले दिदीको हातबाट निधारमा टीका र गलामा सयपत्री फूलको माला त्रिपालमुनिनै लगाए।

कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले घर बस्न नमिल्ने गरी चिराचिरा पर्दा उनको सपरिवारले यसपालिको तिहार त्रिपालमुनिनै मनाएका हुन्।

प्रकाशित: ३० कार्तिक २०८० १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App