१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

पाँच रुपैयाँमा पनि बिक्दैन काँक्रा र फर्सी

तिहारमा पनि बिक्री भएन चितवनका किसानको तरकारी

पश्चिम चितवन स्थित अमृतनगरका हेमराज आचार्यले तिहार र छठ पर्वमा उत्पादन गर्ने लक्ष्यका साथ एक बिघामा काँक्रा र फर्सी लगाएका थिए। यो समयमा राम्रो बजार मूल्य पाउने आशामा रहेका आचार्य यतीखेर तरकारी नबिकेर चिन्तित छन्।

‘दसैँ तिहारलाई लक्षित गरेर काँक्रा र फर्सी उत्पादन गरियो। अहिले पाँच रुपैयाँ किलोमा पनि बिक्दैन,’ बारीमा फर्सी टिपेर थुपार्दै गर्दा भेटिएका आचार्यले भने, ‘उत्पादन गरेर बारीमा नै कुहाएर फाल्नुपर्छ।’ उनले व्यवसायीक रुपमा खेती गर्न थालेको पाँच वर्ष पुग्यो। जग्गा भाडामा लिएर चार बिघामा तरकारी खेती गरेका छन्। यस वर्ष फर्सी नबिकेर लगानी पुरै खेर गएको उनी बताउँछन्।

‘दश कट्ठामा लगाएको फर्सीमा ६० हजार लगानी भएको थियो। यस उत्पादन पनि राम्रो छ। उत्पादन दिन सुरु भएपछि व्यापारी नै आएनन्,’ उनले देशको अवस्थाबारे बताउँदै भने, ‘फर्सीमा पनि घाटा, काँक्रामा पनि घाटा जे लगाए पनि घाटा अब विदेश जानुपर्ने अवस्था आएको छ।’ फर्सीमा प्याकेजिङ गर्दा मात्रै प्रतिकेजि दश रुपैयाँ लागत लाग्ने गरेको उनले बताए। दसैँमा काँक्राको मूल्य राम्रै थियो। त्यसपछि ओरालो लागेको काँक्रो अहिले चार रुपैयाँमा झरेको छ। यसले किसानको लगानी उठ्दैन। उनको दश कट्टाको बारीमा काँक्रा छ।

तरकारीको बिक्रीले नै घर खर्च टार्ने किसान आम्दानी नभएपछि मर्कामा परेका छन्। भरतपुर महानगरपालिका २५ स्थित अमृतनगरका अमृत रानाभाट तीन बिघामा तरकारी खेती गर्दछन्। यतिखेर काँक्रो, फर्सी, मुला, क्यापसिकन, सिमी निस्किएको छ। बिक्री नभएपछि बारीमा तरकारी कुहिएर खेर गएको उनले बताए।

‘सिमी १० रुपैयाँ केजीमा पनि लैजान कठिन छ। त्यो टिप्ने बेलाका खेतालाको खर्च पनि उठ्दैन। काँक्रा र फर्सी त पाँच रुपैयाँमा पनि बिक्री हुँदैन,’ प्याकिङ गरेर व्यापारीले नलगेका फर्सी राखेका सेता बोरा देखाउँदै रानाभाटले भने ‘बारीमा उत्पादन भएको वस्तु बारीमै  कुहिन नदेऊ, पैसाको हिसाब पछि गरौँला बारीमा मात्र नराख्देऊ भनेर जिऊ जिऊ गर्दा पनि व्यापारीले लिँदैनन्।’

फर्सी एक दिनपछि टिप्ने हुन्छ। एक पटकमा २५ क्विन्टल उत्पादन हुने उनले बताए। उनको बारीमा दुई दिन बिराएर काँक्रो टिप्दा दुई क्विन्टल उत्पादन हुन्छ। यो सबै खेर गइरहेको उनले बताए। मुला समेत बिक्री भएको छैन। बुवाको प्रेरणाले २०६५ सालबाट व्यवसायीक तरकारी खेतीमा लागेका रानाभाट खेतालाको पैसा नउठ्ने हो कि भन्ने चिन्तामा छन्।

पश्चिम चितवन तरकारी खेतीका रुपमा प्रख्यात छ। यहाँ उत्पादन भएको तरकारीले राजधानी, पोखरा, हेटौँडा, बुटवल, नेपालगन्ज लगायतका बजार थेग्ने गर्दछ। यतिखेर किसानले सिमी, फर्सी, काँक्रा, काउली, बन्दा उत्पादन गरेका छन्। यद्यपि उनीहरुले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन। देशकै केन्द्रबिन्दुमा रहेका किसान तिहारको बेलामा पनि तरकारी बिक्री नहुँदा चिन्तित बनेका छन्। काँक्रो, फर्सी, मुला, सिमी लगायतका तरकारी बारीमै टिपेर थुपार्नु परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका तरकारी जोन सञ्चालक समितिका अध्यक्ष लेखनाथ भूषाल बताउँछन्।

पश्चिम चितवनलाई समेटेर तरकारीको जोन क्षेत्र समेत बनाइएको छ। यहाँ एक हजार हेक्टरमा तरकारी खेती हुन्छ। अहिले एक हेक्टरमा २० टनको हाराहारीमा फर्सी र काँक्रो उत्पादन भएको छ। फर्सी दैनिक १५ टनको हाराहारीमा खेर गएको उनले बताए। पाँच टनको हाराहारीमा पाँच रुपैयाँमा फर्सी व्यापारीले उठाएको उनले बताए। पाँच रुपैयाँमा बेच्दा किसानलाई प्रतिकेजि तीन रुपैयाँभन्दा बढी घाटा लाग्ने उनी बताउँछन्। ’सय रुपैयाँ केजी पत्रिका ल्याएर फर्सी बेर्नुपर्छ। काटुन् राख्नुपर्छ। खेतालालाई दिनुपर्छ। ५० केजीको बोरा बनाउँदा मात्रै प्रतिकेजि आठ रुपैयाँ किसानको खर्च आउँछ, उनले भने ‘बिउ, मल विषादी र अन्य समयका खेतालाको त यहाँ हिसाब नै आउँदैन।’ प्रतिकेजि तीन रुपैयाँ घाटा भएपछि किसानले फर्सी बारीमै टिपेर राख्ने गरेका छन्। काँक्राको मूल्य भने बिस्तारै बढ्दै जानेमा उनी आशावादी छन्। अहिले पाँच रुपैयाँमा काँक्रो बिक्री भइरहेको छ।

किसानले तरकारीको मूल्य नपाए पनि उपभोक्ताले भने चर्को मूल्य तिर्न बाध्य छन्। बजारमा काँक्रालाई १५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ। सरकारले बजारीकरण नगरिदिँदा किसानको उत्पादन खेर गइ रहको उनको भनाइ छ। ‘किसानको काम उत्पादन गर्ने हो। पुँजीले पुगेसम्म उत्पादन गर्छन्,’ उनले भने ‘प्रत्येक बर्ष यस्तै अवस्था आउने हो भने किसान पलायन हुने देखेको छु।’

प्रकाशित: ३० कार्तिक २०८० ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App