१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

१५७ को मृत्यु, मझौलो भूकम्प तर भयानक क्षति

गोरखा सम्झाउने जाजरकोट त्रासदी

जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पका कारण सोही जिल्ला र छिमेकी जिल्ला रुकुम पश्चिममा शनिबार साँझसम्म १५७ जनाको मृत्यु भएको छ भने २०० को हाराहारीमा घाइते भएका छन् । भूकम्पमा परेर जाजरकोटका १०५ जना र रुकुम पश्चिमका ५२ जनाले ज्यान गुमाएका हुन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा ७२ महिला र ३३ पुरुष तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुषको मृत्यु भएको छ ।  

गृह मन्त्रालयका अनुसार ती जिल्लामा मानवीय मात्र नभएर अर्बौं रूपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । शनिबार दिनभरि राज्यका तीनवटै सुरक्षा निकाय उद्धारमा खटिए पनि भौतिक संरचनामा कति क्षति पुग्यो भन्ने यकिन विवरण प्राप्त हुन बाँकी छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले पछिल्लो घटना विवरण अवगत गराउँदै शनिबार दिनभर उद्धार कार्यमा र राति राहत तथा व्यवस्थापनमा सुरक्षाकर्मी खटिएको बताए । गम्भीर घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट नेपालगन्ज, काठमाडौं तथा अन्य ठाउँमा लगिएको उनको भनाइ छ । 

शुक्रबार रातिबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्पप्रभावितको उद्धार तथा राहतमा जुटेका छन् । प्रभावित क्षेत्रमा यसका लागि २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकोप्टर तथा जहाजको प्रयोग गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परी घाइते भएका २१ दिने बालिकासहित आठजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनीहरू सबै रुकुम पश्चिमका हुन् । उनीहरूको उपचार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजमार्फत गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइएको र उपचार सुरु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए । अन्यको उपचार भने सुर्खेत, नेपालगन्ज लगायतका सरकारी अस्पतालमा भइरहेको गृह मन्त्रालयको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । शनिबार बिहान नेपाली सेनाको मेडिकल टोलीसहित उनी ती जिल्लामा पुगेका थिए । उनीसँगै ऊर्जामन्त्री शक्ति बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मा पनि गएका थिए । फर्कने क्रममा प्रधानमन्त्री दाहाल आफू चढेर गएको नेपाली सेनाको होलिकोप्टर उद्धारका लागि उतै छाडेर बुद्ध एयरको जहाजबाट काठमाडौ फर्किएका थिए । उनी नपुग्दै रातिदेखि नै दुवै जिल्लाका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र जाजरकोटबाट सुरक्षाकर्मी रातिदेखि नै उद्धार कार्यमा खटिए पनि जनशक्ति पर्याप्त भने थिएन । उनीहरूलाई सघाउन छिमेकी जिल्लाका सुरक्षाकर्मीहरू पनि शुक्रबार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा निरन्तर जुटिरहेका छन् । नेपाली सेनाका प्रवक्ता भण्डारीका अनुसार सेनाको टोली पनि शुक्रबार रातिदेखि नै खोज तथा उद्धारमा खटिएको थियो । आवश्यक परे थप उद्धार टोली तयारी अवस्थामा राखिएको उनको भनाइ छ । सेनाकै हेलिकोप्टरबाट उद्धार र राहत पु¥याउने काम भइरहेको उनले जानकारी दिए ।

सेनाले अन्य सुरक्षा निकाय, जनप्रतिनिधि, सरकारी र गैरसरकारी संघसंस्थाका पदाधिकारीलगायत आम सर्वसाधारणसँग सहकार्य गर्दै प्रभावित इलाकाहरूका घाइतेहरूको उद्धार गर्न, मृतकहरूको शव भग्नावशेषबाट निकाल्न, घाइतेहरूलाई जिल्ला अस्पताल तथा अन्य प्राथमिक उपचार केन्द्रमा पुर्‍याउन सहयोग गरिरहेको छ । साथै नेपाली सेनाको हवाई साधनद्वारा जटिल प्रकृतिका घाइतेहरूलाई थप उपचारका लागि नेपालगन्ज तथा सुर्खेत पुर्‍याइएको छ ।

वीरेन्द्र अस्पताल र सुर्खेत तथा नेपालगन्जस्थित मेडिकल युनिटहरूबाट खटिएको मेडिकल टोलीले स्थान विशेषमा सामान्य घाइतेहरूको उपचार गर्नुका साथै जटिल प्रकृतिका घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि अन्य अस्पतालहरूमा पठाएको छ । नेपाली सेनाका विभिन्न मेडिकल टिमहरूसहित भूकम्पपछिको खोज र उद्धार कार्यमा करिब तीन बटालियन फौज परिचालन गरिएको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । उनका अनुसार नेपाली सेनाका पाँचवटा हवाई साधन घाइते तथा बिरामीको उद्धार कार्य तथा राहत सामग्री ढुवानीमा निरन्तर खटिएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कडायतका अनुसार तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी घट्नास्थलमा उद्धारका लागि खटिएका छन् । ‘रातिदेखि नै उद्धार कार्य भइरहेको छ । नेपाल प्रहरी नै घटनास्थलमा सबैभन्दा पहिला पुग्ने निकाय हो । नेपाल प्रहरीको मेडिकल टिम पनि सक्रिय छ । सेना र सशस्त्रका नजिकका युनिटसमेत सक्रियतापूर्वक उद्धारमा जुटेका छन् । सडक, टेलिफोन अवरुद्ध भएका छन् ।

प्रहरीको टोलीले सडक खुलाउने, घाइतहरूलाई नजिकको अस्पताल पुर्‍याउने काम रातिबाटै गरिहेको थियो । यो क्रम अहिले पनि चलिरहेको छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी कडायतले भने । उनका अनुसार तत्काल जिल्ला प्रहरी कार्यालयहरू जाजरकोट र रुकुम पश्चिम, कर्णाली प्रदेश प्रहरी कार्यालय तथा गण सुर्खेत, चौरजहारी बेस क्याम्प, सल्यान र सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले खोजी तथा उद्धार कार्य गरिरहेको छ भने नेपाल प्रहरी अस्पतालबाट चिकित्सक प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा स्वास्थ्यकर्मी टोली परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बलले नंं. ३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कवीन्द्र खड्काको कमान्डमा ३५ जनाको टोली जाजरकोटका लागि खटाएको छ । नं. ६ बाहिनी सुर्खेतबाट डा. निश्चल घिमिरेको कमान्डमा एम्बुलेन्ससहित चार जनाको मेडिकल टोली जाजरकोटमा खटिएको छ । सशस्त्रका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दाङबाट विपद् उद्धारका लागि डिआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनरले पश्चिम रुकुमतर्फ पुगेर काम थालिसकेको छ । 

त्यस्तै सुर्खेतबाट दुई कन्टेनर जाजरकोटतर्फ गइसकेका छन् । उनका अनुसार नं. २९ गण दाङबाट रुकुम पश्चिमका लागि इन्स्पेक्टरको कमान्डमा २१ जनाको टोली खटाइएको छ । आश्रित गुल्म रुकुम पूर्वबाट इन्स्पेक्टरको कमान्डमा ११ जनाको टोली रुकुम पश्चिममा खटिएको छ । नं. ४२ रिजर्भ गण बाँकेबाट इन्स्पेक्टरको कमान्डमा २५ जनाको टोली जाजरकोटका लागि खटिएको छ । सशस्त्र प्रहरीको अस्पतालबाट डा. रोशन पराजुलीको कमान्डमा ९ जनाको (१८ जना) टोली मेडिकल सामग्रीसहित सेनाको स्काई ट्रकद्वारा रुकुम पश्चिम पुगिसकेको छ ।

राज्यले जे गर्नुपथ्र्यो, त्यो गरिएको छ: प्रधामन्त्री

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको निरीक्षणपछि फर्केपछि प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट प्रभावित जिल्लामा राज्यले जे भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरिरहेको बताएका छन् । शनिबार साँझ नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘आज म आफैं गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरूको निरीक्षण गरें । हताहत र घाइतेको संख्या ठुलो छ भने हजारौं घरमा क्षति पुगेको छ । म जाँदा डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरू सँगै लिएर गएको थिएँ । केही घाइतेलाई आफैंले हेलिकोप्टरबाट उद्धार गरेर ल्याएँ । राज्यले जे गर्नुपर्‍थ्यो त्यो गरिएको छ ।’

प्रधानमन्त्री दाहालले उद्धार र राहतका लागि सेनाका हेलिकोप्टर अझै खटिरहेको जानकारी दिए । त्यस्तै स्वास्थ्यकर्मीहरू पनि सबै प्रभावित क्षेत्रमा खटिएको उनले बताए । ‘मैले भोलि मन्त्रिपरिषद् बैठक बोलाएको छु । बैठकबाट थप राहतबारे निर्णय हुन्छ’, प्रधानमन्त्री दाहालले भने । उनका अनुसार उद्धार, उपचार, पुनःस्थापना, राहतबारे ठोस निर्णय लिन आइतबार बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको हो ।

सरकारले दुई जिल्लालाई ५/५ करोड दिने

भूकम्पपीडितका लागि सरकारले तत्काललाई बढी प्रभावित दुई जिल्लाका लागि १० करोड निकासा गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएकाले पीडितको उद्धार तथा राहतका लागि ती दुवै जिल्लाका विपद् कोषण्मा ५/५ करोड निकासा गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयमा शनिबार बिहान बसेको आकस्मिक बैठकले सो निर्णय गरेको थियो । गृह मन्त्रालयमा बैठकमा स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय, भौतिक योजना मन्त्रालय, संघीय मामिला मन्त्रालय, नेपाली सेना र मातहतका सुरक्षा तथा उद्धार निकायको प्रतिनिधित्व थियो ।

शुक्रबार रातिको भूकम्पले जाजरकोट र रुकुम पश्चिमका कतिपय ठाउँमा अकल्पनीय मानवीय र भौतिक क्षति भएपछि सुरक्षा संयन्त्रहरू रातिदेखि नै उद्धारमा जुटेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाली सेनाका चार वटा हेलिकप्टरमार्फत प्रारम्भिक उद्धार गर्नुका साथै राहत सामग्री पठाइसकेको प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित: १९ कार्तिक २०८० ००:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App