१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भ्रष्टाचार मुद्दा दायर

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजस्व अधिकृतविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देल, राजस्व अधिकृत कीर्तिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद राउत बरैमाथि चाँदी नदीमा राजस्व ठेक्कापट्टा गर्दा राजस्व चुहावट गरेको प्रमाणसहित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।

यसैगरी अख्तियारले तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीमाथि ३७ लाख ३४ हजार एक सय ९८ रूपैयाँभन्दा बढी राजस्व चुहावट गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तत्कालीन नगर प्रमुख चौधरी, प्रमुख प्रशासकीय अधिकृत सिग्देल, लेखा तथा राजस्व अधिकृत सुवेदीले आशिक कन्स्ट्रक्सनसित मिलेमतोमा चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। आव २०७७/०७८ मा ठेक्का सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेस नगरी नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी नगराई राजस्व चुहावट गरेको आरोप अख्तियारले लगाएको छ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिग्देल र लेखा तथा राजस्व प्रमुख सुवेदीमाथि ५५ लाख दुई हजार एक सय ९८ रूपैयाँ ६ पैसा, आशिक कन्स्ट्रक्सनका सञ्चालक बरैमाथि ५५ लाख दुई हजार एक सय ९८ रूपैयाँ ६ पैसा र तत्कालीन नगर प्रमुख चौधरीमाथि ३७ लाख ३४ हजार एक सय ९८ रूपैयाँ ६ पैसा बिगो दाबी गरी दोब्बरको जरिवानासमेत मागदाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका सिग्देल नगरपालिकामा अधिकृत तथा सुवेदी लेखा अधिकृतका रूपमा कार्यरत छन्। विशेष अदालतमा मुद्दा दायर भएसँगै दुवैजना स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ०४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App