२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बहिस्कारका बिच मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण

सर्लाहीको सदरमुकाम मलङ्गवामा दसैँमा दुर्गा पूजाको लागि बनाएको मुर्ति विर्सजनका लागि लगिँदै । तस्बिरः रासस

सर्लाही सदरमुकाम मलंगवामा मूर्ति विसर्जन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। केही महिनादेखि मलंगवामा मूर्ति विसर्जन व्यापक चुनौतीको विषय रहेको सन्दर्भमा दसैँको दुर्गा प्रतिमा विसर्जन पूर्ण रुपमा शान्तिपूर्ण रुपमा आज सम्पन्न भएको छ।

सदरमुकाम मलंगवासहित सर्लाहीमा कम्तीमा ६५ स्थानमा दुर्गा प्रतिमा बनाएर पूजा गरी मेला लगाइएको र आज साँझसम्म सबै ठाउँको मूर्ति विसर्जन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिएका छन्।

सर्लाही सदरमुकाम मलंगवामा मूर्ति विसर्जन ज्यादै कम मानिसको सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो। व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र विगतका वर्षहरूदेखि मूर्ति विसर्जनका लागि लगिने मार्ग नै प्रशासनले परिवर्तन गरिदिएपछि ज्यादै कम मानिसहरू विसर्जनमा सहभागी भएका छन्।विगतको वर्षहरूमा मूर्ति विसर्जन गर्नुअघि मूर्तिलाई बजारमा घुमाउँदै लैजाने मार्गलाई परिवर्तन गरेपछि आपत्ति जनाउँदै अधिकांश भक्तजनहरू मूर्ति विसर्जनमा सहभागी नै नभएको स्थानीय सुधीर शर्माले जानकारी गराएका छन्।

सर्लाही प्रशासनप्रति आक्रोश व्यक्त गर्दै स्थानीयवासीले मूर्ति विसर्जनलाई बहिस्कार जस्तै गरी सहभागिता नजनाएको स्थानीय गोविन्द्र जयसवालको भनाइ छ । स्थानीय प्रशासनले परम्परागत संस्कृतिप्रति हस्तक्षेप गरेको भन्दै केही स्थानीयवासीले असन्तुष्टि पनि व्यक्त गरेका छन्।

गत भदौमा श्रीकृष्ण जन्माष्टमी तथा असोजमा विश्वकर्मा पूजाको अवसरमा मूर्ति विसर्जन गर्ने क्रममा मलंगवामा दुई समुदायबिच तनाव उत्पन्न भई असहज स्थितिको सिर्जना भइसकेको अवस्थालाई हेरेर भिडभाड हुन नदिने र मूर्ति विसर्जन शीघ्र गरिने तरिका मात्र अपनाइएको सर्लाही प्रशासनको तर्क रहेको छ। 

प्रकाशित: ८ कार्तिक २०८० १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App