१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

भक्तपुरमा मनाइयाे खःमेय् अर्थात् राँगो जात्रा

नवरात्रिको नवौं दिन राति मनाइने भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मध्यराति सम्पन्न भएको छ।

धार्मिक एवं सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिने यो जात्रा महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमङ्गलका दिन खःमेय् अर्थात् राँगोलाई ल्याई भक्तपुरको नवदुर्गा मन्दिर प्राङ्गणमा बाँधेर राख्ने र नवमीका दिन उक्त राँगोलाई राति नवदुर्गा मन्दिरबाट दौडाएर नगर परिक्रमा गराउँदै ब्रह्मायणी मन्दिर पु¥याएर बध गरिएको हो।

महानवमीको राति नवौदेवी त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानी पूर्ण हुने हुँदा परम्परागत रूपमा खःमेय्को वध गरी जात्रा मनाउने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके रत्न बनमालाले बताए।

खःमेय् अर्थात् राँगोलाई हिजो साँझ तान्त्रिक विधिअनुरूप पूजाआजा गरी जाँडरक्सी खुवाएर मत्ताई शरीरभर अबीर दलेर स्थानीयवासीले नवदुर्गा द्यो छें (देवगृह) बाट लखेट्दै दत्तात्रय, च्याम्हसिंह हुदै ब्रह्मायणी मन्दिरमा पु¥याई देवीलाई चढाएर जात्रा मनाएका हुन्।

महानवमीको दिन राति नवदुर्गा देवगणलाई खःमयेको रगत चढाई देवगण सिद्ध गरी आज विजयादशमीको दिन तलेजुको पायो (खड्ग) जात्रा गरी खम्येको टाउकोलाई नगर परिक्रमा गर्ने परम्परा छ।

तान्त्रिक विधिअनुसार ब्रह्मायणीमा खःमेय्को वध गरिएको हो। वध गरिएको खःमेय् (राँगो)को एक टुक्रा मासु लिन मध्यराति ब्रह्मायणी मन्दिरमा हजारौंको भीड लागेको थियो।

सो मासुको टुक्रा प्रसादका रूपमा घरमा लगेर सुकुटी बनाई धूलो पारेर घ्यूमा मुछेर धूप बनाई लक्ष्मीपूजाका दिन बालेमा भूतप्रेत नलाग्ने, शत्रु नाश हुने र घरमा लक्ष्मीबास हुने जनविश्वास छ।

प्रकाशित: ७ कार्तिक २०८० ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App