१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

निभेको सुस्मिताको चुल्होः गीतमा दुःख बिसाउँदै दसैँ खर्च जुटाउँदै

नेपाली समाजमा एउटा उखान ‘हुनेलाई दसैँ, नहुनेलाई दशा’। दृष्टिबिहीन विक दम्पत्तीको जीवनमा यो उखान ठाक्कै मिलेको छ। जन्मजात दृष्टिबिहीन सुस्मिता विक र उनका श्रीमानले जलन विकलाई दसैँले पीडा दिने गरेको छ। घरमा साँझ बिहानको छाक टार्न धौधौ परिरहेको अवस्थामा दसैँमा छोराछोरीलाई नयाँ लुगा, मिठो खानेकुराको खोजीमा हिँडेका छन्।  

दसैँमा दाल चामल, नुन, तेलको जोहो गरेर छाक टार्ने सुस्मिताले सदरमुकाम बेनीबजारमा गीत गाउँदै सहयोग जुटाइरहेकी छन्। दृश्य मात्रै होइन जीवनमा नै अन्धकार छाएको सुस्मिताले छोरालाईसँगै लिएर पीडा, बेदनाले भरिएका गीत गाउँदै सडकमा सहयोग जुटाएर दसैँ खर्च जुटाइरहेकी छन्। आगोले पोलेर छोरीको उपचारमा श्रीमानलाई पोखरा पठाएकी सुस्मिताले दृष्टिबिहीनका पीडा र गरिबी झल्किने गीतमार्फत दसैँमा खाद्यान्न र छोराछोरीलाई लत्ताकपडाको खर्च जुटाउने प्रयास गरिरहेकी छन्।  

हातमा माइक्रोफोन समातेर अगाडी उभिएकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन्। उनलाई आफन्तले म्यूजिक बजाउने, सहयोग जुटाउने र एक ठाउँबाट अर्को ठाउँसम्म लैजान सहयोग गरेकाले सहज भएको छ। ‘घरमा भात खाने चामल समेत छैन्, छोराछोरीले पनि नयाँ लुगा खोजेका छन्’ सुस्मिताले भनिन्।  

मुटु र पाठेघरको समस्यबाट पीडित सुस्मिताले दिनभरी मुस्किलले १५ सयसम्म जम्मा गरेर खाद्यान्न लिएर दैनिक घर जान्छिन्। ‘चाडपर्व आउँदा मलाई डर लाग्छ, चाडवाड आउँदा छोराछोरीको रहर पुरा गर्न नसक्दा पीडा नराम्ररी सहनुपर्छ’ सुस्मिताले भनिन्। पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ७ ताकम घर भएपनि उनीहरूसँग एक टुक्रा जमिन छैन्। अहिले छिमेकी पर्वतको जलजला गाउँपालिका लामाखेतमा बस्ने सुस्मिता दम्पत्तीको एक छोरा र चार छोरी छन्।

सुस्मिताले चाडपर्व बाहेक अन्य समयमा छोराछोरी पढाउनदेखि सबै घरखर्च उनको गीतबाट जुटाउनुपर्ने बाध्यता छ। उनले आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिड्ने बटुवा, ब्यापारीको समेत आँखा पनि रसिलो हुन्छ। उनले दृष्टिबिहीनको पीडा सरकारले नसुनेको, आफ्नो समस्याले छोराछोरीलाई दुख भएको जस्ता गीतहरु गाउँछिन्।

दृष्टिबिहीन भएकैले सुस्मिता र उनका श्रीमानले ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्नुपरेको छ। उनले आफू र छोराछोरी बिरामी हुँदा बाहेक यसरी नै गित गाएर सहयोग जुटाउने गरेको बताइन्। सुस्मिताको स्वर मिठो छ। हुने खानेले हुँदा खानेलाई ठूलो मन बनाएर सानो सहयोग गरिदिने हो भने समाजमा कोही पनि भोको नरहने अवस्था आउँछ।  

प्रकाशित: ५ कार्तिक २०८० ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App