२३ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान स्थगित

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान स्थगित भएको छ। स्थानीयको अवरोध र सुरक्षा चुनौतीलाई कारण देखाउँदै वायुसेवा सञ्चालक संघले यस्तो निर्णय गरेको हो।

आइतबार संघले विज्ञप्ति जारी गर्दै खुम्बु क्षेत्रका हेलिप्याडहरूमा झण्डा गाडेर अवरोध सृजना गरिएको र आपत्कालीन अवतरण गर्नुपर्ने अवस्थामा पनि अवतरण गर्ने ठाउँ नरहेको बताएको छ। यो परिस्थितिले सुरक्षा खतरा बढेकाले उडान रोक्न बाध्य भएको संघले उल्लेख गरेको छ।

संघका अनुसार, सदस्य वायुसेवा कम्पनीका जहाज अवतरण भए चालक दलका सदस्यलाई समातेर कारबाही गर्ने धम्की स्थानीय क्लब, युवा समूहलगायतले विभिन्न सञ्चार माध्यममा दिएका छन्। यस्तो धम्कीका कारण हेलिकप्टरको सुरक्षामा पूर्ण भरोसा गर्न नसकिने भन्दै उडान नगर्ने निर्णय गरिएको हो।

सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका, र स्थानीय संघसंस्थाले हेलिकप्टर उडानका कारण वन, वातावरण, र वन्यजन्तुमा गम्भीर असर परेको भन्दै विरोध जनाएका छन्।

उडानका कारण निकुञ्ज क्षेत्रमा थपिएको वातावरणीय संकट रोक्न व्यावसायिक उडानमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

हेलिकप्टर उडानमाथिको प्रतिबन्ध फुकुवा गर्न वायुसेवा सञ्चालक संघ र सरोकारवालाबीच वार्ता भए पनि कुनै ठोस निष्कर्ष निकाल्न सकिएको छैन।

प्रकाशित: २१ पुस २०८१ २२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App