१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बदलिंदाे दसैं

उल्लास र उमंगका साथ यसपालि पनि महान पर्व दसैं नेपालीको घर–आँगनमा आइसकेको छ। दसैंको शुभकामना लिने र दिनेको ओइरो लागिसकेको छ।

दसैलाई मिलनको पर्व मानिन्छ। दसैंलाई पारिवारिक जमघटका रूपमा पनि लिइन्छ। दसैंलाई एकअर्कालाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्ने, रमाइलो गर्ने र सम्बन्धलाई ताजै राख्ने पर्वका रूपमा पनि हेरिन्छ।

अहिले दसैं मनाउने तरिका बदलिएको छ। विगत केही वर्षयता दसैंमा घरमा भन्दा आफ्नो एकल परिवार लिएर घुम्न जाने चलन बढ्दै छ। एकै साथ सबैले लामो बिदा पाउने भएकाले पनि दसैंलाई घुमेर सदुपयोग गर्नुपर्ने धारणा बढ्दै छ।

अहिले आकाशमा चंगा त्यति उडेको पनि देखिँदैन। आगनी र पिँढीमा केटाकेटीहरू पिङमा झुलेको पनि देखिँदैन। अहिले आकाशमा चंगा उडाउनुभन्दा मोबाइलमा गेममा नै व्यस्त देखिन्छन्। अहिले केटाकेटीहरू मोबाइलमै सीमित छन्।

एक दिन छिमेकी आमाले भन्नुभयो, ‘बाबु, नौ दिनसम्म घरको पूजाआजा गर, देवीको पाठ गर, जमरा राख भन्दा मान्दैनन्। अहिलेका बच्चाबच्चीले जिम्मेवारी नै लिँदैनन्। धोती लगाऊ, नुहाऊ, पूजापाठ गर भन्दा झन्झट मान्छन्। अलिकति जमरा मन्दिरबाट किनेर ल्याए भइहाल्यो नि, किन झन्झट गर्नुप¥यो भन्छन्।’

अहिले हरेक चिज प्याकिङमा किनेर पाइने भएको छ। त्यसैले पनि सबैलाई सजिलो भएको छ। बजारमा सबै कुरा पाइने भएकाले अहिले परम्परागत चिजबिज बिर्संदै गएका छन्।

मैले देखेको जस्तो दसैं अहिले कहाँ छ र? दसैंमा पिङ र चंगा खेल्दा घरआगन भरिलो हुन्थ्यो। बुढा हजुरबा–हजुरआमाहरू छोरानाति खेलेको देख्दा साह्रै खुसी हुन्थे। दसैं आयो भन्ने बित्तिकै मन चञ्चल हुन्थो। अब त्यस्तो अवस्था रहेन।

महँगी दिन प्रतिदिन बढेको छ। अहिले आम्दानीभन्दा खर्च नै बढी हुन्छ। झन् चाडपर्व आएपछि खर्च ह्वात्तै बढ्छ। अहिले सबै परिवर्तन हुँदै छ। बालबच्चाले दसैं आयो भन्ने चाहिँ बुझे तर दसैंको महत्व बुझेनन्। दसैंमा के हुन्छ? कसको पूजा गरिन्छ? किन पूजा गरिन्छ? दसैंमा कसरी आफ्नासगँ बसेर रमाइलो गरिन्छ? भन्ने कुरा बिर्सिसकेका छन्। हाम्रा पूर्वजले दिएको संस्कार–संस्कृति परम्परामा खल्लोपन आइरहेको छ। यो आधुनिक जमाना र फेसनले सबै बदलिएको छ।

कति दिदी बहिनीहरू आमाको हातको टीका नलगाएको पनि वषौं भएछ भन्दै आखाँभरि आँसु पार्छन्।

बाबालाई भेटेर यो साल टीका थाप्न पाए पनि हुन्थो, श्रीमतीलाई टीका लगाइदिन नपाएको वषौं भएछ भन्ने गुनासो गर्दै सामाजिक सञ्जालमा विचार राख्छन्। वाध्यता र विवशताले विदेश बसेकाहरूको आफ्नै पीडा छ। साथमा आफ्नो परिवार हुँदा हुँदै पनि टाढिएर पर्व मनाएको देख्दा अचम्म लाग्छ।

दसैं महान् चाड हो। वर्ष दिनभरि हामी यही पर्वको आसमा रहन्छौं। सबै आफन्त भेट भई मनाउने चाहना राख्छाैं। दसैं भन्नेबित्तिकै शरद ऋतु, जताततै ढकमक्क फुल्ने याम, खेतमा झुलेका धानका बाला, जताततै फुलेका सयपत्री, गोदावरी, मखमली, हरिया बारीमा फस्टाएका सागपात, तरकारीहरूले मनमा आनन्द छाउँछ। न जाडो, न गर्मी, सबैलाई आनन्द र मोहित बनाउने मौसमले मनै चंगा बनाएको हुन्छ। दसैंको महत्व यति हुँदा हुँदै पनि हामी माझबाट दसैंको उल्लास हराउँदै गइरहेको छ।

दसैं दस दिन अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म प्रमुख रूपमा मानिए पनि कोजाग्रत पूर्णिमासम्म नै दसैं मनाइन्छ।

पहिलो दिन देवी शक्ति आह्वान गर्नका लागि घटस्थापना गरिन्छ। दशौं दिन विजयादशमीको पूजा गरी सोही पूजाको प्रसादस्वरूप ठुलाबडासँग टीका ग्रहण गरी आशीवाद लिइन्छ। यो क्रम कोजाग्रत पूर्णिमासम्म नै चलिरहन्छ।

धर्म–संस्कृतिले मानिसको जीवनमा ठुलो प्रभाव पार्छ। यसैले पर्वमा हामी एक हुनुपर्छ, परिवार खुसी रहनुपर्छ, समाज पनि खुसी हुनुपर्छ। यस्ता पर्व तेरो–मेरो वा देखासिकी गरेर होइन, आफ्नो योग्यताअनुसार मनाउनुपर्छ। 

प्रकाशित: ४ कार्तिक २०८० ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App