१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

तीन वटा विमान चार्टर गरी भियतनामी पर्यटक नेपाल घुम्न आउँदै

फाइल तस्बिर

नेपालमा एकै पटक धेरै संख्यामा भियतनामी पर्यटक घुम्न आउने भएका छन्। तीन वटा विमान चार्टर गरेर भियतनामी पर्यटक नेपाल घुम्न आउन लागेका हुन्।

हिमालयन एयरलाइन्सको एयरबस ए ३२० विमान चार्टर गरेर उनीहरू आगामी अक्टोबर २१, २५ र २९ मा भियतनामी पर्यटकहरू सिधा हवाई उडानमा नेपाल घुम्न आउने रूप्से होलिडे प्राइभेट कम्पनीका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए।

नेपालको इतिहासमै भियतनामबाट यती धेरै संख्यामा नेपाल घुम्न आउने पहिलो भएको भ्रमणको व्यवस्थापन गर्ने कम्पनी रुप्से होलिडेले जनाएको छ। चार्टर फ्लाइटबाट आउन लागेका उनीहरू करिब २ सयको संख्यामा आउने बताउँदै पराजुलीले भने, ‘अहिले नै यति संख्यामा आउने भन्ने निश्चित भएको छैन । यो संख्यामा केही थपघट हुन सक्छ।’

प्रबन्धक निर्देशक रमेश पराजुलीले विभिन्न राष्ट्रबाट नेपालमा घुम्न आउन चाहने पर्यटकहरू उल्लेख्य भएको तर सिधा हवाई उडान नभएको कारण कम्पनीले भियतनामका पर्यटकलाई सिधा उडानको लागि सहकार्य गरेको बताए। उनले भने, ‘नेपालमा घुम्न आउने पर्यटकहरू प्रशस्त संख्यामा छन्। उनीहरूलाई मुलुक घुम्न आउनका लागि सिधा हवाई उडान नभएका कारण हामीले यो पहल गरेका हौ।’

कम्पनीले आफ्नो निजी पहलबाट भियतनामी पर्यटकलाई नेपाल भित्र्याउन लागेको हो।  प्रबन्ध निर्देशक पराजुलीका अनुसार नेपाल घुम्न आउन लागेका भियतनामी पर्यटकहरूको दुई समूह छन्। जसमा एक समूह चार रात पाँच दिनको प्याकेज रहेको र उनीहरू काठमाडौं र पोखरा घुम्ने तालिका रहेको छ। यस्तै अर्को समूहको भने आठ रात नौ दिनको समय तालिका छ। यो समूह काठमाडौँ–पोखरा–चितवन–लुम्बिनी घुम्ने तालिका रहेको छ।

गत वर्ष पनि कम्पनीले भियतनामी पर्यटकलाई नेपाल ल्याउन कोसिस गरे पनि विविध कारणले ल्याउन नसकेको जनाए। पराजुलिले भने, ‘गत बर्ष नै ल्याउने योजना थियो, भएन। यस बर्ष चाहिँ सम्भव भयो।’ दशैको समयमा उल्लेख्य संख्यामा नेपालीहरू पनि भियतनाम घुम्न जाने भएपछि त्यहाँका ट्राभल कम्पनीहरूसँग सहकार्य गरेर भियतनामी पर्यटकलाई पनि नेपाल भित्र्याउन सफल भएको उनले बताए। 

प्रबन्धक निर्देशक पराजुलीले आगामी अप्रिलमा पनि ७ वटा चार्टर फ्लाइटमा भियतनामी पर्यटकहरूलाई मुलुक भित्र्याउने बताए। उनले तिन वटा फ्लाइट बुद्ध जयन्तीको अवसरमा हुने र अन्य चार त्यसको लगत्तै हुने उनले बताए। 

प्रकाशित: २८ आश्विन २०८० ११:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App