वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या दिनहुँजसो बढ्दै गएको छ। स्वदेशमा राम्रो सेवा सुविधासहितको रोजगारी नभएपछि बिदेसिने युवाको घुइँचो बढ्दो रहेको तत्यांकले देखाएको छ।
वैदेशिक रोजगार विभागका अनुसार भदौ महिनामा ५० हजार आठ सय ८४ जना युवाले विदेश जान श्रम स्वीकृति लिएका छन्। तीमध्ये ६ हजार ६ सय ८७ जना महिला र ४४ हजार एक सय ९७ जना पुरुष श्रमिक छन्।
त्यस्तै साउन महिनामा मात्रै ५५ हजार पाँच सय ७५ जना नेपाली युवा श्रमका लागि स्वीकृति लिएर विदेश गएका थिए। जसमा सात हजार सात सय २५ जना र ४७ हजार आठ सय ५० जना पुरुष रहेको थिए।
चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा साउन र भदौ दुई महिनामा संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकको माग बढेको छ। यी दुई महिनामा २३ हजार ५ सय ८७ जनाले श्रम स्वीकृत लिई यूएई मात्र गएका छन्।
त्यस्तै यी दुई महिनामा श्रम स्वीकृति लिई बिदेसिनेको संख्या २० हजार तीन सय २८ रहेको छ। त्यसमध्ये कतारमा, १८ हजार आठ सय ६९ तथा साउदी अरेबिया र मलेसियामा १७ हजार चार सय ३७ रहेको छ।
उक्त संख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको छ। नेपाली युवाहरू बिदेसिँदै गर्दा मलेसिया जानेको संख्या कम भएको वैदेशिक रोजगार विभागको तथ्याकंले देखाएको छ।
विदेशबाट श्रमिकको माग बढेसँगै बिदेसिने युवाको संख्या पनि बढ्दै गएको छ। तर, साउनमा भन्दा भदौमा विदेश जाने संख्या भने केही कम रहेको विभागको तथ्यांकमा उल्लेख छ।
मागअनुसार सम्बन्धित देशमा नेपाली कामदार जाने गरेको अधिकारीहरू बताउँछन्। ‘जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यहींँ धेरै जाने हुन्,’ वैदेशिक रोजगार विभागका निर्देशक कविराज उप्रेतीले बताए। उनका अनुसार कुनै महिनामा बिदेसिनेको संख्या बढेको हुन्छ भने कुनै महिना घटेका पनि छ। तर, विदेश जाने युवाको लर्को कम भने भएको छैन।
नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको पनि अधिकारीहरू स्वीकार्छन्। यस चालु आर्थिक वर्षमा सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ।
त्यसैगरी, कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका निर्देशक उप्रेतीले जानकारी गराए। म्यानपावरमार्फत नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेको तथ्यांकले देखाएको छ।
‘श्रम स्वीकृति लिएको तथ्यांकमा भिजिट भिसामा गएर दुबईमा श्रम भिसा लिने र भारतको बाटो भएर वा अध्यागनसँग सेटिङ गरेर श्रम स्वीकृति नलिई युरोपेली देशहरूमा जानेको संख्या सामेल छैन,’ उनले भने, ‘मौसमी कामदारका रूपमा कोरिया र बेलायतलगायतका देशमा जाने तथा भारतमै श्रमका लागि जानेहरूको पनि संख्या उल्लेख गरिएको छैन।’
विदेशमा घरेलु कामदार पठाउन गरिएको अवरोध नखुल्दा धेरै महिला अवैध बाटो भएर विदेश गइरहेका छन्, यसकारण महिला श्रमिक अवैध भएर झनै असुरक्षित तवरले विदेशमा काम गर्न बाध्य छन्। सरकारले भारत जानेलाई श्रम स्वीकृति लिनुपर्ने व्यवस्था नगरेकाले रोजगारीका लागि परदेश पुग्ने सबै तथ्यांकमा नसमेटिएको विभागको सूचना अधिकारी उप्रेतीले बताए।
‘महामारीका कारण देशभित्रै रोकिएका युवाहरू पनि अहिले कामको खोजी गर्दै बिदेसिनु स्वभाविक भइसकेको छ। देशभित्र पर्याप्त रोजगारीको अवसर नभएकैले ठूलो संख्यामा युवाहरू विदेसिएका छन्,’ विभागका सूचना अधिकारी उप्रेतीले भने।
एक अवधि काम गरेर स्वदेश फर्किएकाहरू पनि यहाँ अवसर नपाएकै कारण विदेश नै फर्किरहेका उनले भताए। ‘थोरैका लागि मात्रै वैदेशिक रोजगारी रहर हुन सक्छ तर धेरैको लागि त यो बाध्यता नै भएको,’ निर्देशक उप्रेतीले भने।
उनका अनुसार पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो रहेको र वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरू जाने गरेका छन्।
पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।
यस्तै, सिपयुक्त जनशक्ति विकास गरी रोजगारी र स्वरोजगार वृद्धि गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको योजना रहेको छ। आन्तरिक रोजगारी पनि प्रवद्र्धन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने लक्ष्य लिइएको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए।
नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदार आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको उनले बताए। पछिल्ला तीन वर्षमा आधा संख्या २५ देखि ३४ वर्ष उमेर समूहको छ।
प्रकाशित: १६ आश्विन २०८० ०२:१३ मंगलबार