२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पूर्व लिच्छविकालीन सहर हाँडीगाउँ संरक्षणको माग

पूर्व लिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

कैलाशकुट सामाजिक अभियानको प्रथम साधारणसभालाई शनिवार सम्बोधन गर्दै सम्पदाविद्हरूले हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिएका हुन् ।

प्राज्ञ दिनेशराज पन्तले इतिहास पोखरी नभई नदीका रूपमा स्थापित हुनुपर्ने भनाइ राख्नुहुँदै हाँडीगाउँको इतिहासका बारेमा स्थानीयले नै बुझेर अघि बढाउनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रजापतिले धर्म, संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकाले यसको संरक्षणका लागि स्थानीयवासी नै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । काठमाडौं महानगरपालिका  ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले पूर्व लिच्छविकालीन हाँडीगाउँलाई विकास गर्न स्थानीय सरकार सक्रिय भई लागेको बताए ।  

प्राध्यापक डा. सुदर्शनराज तिवारीले किराँत र लिच्छविकालका सम्पदा रहेको हाँडीगाउँको समावेशी रूपमा विकास गरिनुपर्नेमा जोड दिए । मानगृह, कैलाशकुट भवन, मध्यम गृहजस्ता भवन हाँडीगाउँमै रहेका धेरै प्रमाण रहेको उनले बताए । वरिष्ठ पत्रकार सुशील कोइरालाले भारतमा समेत नरहेको व्यास मन्दिर हाँडीगाउँमा रहेको र यस्ता अनगिन्ती सम्पदा हाँडीगाउँमा रहेकाले यसको संरक्षणमा नागरिकस्तरबाट काम हुनुपर्ने बताए । 

कार्यक्रममा हाँडीगाउँ क्षेत्रका सम्पदाको संरक्षणमा योगदान दिएका देवदास डङ्गोल र उनकी श्रीमती मनमाया डङ्गोल, हाँडीगाउँ क्षेत्रबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक छात्र र छात्रालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठ, अधिवक्ता उद्धव केसी, निर्वाचन समिति संयोजक अनुपराज गौतम, सल्लाहकार सुखराम महर्जनलगायतले यस क्षेत्रका धनगणेश, पञ्चधारा, सत्यनारायणस्थललगायत सम्पदा क्षेत्र दूरवस्थामा पुगेको बताए ।

अभियानको पहिलो साधारणसभाले महेशकुमार श्रेष्ठको अध्यक्षतामा अर्को कार्यकालका लागि १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कैलाशराम प्रधान, महासचिवमा मोहनकुमार पौडेल, सचिवमा प्रभुराज पौडेल, कोषाध्यक्षमा गणेशबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।  

यसैगरी अभियानको सदस्यमा तीर्थबहादुर बज्राचार्य, गौरव केसी, राम प्रजापती, कमल नेपाल, धर्मनारायण श्रेष्ठ, मेघराज सापकोटा, निश्चल जोशी, श्यामहरि नापित, किशोरराज जोशी र ज्योतिका महर्जन रहेका छन् । उपाध्यक्ष प्रधानका अनुसार सुखराम महर्जन, उद्धव केसी, डा. विमला ओझा, डा. सुरेशराज चालिसे, डा. माधुरी राणालाई सल्लाहकारमा मनोनयन गरिएको छ । रासस 

प्रकाशित: ७ आश्विन २०८० ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App