१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नेम्बाङको निधनमा शोकबिदा घोषणा गर्दै इलामका पालिका

संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा इलाम क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको निधनमा शोक व्यक्त गर्दै उनको गृहजिल्ला इलामका विभिन्न पालिकाले सार्वजनिक बिदा घोषणा गरिरहेका छन् ।  

रोङ र माङ्सेबुङ गाउँपालिकाले मंगलबार पालिकाभर बिदा दिएका थिए । आज (बुधबार) फाकफोकथुम गाउँपालिकाले पालिकामा एक दिनको शोकबिदा दिएको छ । गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले सूचना जारी गरी बिदा घोषणा गरेका छन् । चुलाचुली गाउँपालिकाले पनि बुधबारका लागि शोकबिदा दिएको छ । पालिका अध्यक्ष राजेन्द्र केरुङले नेम्बाङको शोकमा बिदा दिएको बताए । ‘इलाममात्र होइन, सिंगो देश शोकमा डुबेको छ,

एउटा असल राजनीतिक तारा देशले गुमाएको छ,’ अध्यक्ष केरुङले भने, ‘नेम्बाङले देशलाई पु¥याएको असल योगदानको उच्च  कदर र सम्मान गर्दै शोकबिदा गरेका हौं ।’  

माई नगरपालिकाले भदौ २९ (शुक्रबार)का लागि शोकबिदा दिएको छ । मेयर खम्बासिंह लिम्बूले त्यस दिन पालिकाअन्तर्गतका अत्यावश्यकबाहेक सबै काम स्थगित गरिएको जानकारी दिए । नेपाल सरकारले पनि नेम्बाङको शोकमा बिहीबारका लागि राष्ट्रिय शोकबिदा घोषणा गरिसकेको छ ।  

इलाम नगरपालिका–७, सुन्तलाबारीमा जन्मेका नेम्बाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए  । ०५१ मै उनी कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री बनेका थिए भने त्यसपछि सामान्य प्रशासन र स्थानीय विकासमन्त्री बनेका थिए । २०५६, ०७४ र २०७९ सालका संसदीय निर्वाचन तथा २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा नेम्बाङ इलामबाट विजयी बनेका थिए ।  

संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष हुँदै २०६३ वैशाख ३० देखि माघ १ सम्म सभामुख बनेका नेम्बाङ ०६३ माघ ३ देखि २०६५ जेठ १४ गतेसम्म पुनः सभामुख निर्वाचित भए । २०६४ सालको संविधानसभा निर्वाचनपछि उनी ०६५ साउन १२ देखि २०६९ जेठ १४, २०७० फागुन ६ देखि २०७२ असोज २७ सम्म संविधानसभा अध्यक्ष र व्यवस्थापिका संसद्को सभामुख भए ।

नेम्बाङको मंगलबार बिहानको राति हृदयघातका कारण काठमाडौंमा निधन भएको हो । उनको अन्त्येष्टि बिहीबार ११ बजे पशुपति आर्यघाटमा गरिने नेकपा (एमाले) इलाम जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले बताए । ‘यसअघि २७ गते अपराह्नका लागि अन्त्येष्टि निर्धारित रहेपनि नेम्बाङका छोराहरू विदेशबाट फर्किन समय लाग्ने देखिएकाले बिहीबार ११ बजेका लागि सारिएको हो,’ सुवेदीले भने । 

प्रकाशित: २७ भाद्र २०८० ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App