१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नेपाल—चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु

नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ।

महाभूकम्प २०७२ पछि पहिलो पटक शुक्रवारबाट नाकामा मानिस आवतजावतका लागि सुचारु भएको हो। आज बिहान ८ बजे सिन्धुपाल्चोक सीमा क्षेत्रका  १ सय २८ पास जारी भएको छ भने कतिपय नेपाली नागरिक चिनियाँ भूमिको पुल बजारसम्म पुगेका हुन्।

चीन प्रवेश गरेका केही नेपालीहरूले भने फर्कँदा आवश्यक पर्ने घरायसी सामान लिएर आएका छन्। शुक्रवार चीनतर्फ जान १ सय २८ जनाको पास जारी भएको अध्यागमन कार्यालयले जनाएको छ। त्यस्तै पासपोर्ट प्रयोग गरेर नेपाल तर्फ दुई जना आएका छन् भने नेपालबाट तीन जना चीन गएका हुन्। तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरूबिच मंगलवार भएको सहमतिपछि आजबाट नाका खुला भएको छ। पास प्राप्त गरेका नेपालीहरू शुक्रवारदेखि चीनतर्फ जान थालेका छन्।

तातोपानीको पारिपट्टिको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यागमन कार्यालयले पास वितरण गरेको थियो। अध्यागमनले जारी गरेको एक वर्षे अवधिको पास पाएकाहरूले चीन जान अनुमति पाएका हुन्। दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो। तर, कोरोना भाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो। सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटासहितको टोली तातोपानी नाकाबाट चीन प्रवेश गरेसँगै नाका सुचारु भएको हो। सो नाका २०७२ सालपछि बन्द रहेको थियो। बिच–बिचमा कहिलेकाहीँ खुले पनि पूर्ण रुपमा सञ्चालनमा भने आउन सकेको थिएन।

शुक्रवार नाका सुचारु भएसँगै अब तातोपानी नाकाबाट आवतजावत हुने भएको छ। आज मात्रै नेपाल पक्षबाट १३० जना र चीनको पक्षबाट १०८ जनाले वारपार गरेको सांसद सापकोटाले जानकारी दिए। उनले अब आगामी दिनमा तातोपानी नाका बन्द नहुने बताए। उनले सबैलाई संयमित र अनुशासित ढंगले चीन सरकारको नियम, कानुनलाई पालना गर्न सीमावासीलाई आग्रह समेत गरे। उनले कतिपय भौतिक संरचनाहरू निर्माण भइरहेको भन्दै यसलाई पूर्ण रुपमा पूर्ववत् रुपमा सञ्चालन गर्न भने अझै एक वर्ष लाग्ने बताए।

तातोपानी नाका सुचारु भएसँगै सो क्षेत्रका सर्वसाधारण र व्यापारी, व्यवसायीहरूले खुसी व्यक्त गरेका छन्। आगामी दिनमा पुनः बन्द नहुने वातावरण मिलाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र व्यवसायीमा खुसी छाएको छ। चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो। आयात निर्यात खुले लगत्तै नेपाल सरकारले नाका खोल्न कूटनैतिक पहल गर्दै आएको हो। त्यसपछि चिनियाँ अधिकारीबिच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।  

प्रकाशित: १५ भाद्र २०८० १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App