३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बागमती प्रदेशमा लगाइयो ४८ हजार लम्पी स्किन खोप

फाइल तस्बिर

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ४८ हजार ३६४ पशुमा लम्पी स्किनको खोप लगाइएको छ।

मन्त्रालयले सञ्चालन गरेको सप्ताहव्यापी खोप अभियान अन्तर्गत प्रदेशका १३ जिल्लामा ४८ हजार ३६४ पशुमा लम्पी स्किनको खोप लगाएको हो।

मन्त्रालयले साउन २५ देखि भदौ १ गतेसम्म खोप अभियान सञ्चालन गरेको थियो। १३ मध्ये सबैभन्दा बढी खोप चितवन र सबैभन्दा कम दोलखा जिल्लाको पशुमा लगाइएको छ। चितवनमा १० हजार २१९ र दोलखाको ५४९ पशुमा खोप लगाइएको कृषि तथा पशुपन्धी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए।  

काठमाडौंमा २ हजार ४३९, भक्तपुरमा ९२१, ललितपुरमा एकहजार ५८०, धादिङमा ४ हजार ३०१ पशुमा लम्पी स्किनको खोप लगाइएको छ। यस्तै सिन्धुलीमा २ हजार ५७८, रामेछापमा २ हजार ३३५, सिन्धुपाल्चोकमा ३ हजार २७४, मकवानपुरमा ६ हजार ८२२, काभ्रेपलाञ्चोकमा ८ हजार ४११, नुवाकोटमा ३ हजार ५९७ र रसुवामा एकहजार ३३८ पशुमा लम्पी स्किनको खोप लगाइएको छ। मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३२ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भनेपनि प्राकृतिक विपद्का कारण एकदिन थपेको थियो। सप्ताहव्यापी अभियान सकिएपनि लम्पी स्किन विरुद्धको खोप कार्यक्रम भने निरन्तर चल्ने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए।  

‘एकहप्ते अभियान सकिएको हो। खोप लगाउने कार्यक्रम भने निरन्तर जारी रहनेछ’, उनले भने, ‘किसान आफैंले पनि खोप खरिद् गरेर पशु प्राविधिकसँगको सल्लाहमा लगाउन सक्नेछन्। मन्त्रालय र मातहतको निकायबाट पनि खोप कार्यक्रम जारी रहनेछ।’ गत २५ गतेबाट प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट एकैपटक खोप अभियान सुरुवात गरेको थियो। मन्त्रालयले प्रदेशका ५० हजार गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो।  

मन्त्रालयले खोप अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाको विज्ञ केन्द्र मार्फत १४६ जना भ्याक्सिनेटर नियुक्त गरी खोप अभियान सञ्चालन गरेको थियो। प्रदेशको.९१ वटा स्थानीय तहमा खोप अभियान सञ्चालनका लागि मन्त्रालय र मातहतका निकायबाट ७५ लाख रुपैयाँ बजेट खर्चिएको थियो।  

प्रकाशित: ३ भाद्र २०८० १२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App