१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

बबई र कर्णालीमा पानीको बहाब उच्च, कान्द्राको बाढीले पशुचौपाया मरे

गुलरिया/टीकापुर- वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ। पानीको सतह बढेसँगै बबई र कर्णाली नदीमा बाढीको जोखिम बढेको प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। दुई वटा नदीमा पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बर्दियाका अनुसार नदीमा ५ दशमलव ७३ मिटरसम्म पानीको सतह पुगेको छ। ६ दशमलव १ भन्दा बढी भएमात्र बबई नदीको बाढी गाउँमा पस्न सक्ने खतरा हुन्छ। बबई नदीको तल्लोतिर भादा नदीमा पानीको सतह ७ दशमलव ३० पुगेको छ। ८ भन्दा बढी भएमा बाढीको सम्भावना बढ्ने बताइएको छ। यस्तै कर्णाली नदीमा अहिले पानीको सतह ९ दशमलव ९७ मिटर पुगेको छ। कर्णाली नदीमा पानीको सतह १० दशमलव ८० मिटर भएमा चेतावनी लेभलको मानिन्छ।

बाढीले सय भन्दा बढी पशुचौपाया मरे

कैलालीको कान्द्रा नदीमा आएको बाढी गाउँ पस्दा कैलालीको घोडाघोडी नगरपालिका–१० मा २ दर्जनभन्दा बढी घर भत्किनुका साथै सयभन्दा बढी पशुचौपाया मारिएका छन्। राति १ बजेतिर बाढी गाउँ पसेको स्थानीयले बताएका छन्।

बाढीले वडा नं. १० का पहलवानपुर, गणेशपुर, शितलपुर, घुम्नीभाकल, फाराम लगायतका गाउँमा क्षति पुर्याएको वडाध्यक्ष भीमबहादुर बमले जानकारी दिए। उनले मानवीय क्षति भने नभएको बताए।

बाढीले करिब ६ सय घरधुरीमा क्षति पुर्याएको छ। ती घरमा रहेका अन्नपात, लत्ताकपडा, गरगहनालगायत सबै बाढीले बगाइदिएको छ। घरमा रहेको सबै अन्नपात लगायत बगाएपछि स्थानीय भोकभोकै बसेका छन्।

उनीहरु पूर्वपश्चिम राजमार्गमा आएर बसेको वडाध्यक्ष बमले बताए। राति सुतेको बेला अचानक बाढी आएपछि ज्यान जोगाउने क्रममा स्थानीयले पशुचौपाया, अन्नपात, लत्ताकपडा र गरगहना जोगाउन नसकेको सञ्चारकर्मी भानुभक्त आचार्यले बताए।

उनले बाढी पीडितहरु आफ्ना नाबालक छोराछोरी बोकेर निकै दयनीय अवस्थामा खानेकुराको पर्खाईमा रहेको जानकारी दिए। कान्द्रा नदीमा आएको बाढीले खल्ला भन्ने स्थानमा निर्माण गरेको तटबन्ध भत्काएर गाउँ पसेको हो। सो तटबन्ध गतवर्ष निर्माण भएको हो।

 

प्रकाशित: २० श्रावण २०७४ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App