२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खण्ड छुट्याएर खाल्डा पुरिँदै

काठमाडौं- १५ दिनभित्र उपत्यकाका सडकका खाल्डा पुरिसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरोकारवाला निकायले खण्ड छुट्याएर खाल्डा पुर्न थालेका छन्।

प्रधानमन्त्री देउवाको निर्देशनको भोलिपल्ट सोमबार प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई प्रधानमन्त्री देउवाको निर्देशनअनुसार सडकका खाल्डा पुर्ने काम गर्न निर्देशन दिएका थिए।

आठ मिटरभन्दा कम चौडा सडक स्थानीय तहको जिम्मामा छन्। स्थानीय तहको जिम्मामा रहेका सडकको खाल्डा पुर्न स्थानीय विकास मन्त्रालयले सम्बन्धित महानगरपालिका तथा नगरपालिकालाई आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडकमा आफैंले नेतृत्व लिएर खाल्डा पुर्न निर्देशन दिएको छ।

आफ्नो क्षेत्राधिकार र आयोजना कार्यान्वयन निर्देशनालय (मेलम्ची आयोजना २) को क्षेत्राधिकार छुट्याएर खाल्डा पुर्ने काम थालेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले जानकारी दिए।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका इन्जिनियर प्रदीपकुमार श्रेष्ठले सडक विभागको जिम्मेवारीमा रहेकामध्ये मंगलबारबाट थापाथली–माइतीघर, खानी विभाग–महाराजगन्ज क्षेत्रबाट सडकका खाल्डा पुर्ने काम थालिएको जानकारी दिए। ‘प्रधानमन्त्री देउवाले दिएको समयसीमाभित्रै हाम्रो जिम्मेवारीमा रहेका सडकका खाल्डा पुर्ने काम सक्छौं,’ इन्जिनियर श्रेष्ठले भने, ‘वर्षाको समस्या नभएमा खाल्डा पुरेको ठाउँमा कालोपत्रेसमेत हुनेछ।’

त्यसैगरी निर्देशनालयले पनि आफ्नो क्षेत्रधिकारभित्रका सडक मर्मत थालिसकेको बतायो। निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले चाबहिल, बानेश्वर, नारायणगोपाल चोकलगायतका ठाउँमा मंगलबारबाट खाल्डा पुर्ने काम गरिरहेको बताए। बुधबार राति बाँसबारी, गल्फुटारचोक आसपास प्याच गर्ने तयारी भएको ढकालले जानकारी दिए।

प्रकाशित: ५ श्रावण २०७४ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App