निवर्तमान गृहमन्त्री सुधन गुरुङले केही मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । उनले आफूविरुद्धका समाचारलाई ‘भ्रामक र चरित्र हत्या गर्ने उद्देश्यले तयार गरिएको सामग्री’ भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्य गुरुङले केही दिनअघि ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा प्रकाशित समाचार तथ्यहीन रहेको दाबी गरे ।
उनले उक्त समाचारका कारण आफ्नो व्यक्तिगत तथा राजनीतिक चरित्रमाथि गम्भीर आघात पुगेको उल्लेख गर्दै कानुनी कारबाहीको माग गरेका छन् ।
गुरुङले समाचार प्रकाशनमा संलग्न संवाददाता दिनेश थापा विरुद्ध प्रेस काउन्सिल नेपाल ऐन, २०४८ बमोजिम कारबाही र सजायको माग गर्दै औपचारिक उजुरी दर्ता गराएका हुन् ।
उनले आफू पारिवारिक भ्रमणमा गएको घटनालाई जबर्जस्ती फरक कोणबाट प्रस्तुत गर्दै ‘पित पत्रकारिता’ गरिएको आरोप लगाएका छन् । साथै, गलत सूचना प्रवाह गरेर सार्वजनिक व्यक्तिको प्रतिष्ठामाथि प्रहार गर्ने कार्य प्रेस आचारसंहिताविपरीत भएको जिकिर गरे ।
यस घटनाले पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन माध्यममा पुष्टि नभएका सामग्री प्रकाशनको प्रवृत्तिमाथि फेरि प्रश्न उठाएको छ। सार्वजनिक व्यक्तिसँग सम्बन्धित समाचार प्रकाशन गर्दा तथ्य पुष्टि, स्रोतको विश्वसनीयता र पत्रकारिताको नैतिकतामाथि थप संवेदनशील हुनुपर्ने बहस पनि पुनः चर्किएको छ।
प्रकाशित: ८ जेष्ठ २०८३ १६:१७ शुक्रबार





