१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अडुकियाका छोरा पक्राउ

करिब एक सय किलो सुन तस्करी प्रकरणमा मुछिएका विवादास्पद व्यापारी राकेश अडुकियाका छोरा रोहनलाई अध्यागमन विभागले पक्राउ गरेको छ । अध्यागमनले पक्राउ रोहनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ। शुक्रबार बिहान एयर इन्डिकोबाट काठमाडौं आउँदै गरेका भारतीय नागरिक रोहनलाई सुन तस्करीमा संलग्नताको आशंकामा पक्राउ गरिएको हो। विभागले दुई साताअघि नै अडुकिया बाबुछोरालाई शंकाको सूचीमा राखेर अध्यागमन विभागलाई पत्राचार गरेको थियो। नेपालबाट विदेश आउजाउ गरेको रोहनको रेकर्ड अस्वाभाविक रहेको बताइएको छ।

अध्यागमन विभागले दिएको जानकारीअनुसार उनी १६ महिनामा ४१ पटक नेपाल आएका छन्। उनका बाबु राकेश फरार छन्। उनी अहिले नेपालमा नरहेको प्रहरीको दाबी छ। राजस्व विभागले दुई साताअघि राकेशको घरमा छापा मारी केही कागजात बरामद गरेको थियो। अध्यागमन विभागका अनुसार रोहन पछिल्लोपटक साउन ५ गते बिहान काठमाडौंबाट बाहिरिएका थिए। जबकि विभागले साउन ३ गते सुन बरामद गरेको थियो।

अडुकिया बाबु–छोरा काठमाडौंबाट भारत, दुबई र हङकङमा आउजाउ गरिरहेका हुन्छन्। अडुकियाको हङकङमा पनि कार्यालय छ। त्यहाँबाट चाँदीको कारोबार गर्दै आएका अडुकियामाथि चाँदीमै सुन मिसाएर नेपाल ल्याउने गरेको आरोप पनि छ। साथै दुई देश नेपाल–भारतको राहदानी प्रयोग गरेको विषयमा पनि अनुसन्धान चलिरहेको छ। विगतमा गोरखा विकास बैंक डुबाउने प्रमुख व्यक्तिका रूपमा परिचित अडुकिया वित्तीय अपराधमा फसेपछि नेपाल छाडेर भागेका थिए।

प्रकाशित: २७ श्रावण २०८० ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App