१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कार आरोपी इन्जिनियर पक्राउ

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्। जाहेरी परेको झन्डै सात दिनपछि जिल्ला प्रहरीपरिसर काठमाडौंले शुक्रबार पोखरेललाई पक्राउ गरेको हो। उपचारको बहानामा त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा बसेको सूचना पाएपछि प्रहरीपरिसर टोलीले उनलाई त्यहींबाट पक्राउ गरेको हो।

पोखरेलले पीडित युवतीमाथि यौन दुर्व्यवहार गरिरहेको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। पीडित युवतीले आफैं उक्त भिडिओ सामाजिक सञ्जालमा राखेर न्यायका लागि अनुनय गरेपछि यौन दुव्र्यवहार भएको विषय सार्वजनिक भएको थियो।

सार्वजनिक गरेसँगै पीडित युवतीले साउनको पहिलो साता नै प्रहरीपरिसर टेकु पुगेर आफू बलात्कृत भएको भन्दै जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा प्रहरीले पोखरेललाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

आफ्नै घरमा काम गर्ने युवतीमाथि यौन दुर्व्यवहारको आरोप लागेका मध्यपहाडी लोकमार्ग आयोजना प्रमुख हरिकुमार पोखरेल पक्राउ परेका छन्।

‘हामीकहाँ बलात्कार भएको भन्ने व्यहोराको जाहेरी परेको छ। सोहीअनुसार पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गरेका छौं’, जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले भने, ‘आजै जिल्ला अदालत काठमाडौंबाट चार दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पनि लिइसकेका छौं।’

त्यसअघि पनि आफू न्यायका लागि गौशाला प्रहरी वृत्तमा पुगेको पीडित युवतीको भनाइ छ। उनका अनुसार गौशाला प्रहरी वृत्तमा रहेका सविन नामका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ले जाहेरी लिन मानेका थिएनन्। त्यसपछि माइती नेपाल र केही सञ्चारमाध्यममा पनि धाएको पीडित युवतीले बताउने गरेकी छन्। तर, कहींकतैबाट न्यायका लागि सहयोगको आश्वासन नपाएपछि आफूले उक्त भिडिओ सार्वजनिक गर्नुपरेको बताएकी छन्।

पीडित युवतीले आयोजना प्रमुख पोखरेलले आफूमाथि पटकपटक दुर्व्यवहार गरेको पीडित युवतीले बताउने गरेकी छन्। अविवाहित रहेकी पीडित युवतीको उमेर २३ वर्ष छ। पछिल्लो घटना असार ८ गते भएको उनी बताउँछिन्।

‘त्यो भिडिओ पनि असार ८ कै हो। मलाई यसैगरी यसअघि दुईपटक उहाँले यस्तै व्यवहार गर्नुभएको थियो’, पीडित युवतीले भनिन्, ‘उहाँ घरमा एक्लै भएको देखेपछि सावधानी अपनाउन र प्रमाणका लागि भिडिओ बनाएकी हुँ।’

सार्वजनिक गरिएको भिडिओ ५८ सेकेन्ड लामो छ। भान्सामा कैद गरिएको भिडिओमा पोखरेलले तल्लो शरीरमा लगाएको लुगाबाहिरबाटै आफ्नो यौनांग चलाइरहेका छन्। त्यसपछि उनले युवतीको हात समातेर आफूतिर तान्न खोजिरहेका छन्। त्यसपछिको दृश्य भने स्पष्ट देखिएको छैन, जसमा धक्कामुक्की भइरहेको बुझिन्छ। युवती पोखरेललाई अवरोध गर्दै चिच्याइरहेकी छन्।

पीडित युवतीले आयोजना प्रमुख पोखरेलले आफूमाथि पटकपटक दुर्व्यवहार गरेको पीडित युवतीले बताउने गरेकी छन्। अविवाहित रहेकी पीडित युवतीको उमेर २३ वर्ष छ। पछिल्लो घटना असार ८ गते भएको उनी बताउँछिन्।

यही दिन आफूमाथि बलात्कार भएको पीडित युवतीको दाबी छ। ‘म बाहिर भन्न सकिरहेको छैन। मैले पहिला भन्न पनि सकिनँ। त्यो दिन म बलात्कृत भएकी छु। त्यही भएर प्रहरीमा त्यो जाहेरी दिएकी हुँ’, उनले भनिन्। पोखरेलको सिनामंगलस्थित घरमा एक वर्षदेखि उनी काम गर्दै आएकी थिइन्। दैनिक एकडेढ घन्टा काम गर्ने गरी मासिक ६ हजार तलब तोकिएको थियो।

प्रकाशित: १३ श्रावण २०८० ०५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App