१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

विवादबीच पुस २७ र २८ गते कांग्रेसको विशेष महाधिवेशन घोषणा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता पक्षले आगामी पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।

बुधबार काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै विशेष महाधिवेशन सञ्चार तथा प्रचार-प्रसार समितिले महाधिवेशनको मिति र स्थान सार्वजनिक गरेको हो।

उनीहरूले पार्टीको १५ औं महाधिवेशन तोकिएको समयमा हुन नसकेको र नेतृत्वले विधानको पालना नगरेको भन्दै विशेष महाधिवेशन अनिवार्य बनेको जिकिर गरेका छन्।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख छ।

गत असोज २९ गते कुल महाधिवेशन प्रतिनिधिको ५४.५८ प्रतिशत (२,४८८ जना) को हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको उनीहरूको दाबी छ।

‘विधानको धारा १७ (२) मा ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था छ,’ विज्ञप्तिमा भनिएको छ, ‘असोज २९ मा दर्ता भएको निवेदनको तीन महिने समयसीमा पुस २८ गते समाप्त हुँदैछ। तसर्थ, पुस २८ भित्रै महाधिवेशन सम्पन्न गर्नु हाम्रो वैधानिक बाध्यता हो।’

विशेष महाधिवेशनका लागि आवश्यक तयारी तीव्र पारिएको आयोजक पक्षले जनाएको छ। महाधिवेशन स्थलका रूपमा काठमाडौंको भृकुटीमण्डप बुकिङ गरिसकिएको र शान्ति सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचार भइसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

साथै, व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ। 

विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वले विधानको सर्वोच्चतालाई चुनौती दिएको आरोप लगाएका छन्। उनीहरूले पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराउँदा पनि नेतृत्व गम्भीर नभएको गुनासो गरे।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी विधानले विधानसम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन। विधानबमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार कसैलाई छैन।’

नेपाली कांग्रेसभित्र नियमित १५ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विवाद चुलिएको छ। सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचन अगाडि महाधिवेशन सम्भव नहुने बताउँदै आएको छ।

यता, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निकट मानिने यो असन्तुष्ट पक्षले भने पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै विशेष महाधिवेशनको विकल्प नभएको अडान राख्दै आएको छ।

विशेष महाधिवेशनको घोषणासँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप उत्कर्षमा पुग्ने देखिएको छ। आयोजकले देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई तोकिएको मितिमा काठमाडौं उपस्थित हुन आह्वान गरेका छन्।

प्रकाशित: २३ पुस २०८२ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App