कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ का ४५ वर्षीय महेश नेपालीको मृत्यु रहस्यमय बनेको छ। मृतक नेपाली जेठ १६ गते कारागारमा रहेका छोरालाई भेट्न घरबाट निस्किएका थिए। उनका छोरा कमल नेपाली लागुऔषध मुद्दामा दाङ कारागारमा छन। तर उनले छोरालाई भेट्न नपाउँदै ज्यान गुमाउनु पर्यो।
उनी जेठ १६ गते असामान्य अवस्थामा कैलालीको चिसापानीमा भेटिए। शरीरको पूरै कपडा खोलेर नग्न अवस्था सडकमा देखिए। स्थानीयका अनुसार उनले घरमा ढुङ्गा हाने। अपशब्द प्रयोग गर्दै गाली गरे। यस्तो अवस्थामा स्थानीयले उनलाई नियन्त्रणमा लिए। शरीरमा कपडा लगाई दिए। इलाका प्रहरी कार्यालय चिसापानीको जिम्मा लगाए।
प्रहरीले सोही दिन उनलाई साँझ बर्दगोरीया गाउँपालिकास्थित सहारा घरमा पुर्यायो। स्थानीयले प्रहरीलाई र प्रहरीले सहारा घरमा बुझाउँदा खिचेको भिडियोमा मृतक नेपाली फुर्तिलो अवस्थामा देखिन्छन्। उनले अपशब्द बोलेको भए पनि शरीर फुर्तिलो देख्न सकिन्छ।
सहारा घरले मानसिक सन्तुलन गुमाएर बेसहारा बनेका व्यक्तिहरूलाई आश्रय दिँदै आएको छ। यो संस्था स्थानीय बलबहादुर बिष्टले आफ्नै प्रयासमा सञ्चालन गरेका हुन। अहिले त्यहाँ थुप्रै बेसहाराले सहारा पाएका छन।
प्रहरी उनलाई सहारा घरको जिम्मा लगाएर फर्कियो। उनलाई सहारा घरमा छोड्दा सञ्चालक बिष्ट त्यहाँ थिएनन्। उनले उक्त दिन आफू बाहिर रहेको प्रतिक्रिया दिए। प्रहरीले नेपालीलाई छोडेर गएको कुरा उनलाई सहारा घरका व्यवस्थापक महेश कुँवरले जानकारी दिएका थिए।
‘म त्यो दिन बाहिर थिए। प्रहरीले उनलाई छोडेर गएको कुरा महेशले मलाई कल गरेर जानकारी दिएको थियो’ उनले भने –‘कुँवरका अनुसार उनको अवस्थामा असामान्य नै थियो।’
कुँवरले उनलाई छुट्टै कोठामा राखे। उनी रातभर बर्बराए। कुँवर राति डेढ बजे उनको अवस्था बुझ्न कोठामा गए। कोठा भित्र रहेको पंखा भाँचिएको थियो। बत्ती अफ थियो। उनी उसैगरी बर्बराईरहेका थिए। सहारा घरको आफ्नै एम्बुलेन्स छ। कुँवरले उनलाई एम्बुलेन्समा राखेर उपचार गर्न लैजान खोजे। तर सकेनन्। फेरी कोठामै थुनिदिए।
जेठ १७ गते बिहान ७ बजेतिर कुँवर फेरी उनलाई राखेको कोठा तर्फ गए। कोठा खोलेर हेरे। नेपाली चुपचाप सुतिरहेका थिए। कुँवरले ब्यूझाउन खोजे तर उनी उठेनन्। उनको मृत्यु भैसकेको थियो। कुँवरले इलाका प्रहरी कार्यालय बौनियाँमा खबर गरे। केही बेरमा प्रहरी पुग्यो। बौनियाँ प्रहरीले इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी दियो। सुखडले सोही दिन साँझ साढे सात बजे मात्रै नेपालीको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा पठायो।
तबसम्म नेपालीको पहिचान खुलेको थिएन। प्रहरीले उनको पहिचानका लागि सूचना जारी गर्यो। सूचना सबै प्रहरी कार्यालयमा पठाइयो। उनको खोजी गरिदिन भन्दै श्रीमती मिना नेपाली जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पुगिन। प्रहरीले उनको तस्बिर देखायो। तर उनको अवस्थाका बारेमा भने श्रीमतीलाई केही बताएन। श्रीमतीलाई इलाका प्रहरी कार्यालय सुखडमा गएर बुझ्नु मात्रै भनियो।
उनी आफ्नो भाइ राजु सार्की र छोरी पिंकी सहित सुखड पुगिन। सुखड प्रहरीले चार घण्टा पछि कागजातमा हस्ताक्षर गर्न लगाएर टीकापुर अस्पतालमा बुझ्नु भन्यो। सुखड प्रहरीले समेत नेपालीको अवस्थाका बारेमा जानकारी दिएन। उनीहरु हतारहतार टीकापुर अस्पताल पुगे। अस्पताल पुगेपछि त्यहाँ कार्यरत प्रहरीले मिनाका भाइलाई शव गृहमा लगेर सनाखत गर्न लगाए। उनले मृतक आफ्नो भिनाजु नै भएको सनाखत गरे।
यो खबर सुनेपछि मिना र उनकी छोरी बेहोस भए। उनीहरूलाई प्रहरीले तत्काल शव बुझेर लैजान भन्यो। त्यही राति उनीहरु शव बोकेर राति साढे १२ बजे घर पुगे। जेठ १९ गते दाहसंस्कारका लागि तयारी हुँदै थियो। आफन्तले कपडामा बेरेर राखेको शव खोलेर हेरे। शरीरको प्रायः धेरैजसो ठाउँमा चोटपटक देखियो। शवको अवस्था हेर्दा आफन्तलाई हत्या गरिएको हो कि भन्ने आशंका भयो। तर उनीहरु कहाँ, कसले, कसरी भन्ने बारेमा अनभिज्ञ थिए। तैपनि उनीहरुले चुपचाप दाहसंस्कार गरे।
जेठ २० गते इलाका प्रहरी कार्यालय लम्कीले मृतककी श्रीमती मिनालाई कल गरेर दुई जना पक्राउ परेको र उजुरी दिन आउन भन्यो। उनी किरियामा थिइन। उनका भाइ र छोरी लम्की पुगे। प्रहरीले कागजात लेखिसकेको थियो। मृतककी छोरीले हस्ताक्षर गरिन। उनीहरु घर फर्किए।
मिनाका अनुसार १२ दिन पछि फेरी लम्की प्रहरीले कल गर्यो। मिनाले खर्च नभएकाले आउन सक्दैन भनिन्। प्रहरीले अत्तरीयासम्म आउन भन्यो। छोरी पिंकी अत्तरीया पुगिन। प्रहरी कागज बोकेर अत्तरीया पुगे। पुरक उजुरीमा प्रहरीले पिंकीलाई हस्ताक्षर गरायो।
यता प्रहरीले लम्की चुहा नगरपालिका वडा नं. ३ चिसापानीका २४ वर्षीय सन्तोष कँडेल र ६८ वर्षीय रामबहादुर खड्कालाई जेठ १८ गते नै पक्राउ गरिसकेको थियो। कँडेल र खड्का मृतक नेपालीलाई जेठ १६ गते प्रहरीलाई बुझाउने व्यक्ति हुन। प्रहरीले जेठ १८ गते कँडेल र खड्कालाई आफन्तको जिम्मा लगाएर छोड्यो।
प्रहरीले दुवै जनालाई पुनः जेठ १९ गते नियन्त्रणमा लगेर इलाका प्रहरी कार्यालय लम्की पठायो। लम्की प्रहरीले जेठ २० गते दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली पठायो। प्रहरीले दुवै जना उपर कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलायो। उनीहरु अहिले जिल्ला कारागार कैलालीमा छन।
मृतक नेपालीकी श्रीमती मिनाले घटनाको सत्य तथ्य छानबिनको माग गरेकी छन। उनले आफ्ना श्रीमानको अनाहकमा ज्यान लिने व्यक्तिलाई उन्मुक्ति नदिन आग्रह गरिरहेकी छन। उनले प्रहरीले घटनाको अनुसन्धानमा गम्भीरता नदेखाएको महसुस भइरहेको बताएकी छन। ‘सुरुमा त घटना लुकाइयो। प्रहरीले भन्दै भनेन। शव छिटो लैजान भनेर दबाब दियो’ उनले भनिन्–‘प्रहरीले किन त्यसो गर्यो भन्ने लागेको छ।’
उता हत्या आरोपमा पक्राउ परेका कँडेल र खड्काका आफन्तले प्रहरीले घटनामा जबरजस्ती फसाएको गुनासो गरेका छन। उनीहरुले नेपालीलाई प्रहरी कहाँ बुझाउँदा सम्म नेपालीको शरीरमा कुनै चोटपटक नभएको दावी गरेका छन। कँडेलकी श्रीमती उमा कँडेलले असामान्य व्यवहार गरिरहेका नेपालीलाई समातेर सकुशल प्रहरी समक्ष बुझाएको बताएकी छन।
उनले कुनैपनि व्यक्तिले नेपालीलाई कुटपिट नगरेको दावी गरेकी छन। ‘हामीले कुटपिट गर्ने कुनै कारण नै छैन। उल्टै समातेर प्रहरीलाई बुझाएका हौँ’ उनले भनिन् –‘प्रहरी र सहारा घरको मिलेमतोमा हामीलाई फसाउने काम भयो।’
हत्या आरोपमा पक्राउ परेकाहरूका आफन्तले प्रहरीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान नगरेको दावी गरेका छन। उनीहरुले घटनाको सत्य तथ्य बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए। उनले घटनाका केही पक्ष अनुसन्धानको दायरा भन्दा बाहिर रहेको स्विकार्दै प्रहरीले सत्य तथ्य बाहिर ल्याउने बताए। ‘हामी अनुसन्धानमै छौँ। केही कुरा छुटेको हुनसक्छ’ उनले भने–‘दोषीलाई उम्किन नदिने र निर्दोष फस्ने कुरामा सचेत छौँ।’
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा छातीमा लागेको गहिरो चोटले नेपालीको मृत्यु भएको देखिएको छ।
मृतक नेपाली निम्न परिवारका व्यक्ति हुन। उनी घरमा रंगरोगनको काम गरेर जीविकोपार्जन गर्दै आएका थिए। उनको परिवार मृतक नेपालीको आयस्रोत माथि नै निर्भर थियो। मृतककी श्रीमती मिनाले श्रीमानको मृत्यु पछि घरपरिवार अभिभावक विहीन भएको बताईन।
प्रकाशित: २९ असार २०८० ०९:५० शुक्रबार