२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धरान र इटहरीको सीमा विवाद फेरि बल्झियो

आयोगको प्रतिवेदन अनुसार अघि बढ्न नागरिक अगुवाको सुझाव

इटहरी र धरान उपमहानगरपालिकाबीचको सीमा विवाद फेरि बल्झिएको छ। धरान उपमहानगरपालिकाले सोमबार इटहरीको क्षेत्राधिकार भित्र बोर्ड राखेको भन्दै इटहरीको नगर प्रहरी टोलीले हटाइ दिएको छ। यो घटनापछि दुवै उपमहानगरपालिकाका नगरप्रमुख सामाजिक सञ्जालमा आमनेसामन्ने भएका छन्।

इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलले दुई उपमहानगरपालिका बसेर विवाद समाधान गर्न इटहरी सदैव तयार भएपनि धरानका नगरप्रमुख हर्क साम्पाङ्द्दारा दम्भ देखाएर बोर्ड राखेको सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्।

‘धरानका नगरप्रमुखले गरेका राम्रो कामको म प्रसंसा गर्छु। विवाद समाधान गर्नका लागि मैले पटक पटक पहल गर्दा पनि चाँसो नदिईकन अरु कसैलाई स्वीकार नगर्ने ढंगले दम्भको अहंकारमा जुन ढंगले फेरि बोर्ड राख्नुभयो, यो गलत छ। यसले इटहरीबासीलाई दुखित बनाएको छ,’ नगरप्रमुख पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्।

दुई महिनाअघि पनि नगरप्रमुख साम्पाङ्द्दारा नगरप्रहरीलाई खटाएर चारकोसे जंगलको पानीपिया क्षेत्रमा बोर्ड राखिएको थियो। त्यतिबेला युवा संघ नेपाल इटहरीले बोर्ड फ्यालि दिएको थियो। त्यो बेला धरानका नगरप्रमुख साम्पाङ्ले कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेपछि बोर्ड हटाएको विषयमा कोही कसैलाई कारबाही नगर्न इटहरी उपमहानगरपालिकाले माग गरेका थिए।

त्यतिबेला सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका नगरप्रमुख पौडेलले धरानका नगरप्रमुख साम्पाङ्लाई आग्रह पनि गरेका थिए। तर, पौडेलका अनुसार अहिले दुवै जन नगरप्रमुखबीच संवादहिनताको अवस्था छ।

सीमा विवाद चर्किएकै बेला धरानका नगरप्रमुख साम्पाङ्ले सामाजिक सञ्जालमा आफू सत्य–तथ्यका आधारमा अघि बढेको जिकिर गरेका छन्। ‘सीमाको विवाद सुल्झाउने महत्वपूर्ण आधार भनेको म्यापिङ् डकुमेन्ट हो, इटहरीले जुन कार्य ग¥यो, त्यो गलत छ,’ उनले भनेका छन्, ‘धरानको पहिलाको नेतृत्वले आफ्नो सीमा क्षेत्र खोजी गरेन, अहिले म आफू क्षेत्र खोजी गर्छु।’ उनले विवाद सुल्झाउनका लागि जिल्ला समन्वय समिति सुनसरीमा पत्रचार गरेको पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले जिल्ला समन्वय समितिले कानुनी ढंगले आफ्नो माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

धरान र इटहरीको सीमा विवाद चर्किदै गर्दा नागरिक समाजका अगुवाले भने सरकारको सीमा निर्धारण आयोगको प्रतिवेदनका आधारमा अघि बढ्न सुल्झाएका छन्। ‘दुवै उपमहानगरपालिकाले वलजफ्ती गर्नु हुँदैन, अहिले जे भइरहेको छ, त्यो जुगाको लडार्इं मात्र हो,’ नागरिक दबाब सञ्जाल धरानका अध्यक्ष समेत रहेका प्राध्यापक डाक्टर राजेन्द्र शर्माले भने, ‘जंगल क्षेत्रमा न प्राकृतिक स्रोत साधनको प्रयोग गर्न पाइन्छ । न त मालपोत नै वृद्दि हुन्छ।’

नागरिक समाज इटहरीका उपाध्यक्ष भोलाकाजी बस्नेतले दुवै उपमहानगरपालिकाले समन्वय गरेर विवाद सुल्झाउनु नै उत्तम हुने बताए। ‘ऐतिहासिक तथ्यलाई ख्याल गर्दै विवाद सुल्झाउँनुपर्छ,’ उनले भने। दुई उपमहानगरपालिकाको सिमा विवाद चर्कदै गएपछि नागरिक समाज इटहरीले बैठक बसेर औपचारिक धारण सार्वजनिक गर्ने तयारी गरेको महासचिव गंगा आचार्यले बताइन्।  

प्रकाशित: १९ असार २०८० १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App