२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ। करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका-२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बिच बाटामै अलपत्र परेका छन्। आज बिहान ५ बजेदेखि सडक अवरुद्ध बनेको छ। छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ।

करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढ लगायतका स्थानमा पुग्ने सवारीसाधन बिचमै रोकिएका छन्। सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ। पहिरो हटाउन करिब चारदेखि पाँच घन्टाको समय लाग्ने यात्रामा निस्किएका सञ्चारकर्मी प्रकाश ज्ञवालीले बताए।

तानसेन नगरपालिका-५ ढुङ्गाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए।

सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ-राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ। माथागढी गाउँपालिका-१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सो सडक अवरुद्ध हुँदा बुटवल-पोखरा चल्ने सवारीसाधन बिचमै लामबद्ध अवस्थामा रोकिएका छन्।

प्रकाशित: १५ असार २०८० ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App