४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विद्युतीय फोहोर व्यवस्थापन चुनौति बन्दै

आवश्यक ऐन, कानुन र पूर्वाधार अभावले विद्युतीय  फोहोरको व्यवस्थापन चुनोतिपूर्ण बन्दै गएको छ।

आइतबार विराटनगरमा नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाका सहभागिहरूले आवश्यक ऐन कानुन र पूर्वाधार अभावमा विद्युतीय फोहोर व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको विज्ञहरूले बताएका हुन्।

हाल इलेक्ट्रिकल र इलेक्ट्रोनिकल लगायतका विद्युतीय फोहोरहरूलाई अन्य ठोस फोहोरका रुपमा व्यवस्थापन गरिंदै आएको र यसरी गरिने फोहोर व्यवस्थापनले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने नेपाल दूर सञ्चार प्राधिकरणका निर्देश मिनप्रसाद अर्यालले बताए। उनका अनुसार इलेक्ट्रिकल र इलेक्ट्रोनिक सामानहरूमा हुने विभिन्न खालका एसिडहरूले  मानव स्वास्थ्यमा गम्भीर असर पार्ने खालका हुन्छन्।

यस्ता एसिड र केमिकलहरू भएका उपकरणको उचित व्यवस्थापन नगरे मानिसलाई क्यान्सरको जोखिममा पार्ने उनले बताए। ‘इ वेष्टको व्यवस्थापनमा चाँडै उचित कदम नचाले यसले भविश्यमा मानव स्वास्थ्यलाई गम्भीर रुपमा असर गर्नेछ’ उनले भने‘मानिसलाई क्यान्सरको जोखिममा समेत पार्ने छ।’ ‘इ वेष्ट म्यानेजमेन्ट’का लागि छुट्टै ऐन निर्माणको आबश्यकता ठानेर नेपाल दूर सञ्चार प्राधिकरणले सुझाव संकलन समेत थालेको अर्यालले बताए। उनले विद्युतीय सामाग्रीको प्रयोग बढ्दै जाँदा नेपालमा पनि विद्युतीय फोहोरहरू अत्याधिक रुपमा बढ्दै जान थालेको बताए। मोवाइल मात्रै नेपालमा प्रति महिना  ५ लाख थानको हाराहारीमा आयात भइरहेको उनले बताए। यस्तै अन्य विद्युतीय उपकरण आयातको अवस्था पनि क्रमिक रुपमा वृद्धि भइरहेको उनले बताए।

अर्यालले विद्युतीय उपकरणको प्रयोग बढ्दै गए पनि यस्ता उपकरण प्रयोग पछि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान पुग्न नसकेको उनले बताए।

कवाडी व्यवसायी महासंघ मोरङका अध्यक्ष नुर मियाँले पुराना विद्युतीय सामाग्री संकलन गरेर रिसाइकलका लागि भारत पठाउने गरिएको बताए। नेपालमा पुराना विद्युतीय सामाग्रीको रिसाइलक गर्ने पूर्वाधार नभएका कारण कवाडीका रुपमा भारत निकासी गरिंदै आएको स्पष्ट पारे।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विद्युतीय फोहोर व्यवस्थापनमा सरकारको ध्यान जान नसकेको बताए। उनले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय रहेको धारणा राखे। विराटनगर महानगरपालिकाले पनि विद्युतीय फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बारे कुनै नीति तय नगरेकोको कोइरालाले स्पष्ट पारे।

कार्यक्रममा कम्प्युटर एशोसिएसन मोरङका सचिव अजित चापागाई, मोवाइल बितरण संघ मोरङका अध्यक्ष हरिप्रसाद उप्रेति विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले अवस्था भयावह हुनु भन्द पहिलै सबैको संयुक्त प्रयासमा विद्युतीय फोहोरको व्यवस्थापनको काम थाल्नु जरुरी रहेको धारणा राखे।  

प्रकाशित: १० असार २०८० १२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App