६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बोडेका बुद्धकृष्णले छेडे जिब्रो

बोडे (भक्तपुर)- हजारौं जात्रालुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बोडेमा शनिबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि बोडेकै बासिन्दा बुद्धकृष्णले बोडे उच्च माविसँंगैको बोडे लायकु चोकमा जिब्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने चलन छ।

बुद्धकृष्णको जिब्रो कर्मी नाइके कृष्णचन्द्र वाग श्रेष्ठले छेडिदिएका हुन्। करिब एक फिट लामो फलामको सुइरोले बुद्धकृष्णको जिब्रो छेडिएको हो। जिब्रो छेड्दा बाजागाजासहित वाहवाही भएको थियो।

यसअघि स्थानीय बुद्धकृष्णलाई बाजागाजाको टोलीसहित जिब्रो छेड्ने जात्रास्थल लायकु चोकमा सम्मानका साथ ल्याइएको थियो। करिब तीन बजे जिब्रो छेडेपछि बाँस एवं निगालोले बनेको अर्ध चन्द्राकार महाद्वीप (भ्यय) बोकेर बुद्धकृष्णलाई बोडे परिक्रमा गराइएको थियो। टोलटोलमा घुमाई स्थानीय पाँंचो गणेशको रथलाई भागुटोल पुर्‍याएपछि सियो निकालिएको थियो। त्यसपछि महालक्ष्मीको माटोले जिब्रोको प्वाल टालिदिएर सियोलाई गणेश मन्दिरमा ठोकिएको थियो।

यसअघि जिब्रो छेड्ने व्यक्ति तीन दिनदेखि केही नखाई व्रत बसिरहेका थिए। जिब्रो छेड्ने सियोलाई एक महिना अगाडि नै तयार पारी तेलमा डुबाएर राखिएको थियो।

जिब्रो छेड्ने क्रममा रगत बग्दैन। यसअघि निरन्तर आठपटक जिब्रो छेडाएका जुजुभाइ बासँं श्रेष्ठले कुनै अशुभ भए मात्रै रगत बग्ने जनविश्वास रहिआएको जनाए। 

बिस्केट जात्राको क्रममा भक्तपुरको मध्यपुर थिमिमा हुने विभिन्न जात्रामध्ये जिब्रो छेड्ने जात्रा सबैभन्दा लोकप्रिय हो। यहाँं दुईदिने सिन्दुर जात्रा पनि लोकप्रिय छ। जात्रा अवलोकन गर्न मध्यपुर थिमिको बोडेमा हजारौंको भीड लाग्ोको थियो। जात्रा हेर्न मध्यपुर थिमिका मात्रै नभई काठमाडौ उपत्यकालगायत विभिन्न ठाउँंका जात्राप्रेमीहरू आएका थिए। जात्राको दिनभर बोडेमा जात्रालुहरुको भीड लागेको थियो।

बृद्धकृष्णले पाँंचौपटक जिब्रो छेडेका हुन्। यसअघि पनि उनले निरन्तर चारपटक जिब्रो छेडेका थिए। आठ वर्षअघि आमाको निधन भएपछि उनले पाँँचौंपटक जिब्रो नछेडी हटेका थिए। बुद्धकृष्ण हटेपछि जुजुभाइले निरन्तर आठपटक जिब्रो छेडेका थिए। त्यसअघि भने बुद्धकृष्णकै दाजु कृष्णचन्द्रले १२ पटक लगातार जिब्रो छेडेका थिए।

ब्ाोडेको जिब्रो छेडाउने जात्रा लिच्छविकालदेखि चलिआएको मान्यता छ। किंबदन्तीअनुसार प्राचीनकालमा बोडेको निलबाराही दायाँंबायाँं बस्ने भूतपिसाचले बोडेबासीलाई दुख दिन्थे। दुख दिन नछाडेपछि जनताले तन्त्रमन्त्रबाट ती पिसाचलाई वशमा पारेर कपाल काटिदिए  र जिब्रोमा सियो घुसाइदिए। वेदना सहन नसकेर पिसाचले कष्टबाट मुक्त गरे आफूले जुनसुकै काम पनि पूरा गरिदिने वचन दिए। त्यसपछि सात वर्षसम्म जिब्रो छेड्नुपर्ने, कुनै पनि महामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिन वाचा गराइएको किम्वदन्ती रहेको स्थानीय सञ्चारकर्मी रामकृष्ण शंखदेवले बताए। वाचाअनुसार सात वर्षसम्म पिसाचले जिब्रो छेडे। पछि जात्रालाई निरन्तरता दिन बोडेकै कोही व्यक्तिको जिब्रो छेड्न लगाइयो। अहिलेसम्म यो परम्पराले निरन्तरता पाउँदै आएको छ।

प्रकाशित: ३ वैशाख २०७४ ०२:३२ आइतबार

बोडेका बुद्धकृष्णले छेडे जिब्रो