२३ पुस २०८१ मंगलबार
image/svg+xml
समाज

तिर्खाएका नगरवासीलाई भ्युटावर उपहार

चौतारा बजारदेखि झन्डै ६०० मिट®माथि बुद्ध पार्कभित्र निर्मित ६७ फिट अग्लो गुम्बासहितको भ्युटावर। तस्बिर: गोविन्द/नागरिक

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा साँगाचोकगढीमा न्यूनतम पूर्वाधारको समेत अभाव छ। खानेपानीको चरम असुविधाले नगरवासीको दैनिकी प्रभावित बनेको छ। नगरवासीका घरका धारामा तीन दिनमा १५ मिनेट पनि पानी झर्न मुस्किल छ। यसकारण काठमाडौंबाट करिब साढे दुई घण्टाको सडक यात्रामा पुगिने सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा सास्ती भोग्न बाध्य छन्। 

सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले राजधानीवासीले प्यास मेटाइरहँदा पानीका पर्याप्त स्रोत हुँदाहुँदै पनि नगरका बासिन्दा भने काकाकुल जिन्दगी बाँच्न विवश छन्। जनताको समस्या समाधान गर्नेभन्दा पनि तत्कालै विकासको हुटहुटीबाट लोकप्रिय बन्ने होडले यहाँका जनप्रतिनिधि विकासको सही मार्गबाट रुमलिएका छन्। खानेपानीका लागि बजेट खर्च गर्न सक्ने अवस्था भए पनि उनीहरूको प्राथमिकतामा नै ठुला र अनावश्यक योजना पर्ने गरेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित मेयर अमानसिंह तामाङले नगरमा आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य नभएको भन्दै ११ करोडको लागतमा चौतारा बजारदेखि झन्डै ६०० मिटरमाथि गुम्बासँगै भ्युटावर र पार्क बनाए।

नगरको गौरव घोषणा गरेर उनले आफ्नो कार्यकालमा ६७ फिट अग्लो बुद्ध पार्क पनि बनाएका हुन्। अहिले डाँडामा रहेको पार्क पुग्न एक हजारवटा सिँढी निर्माण गरिँदैछ। सिँढी बनाउनै ४ करोड खर्च भएको लामाले बताए। पार्कभित्रको गुम्बा र अन्य संरचनाका लागि भने साढे ६ करोड खर्च भएको छ। उनको समयमा १ अर्ब ५ करोड ६३ लाखको बजेट घोषणा गरेको नगरपालिकाले यति ठुलो रकम भ्युटावर र पार्क निर्माणका लागि छुट्यायो। चौतारामा होटल व्यवसाय गरिरहेका दीपेन्द्र घलेले पानीको अभावले व्यवसाय गर्न कठिन भएपछि आफैंले स्रोत खोजेर दीर्घकालीन समाधान गरेको सुनाए।

सिन्धुपाल्चोककै मेलम्चीबाट ल्याइएको पानीले राजधानीवासीले प्यास मेटाइरहँदा पानीका पर्याप्त स्रोत हुँदाहुँदै पनि चौतारा साँगाचोकगढी नगरपालिकाका बासिन्दा भने काकाकुल जिन्दगी बाँच्न विवश छन्।

अरनिको रिसोर्ट सञ्चालन गरिरहेका उनी उक्त रिसोर्टभन्दा ३०० मिटर तल रहेको स्रोतबाट लिफ्टिङ गरी पानीको प्रबन्ध गरिरहेका छन्। त्यसका लागि १ लाख ५० हजार रूपैयाँ खर्च भएको उनले बताए। ‘तीन दिन बिराएर आउने खानेपानीले होटल व्यवसाय गर्न पुगेन। नगरपालिकाभित्रका बासिन्दालाई ट्यांकरबाट पानी किन्ने व्यवस्था भए पनि लिटरको १ रूपैयाँ तिर्नुपर्दा धेरै खर्चिलो भएपछि आफैं लगानी गरी पानीको प्रबन्ध गरेको हो। नजिक स्रोत भएकाले सहज भयो। लिप्टिङ गरेर पानी आपूर्ति गर्दा बिजुलीको मात्रै मासिक २० हजार रूपैयाँ खर्च हुने उनले बताए।

एक दशकअगाडिसम्म नगरभित्र खानेपानीको समस्या थिएन। मानिसहरू गाउँबाट सहरमा बसाइसराइँ सरे। घर बिस्तारै बाक्लिए। जनसंख्या बढ्यो। ‘हिजो पानीको छ्यालब्याल भएको चौतारा हेर्दाहेर्दैै पानीको प्यासले आकुलव्याकुल भएको देख्दा कथाजस्तो लागिरहेको छ,’ स्थानीय इन्द्रबहादुर श्रेष्ठले भने। २०७५ को आर्थिक सर्वेक्षणअनुसार नगरभित्र ५१ हजार ३४७ जनसंख्या छ। २०७८ सालमा तथ्यांक विभागले सार्वजनिक गरेको रिपोर्टअनुसार नगरभित्र ११ हजार १११ घरधुरी छन् भने खानेपानीका ग्राहक १२ सय छन्। अहिले ३५० वटा घरले नयाँ धाराको माग गरिरहेका छन्।

२०७२ वैशाखको भूकम्पयता पानीका स्रोत सुक्दैछन्। स्थानीयलाई तीन दिन बिराएर जम्मा १५ मिनेट वितरण गरिने खानेपानी अपुग हुन्छ। नगरका बासिन्दाहरूको पानीको जोहो गर्न ढुंगेधारामा लामो लाइन देख्न सकिन्छ। खानेपानीकै अभावका कारण सदरमुकामको व्यापार, व्यवसाय र चहलपहल कम भइरहेको छ। चौतारा बजारमा बसिरहेका स्थानीयहरू भूकम्पपछि सुविधाको अभाव महसुस गर्दै अन्यत्र सहरमा बसाइँसराइ गर्दैछन्। मेयरमा निर्वाचित भएपछि पहिलो नगरसभामा बजेट पेस गर्दै चार वर्षभित्र एक घर एक धारा निर्माण गरी गुणस्तरीय खानेपानीको पहुँच वृद्धि र विस्तार गरिने घोषणा तत्कालीन मेयर तामाङले गरेका थिए। केही वडालाई सुक्खा क्षेत्र घोषणा गरी सम्झौता खानेपानी आयोजना सञ्चालन गर्ने र साँगाचोकमा ३१ लाखको लागतमा डिप बोरिङ निर्माण गरी वडा ११ र १२ मा खानेपानीको व्यवस्था गर्ने घोषणा गरेका थिए। ती योजना उनको कार्यकालमा प्राथमिकतामै परेनन्। केही वडामा स्रोतबाट पानी आपूर्ति गर्नेबाहेक ठुला योजना नगरपालिकाले अगाडि बढाएन।  

स्थानीय शान्ति तामाङले घरायसी कामका साथै बुद्धपार्कको व्यवस्थापनमा पानीको जोहो गर्न कठिन भइरहेको बताइन्। ‘आधा घण्टा हिँडेर साँझबिहान दैनिक पानीका लागि खटिनुपर्छ,’ उनले भनिन्, ‘विद्यालय पढ्दै गरेका छोराछोरीले समेत साँझबिहान पढ्ने समयमा पानी बोकेर सघाइरहनुपरेको छ।’

सस्तो लोकप्रियताका लागि ठुला आयोजना र पूर्वाधार निर्माण गरी विकासमा हुटहुटी रहेको देखाउन स्थानीय जनप्रतिनिधिबाट देशभर भ्युटावर र अनावश्यक संरचना खडा गर्ने प्रवृत्ति बढ्दो छ। सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई पनि त्यस्तो रोगले सताएको पाइएको छ। यसले गर्दा खानेपानीको सुविधा, व्यवस्थित ढल तथा स्वच्छ नगर बनाउने कार्यक्रम छायामा परेका छन्। 

गाउँदेखि नगरभित्रका बस्तीमा बाँदर आतंक बढ्दा कृषकहरू आजित बनेर बसाइँ सर्दैछन्। तर स्थानीयको समस्या समाधान गर्ने तथा नगरलाई पूर्वाधारले सम्पन्न बनाउने कुरामा पनि जनप्रतिनिधिको ध्यान गएको छैन। केन्द्रबाट सम्पन्न भएका खानेपानी योजनाहरूमा मूल थपेर व्यवस्थित वितरण प्रणालीमा सुधार ल्याउन जनप्रतिनिधिले चासो देखाएका छैनन्। बजेट वक्तव्यमा घोषणा भएको एक घर एक धाराको नारा नारामै सीमित बन्न पुगेको छ।

ओझेलमा परेका नगरलाई आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्य बनाउन पार्क बनाइएको भनिए पनि सदरमुकाम भने सुनसान छ। चौतारामा पर्यटकीय र रमणीय ठाउँ नभएकाले पनि खासै आन्तरिक पर्यटक घुम्न आउँदैनन्। होटलहरू खाली छन्। नगर क्षेत्रभित्रको विकासका लागि पर्यटनलाई जोड दिन खोजिए पनि यहाँको मुख्य समस्या भनेको खानेपानी हो।  

११ करोडको लागतमा बनेको पार्कमै पानी नहुँदा बगैंचाको व्यवस्थापन कठिन भइरहेको छ। ‘सहरभरि सातामा दुईपटकजति पानी आउँछ। तर हाम्रोतिर एकपटक मात्रै आउने भएकाले पार्कभित्रका बिरुवा र फूलको सौन्दर्य बचाउन पर्याप्त पानी छैन। पानी नहुँदा बगैंचाका बिरुवा, फूल र दुबो सबै ओइलाइसकेका छन्। कति त मरिसके, पार्कको हेरचाहमा खटिएकी स्थानीय शान्ति तामाङले भनिन्।

पिउने पानीको समस्या समाधान गर्न स्थानीय जनप्रतिनिधिले बजेटको उचित प्रबन्ध गरी प्राथमिकता नदिएको गुनासो स्थानीयको छ। स्थानीय कृष्णबहादुर गिरी भन्दछन्, ‘नगरमा पिउने पानीको समस्या ठुलो छ। पूर्वाधार पनि गतिलो छैन। जनप्रतिनिधिहरू स्थानीय आवश्यकतालाई पाखा सार्दै ठुल्ठुला आयोजना र पूर्वाधार निर्माण गरिरहेका छन्।’जनतालाई सुविधा दिनेभन्दा ठुला आयोजना र पूर्वाधार बनाउनु आफ्नै स्वार्थ रहेको उनले बताए। ‘जनप्रतिनिधिले आफ्नै कार्यकर्तालाई पोस्न र मोटो कमिसन लिएर आफ्नो चुनावी खर्च उठाउन अनावश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएका हुन्,’ उनले भने।

आफ्नो कार्यकालमा खानेपानीका लागि सक्दो काम गरेको तामाङले दाबी गरे। केन्द्रीय योजनाबाट भएका योजनाहरूमा नयाँ मूलको पानी थप्न बाँकी रहेको उनले बताए। ‘इन्द्रावती गाउँपालिकामा रहेका चारवटा मूल र सुर्के खोलाको पानी समेत ल्याउने व्यवस्था गरे मात्रै खानेपानी समस्या समाधान हुनेछ,’उनले भने। सदरमुकाम भए पनि चौतारा ओझेलमा परेको र सुकुटे आउने पर्यटकलाई चौतारासम्म ल्याउने र स्थानीय ऐतिहासिक कुराहरू अवलोकन गराउन पार्क बनाइएको पूर्वमेयर तामाङले बताए।  

स्थानीय जुगल खर्क होल्चे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सुवास कर्माचार्यका अनुसार खानेपानीका लागि केन्द्रीय योजनाअन्तर्गत ६ करोड लागतमा पानी शुद्धीकरण योजना अगाडि बढेको छ। बुद्ध पार्कदेखि डेढ सय मिटर तल डाँडामा चार वटा ट्यांकी बनाइँदैछ। 

उच्च पहाडमै अवस्थित नगर चौतारामा आवश्यक पूर्वाधार खडा गर्न पनि ठुलो बजेट खर्च गर्नुपर्ने अवस्था छ। तर कतिपय अनावश्यक संरचनासमेत लहडमै बनिरहेका छन्।

जाइकाको सहयोगमा ५६ करोडको लागतमा चार वर्षअगाडि खानेपानी आयोजना सम्पन्न भएको थियो। २३ किलोमिटर टाढाबाट पानी ल्याइएको हो। पानीको माग बढ्दै गएपछि थेग्न सकिरहेको छैन। ‘प्रतिसेकेन्ड २५ लिटरको दरमा नगरभित्र खानेपानीको माग छ। तर आपूर्ति आधा मात्रै छ। यो आयोजनामा सम्भाव्य मूल भए पनि थप्ने काम भएन। रकमको अभावमा काम गर्न सकिरहेको छैन,’ उपभोक्ता समितिका अध्यक्ष कर्माचार्यले भने। बुद्धपार्क आसपासका झन्डै ३० घरपरिवारलाई अहिले स्तरोन्नति गरिरहेको खानेपानी आयोजनाले समेट्न नसक्ने देखिएको छ।

‘स्थानीय तहले खानेपानीमा लगानी नै गरेको छैन। आन्तरिक पर्यटकका लागि पर्यटकीय स्थलको विकास गर्नुपर्छ तर नगरवासीको सुविधा र सहजताका लागि अहिले पानीकै आवश्यकता छ,’ कर्मचार्यले भने। उपभोक्ता समिति र जनप्रतिनिधिबीच समन्वय र सहकार्य नहुँदा खानेपानीका योजनाहरूले साकार रूप पाउन सकिरहेको छैन। खानेपानीको समस्या समाधानमा मात्रै होइन, बुद्ध पार्कभन्दा झन्डै ७०० मिटर दुरीमा पुरानो र ऐतिहासिक गौरती भीमसेन मन्दिरको विकासमा नगरको चासो देखिएको छैन। त्यस्ता धार्मिक र ऐतिहासिक वस्तुको संरक्षणमा नगरपालिका र जनप्रतिनिधिको ध्यान गएको छैन।  

जनप्रतिनिधिले विकासलाई भन्दा पनि आफ्ना लाभमा केन्द्रित हुँदा स्थानीयले विकासको अनुभूति गर्न पाइरहेका छैनन्।  उच्च पहाडमै अवस्थित नगर चौतारामा आवश्यक पूर्वाधार खडा गर्न पनि ठुलो बजेट खर्च गर्नुपर्ने अवस्था छ। तर कतिपय अनावश्यक संरचनासमेत लहडमै बनिरहेका छन्। वागमती प्रदेश सरकारको सहयोगमा ३८ करोड रूपैयाँमा डाँडै सम्याएर खेल मैदान बन्दैछ। बुद्ध पार्क र खेलमैदान बनाउन वन मासिएको छ। त्यसले भूक्षय, पहिरोजस्ता जोखिम बढाउने खतरा बढाइरहेको छ।  

प्रकाशित: २४ जेष्ठ २०८० ००:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App