८ असार २०८१ शनिबार
image/svg+xml
समाज

बिरामी बोक्दैन नरहरिनाथ गाउँपालिकाको एम्बुलेन्स

नरहरिनाथ गाउँपालिका– ४ का जयरूप सहकारीको गालामा क्यान्सर भयो। उनलाई उपचारका लागी चितवन लगियो। चितवनमा क्यान्सरपीडित सहकारीको उपचार भयो। उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण चितवनमा बस्न नमानेपछि उनलाई कालिकोट आउनुपर्यो।

उनी चितवनबाट कालिकोट सार्वजनिक यातायातमा आए, आउँदाआउँदै उनको शल्यक्रिया गरिएको गालाको टाँका खुस्कियो। स्वास्थ्य सेवा कार्यालय कालिकोटले क्यान्सरपीडितका लागि लगाउने टाँका नभएपछि उनलाई पुनः फिर्ता गर्यो। उनी मान्ममा आए। उनलाई चितवनसम्म जाने भाडासमेत थिएन। उनले पुनः उपचारमा नजाने अडान गरे।

मान्ममा केही सामाजिक अभियन्ताले उनलाई चितवनसम्म जानका लागि विभिन्न निकायसँग सहयोगको अपिल गरे। केहीले आर्थिक सहयोग गरे भने अभियन्ताहरूले नरहरिनाथ गाउँपालिकासँग एम्बुलेन्स सहयोगका लागि हारगुहार गरे तर नरहरिनाथ गाउँपालिकाले एम्बुलेन्स दिन आनाकानी गर्यो। नरहरिनाथ गाउँपालिकादेखि मान्मसम्म आउने एम्बुलेन्समा तेल नभएको १५ हजार खातामा हाल्दिए एम्बुलेन्स दिने एम्बुलेन्स सञ्चालक समितिका संयोजक एवं नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले बताए। उनले १५ हजारमा सुर्खेतसम्म जाने जनाए। गाउँपालिकाको एम्बुलेन्स गरिब असहायका लागि कहिल्यै प्रयोगमा नआएको स्थानीयको भनाइ छ।  

गरिब तथा विपन्न परिवारका बिरामीले पालिकाको एम्बुलेन्समा चर्को मूल्य तिर्नुपरेको छ। नेपाल रेडक्रस सोसाइटीले दिएको एम्बुलेन्समा आफन्त बोक्ने गरेको पाइएको छ। नरहरिनाथ गाउँपालिकाका बिरामीको सहजताका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कालिकोटको सिफारिसमा केन्द्रीय कार्यालयले ख वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको थियो। 

प्रकाशित: २३ जेष्ठ २०८० ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App