भक्तपुर-भक्तपुरमा बालकको एक समूह हरेक बिहान सडकमा गुडुल्किएर हिँड्ने गरेको छ। स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका– ६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएका बालक हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँडेका हुन्। नांगो खुट्टा, शरीरमा सेतो कपडा मात्रै बेरेर गुडुल्किँदै तिथिअनुसार फरक–फरक देवतालाई जल चढाउन जाने परम्परा छ।
नियोलोजिन इंग्लिस सेकेन्डरी स्कुल कमलविनायक भक्तपुरमा कक्षा २ मा अध्ययनरत रिजन सुवालले आफू, बाबु विश्वराम र दाजु रिविन एकमहिने माधवनारायण व्रतमा सहभागी भएको बताए ।
‘हामी पछिल्लो चार वर्षदेखि प्रत्येक वर्ष यो परम्परामा सहभागी हुँदै आएका छौँ,’ विश्वरामले भने, ‘चिताएको इच्छा पूरा हुने आशामा दुई छोरासँगै माधवनारायणको व्रत लिएको छु ।’
माधवनारायण व्रत (धलं) सेवा समिति अध्यक्ष उद्धव खाइतुका अनुसार यो वर्ष बालबालिकादेखि वृद्धवृद्धा गरी १६ व्रतालु सहभागी छन् । त्यसमा कक्षा २ मा पढ्ने बालकदेखि आठ दशक पुगेका वृद्ध छन् ।
खाइतुका अनुसार व्रतालुले भक्तपुरनगरका तिलमाधव नारायणदेखि वंशगोपालसम्म, तलेजुदेखि खोखाली नारायण इटाछेँसम्म, बाकुपटी नारायण सूर्यमढीदेखि तुलाछेँसम्म, हनुमानघाटदेखि चण्डेश्वरीसम्म र व्रत सम्पन्न हुनु एक दिनअघि चतुर्दशीका दिन टौमढी तिलमाधवदेखि देश परिक्रमा गरेर तिलमाधवमै पुगी व्रत अन्त हुने परम्परा छ । यसबाहेक योबीचमा व्रतालु भक्तपुर नगरबाहेक चाँगुनारायण, पशुपति, पनौतीमा पनि नांगो खुट्टाले हिँडेर पुग्नुपर्छ । त्यो बेला उनीहरु गुडुल्किएर नभई हिँडेरै कलशयात्रा गर्छन् ।
खाइतुका अनुसार पुरुषबाहेक यो वर्षको व्रतमा ६ महिला पनि सहभागी छन् । उनीहरु दैनिक हनुमानघाटमै सुत्ने गर्छन् । उनीहरुका लागि खानेबस्ने व्यवस्था सबै समितिले नै मिलाएको छ । पुरुष भने बिहान मात्रै सहभागी भई सुत्नका लागि आ–आफ्नो घर पुग्छन् ।
हनुमानघाटका सहायक पुजारी गोपाल शर्माका अनुसार एकमहिने व्रत क्रममा आउने श्रद्धालु पनि दैनिक श्लोक पढ्ने, हनुमानघाट खोलाको पानीमा डुबेर जलाशयन गर्ने, गुडुल्किएर हिँड्नेलगायत धार्मिक क्रियाकलापमा सहभागी हुन्छन् ।
भक्तपुर नगरपालिका– १२ पोटरी स्क्वायरका विनोदकुमारी प्रजापति पछिल्लो ६ वर्षदेखि छोरासहित निरन्तर व्रत बस्ने गरेका छन् । उनले आफूहरु मात्रै नभई धेरै परिवारसहित व्रत बस्न आएको सुनाए ।
काठमाडौं साँखुमा जस्तै भक्तपुर हनुमानघाटमा पनि प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री माधवनारायणको व्रत चल्दै आएको छ । संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ ।
प्रकाशित: २४ माघ २०७३ ०२:३४ सोमबार