रौतहटको माधव नारायण नगरपालिका ४ मानपुर गाउँमा आइतबार भीषण आगलागी भएको छ। आइतबार दिउँसो करिब दुई बजेदेखि फैलिएको आगो करिब चार बजे नियन्त्रणमा आएको थियो।

आगोले करिब एक दर्जन घर स्वाहा भएको छ भने थप एक दर्जन घरमा क्षति पुर्याएको छ। आगलागीले करोडौँको क्षति पुर्याएको छ भने कैयौँ परिवारको बिचल्ली भएको छ।
खेतमा गहुँको भुस जलाउने क्रममा हावाले उडाएर आगो फुसको घरमा सल्किन पुगेको स्थानीयले प्रारम्भिक अनुमान गरेका छन्। गहुँ काटेपछि खेतमा बाँकी रहेको अवशेष जलाउन आगो लगाएको र दिउँसो तातो पश्चिमा हावासँगै आगो उडेर फुसको घरमा सल्केको स्थानीयहरूले अनुमान गरेका छन्।

आगोले वीरेन्द्र मुखिया बिन, हरेशी मुखिया बिन, महेशी मुखिया बिन, जिउत मुखिया बिन, सुरेन्द्र मुखिया बिन, राजेन्द्र मुखिया बिन, नेमी मुखिया बिन, बिलट भगत माली, जयकरण मुखिया, मोतीलाल मुखिया, किशोर मुखिया, किशोर भगत माली, इनरदेव भगत माली, बिकाउ मुखिया बिनको दुई दर्जन घरलाई क्षतिग्रस्त बनाएको छ। अन्य केही परिवारको घरमा पनि ठुलो क्षति पुर्याएको छ।

आगोले नेमीलाल मुखियाको घरमा दुई लाख रुपैयाँ नगद खरानी भएको छ। नेमीलाल आफैँ मलेसिया जाने तयारीमा रहेका बेला घरमा आगलागी भएपछि सम्पूर्ण घर नै स्वाहा भएको छ।
यसै गरी हरेसी मुखिया बिन मलेसिया जाने तयारीमा रहेको र दुई तिन दिनमा नै उडानको तयारीमा रहेको बेला मलेसिया जानलाई बैंकबाट निकालेर घरमा राखेको दुई लाख असी हजार रुपैयाँ जलेर स्वाहा भएको छ।


आगलागीले सम्पूर्ण घर, घरभित्र रहेको अन्न, लता कपडा र सम्पूर्ण सामग्री नै खरानी भएपछि छाती पिटी पिटी रोइरहेकी एकल महिला बालकेसी देवीले सहयोगको याचना गर्दै भन्छिन् – साहुसित तमसुक गरी हिजो मात्र ल्याएको तिन लाख रुपैयाँ पनि जलेर खरानी भएको छ। मलाहीटोलका एक जनालाई तिन लाख रुपैयाँ दिएर छोरा प्रेम मुखियालाई मलेसिया पठाउनलाई ऋण काढेर ल्याएको रुपैयाँसमेत जलेर स्वाहा हुँदा आफू सम्पूर्णतः विनाश भएको उनी बताउँछिन्।

आगलागीले बिकाउ मुखिया र महेशी मुखियाको चार ओटा बाख्रा पनि जलेर नष्ट भएको छ। बिकाउ मुखियाको घरमा रहेको रकम र गरगहना पनि जलेको दाबी छ। बिलट भगत माली लगायत अधिकांशको घरमा रहेको अन्न पनि जलेको छ। घरमा रहेको धान जलेर बर्बाद भएको छ। सयौँ मन धानमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
एक घरमा आगो सल्केपछि त्यस घरमा रहेको ग्याँस सिलिन्डर पड्किँदा आगो चारैतिर फैलिएको थियो। एकपछि अर्को गरी दुई वटा ग्याँस सिलिन्डर पड्किएको र आगो फैलाउन ग्याँस सिलिन्डरले ठुलो भूमिका खेलेको स्थानीय पारस भण्डारीले जानकारी गराएका छन्।

आगो फैलिएपछि स्थानीयले आफैँले निभाउने कोसिस गरेका थिए तर तातो पश्चिमा हावा जोरले चलेको तथा ग्याँस सिलिन्डर पड्किएर आगोले विकराल रूप लिएको थियो। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो। यसै गरी गौर र चन्द्रपुर नगरपालिकाको बारुण यन्त्र पनि आगो निभाउनमा सहयोग गरेका थिए।

आगो लागेको करिब एक घण्टापछि बारुणयन्त्र पुगेको गुनासो स्थानीयको रहेको छ।
घटनास्थल मूल सडकभन्दा करिब पाँच किलोमिटर भित्र गाउँमा रहेको छ। गौर र चन्द्रनिगाहपुर दुवै ठाउँको दमकल गाउँमा पुग्न समय लाग्ने नै देखिएको छ। जिल्लाको दक्षिणी सीमामा रहेको गौर र जिल्लाको उत्तरी सीमामा रहेको चन्द्रपुर नगरपालिकाबाहेक अन्य पालिकाले बारुणयन्त्र नराख्दा जिल्लामा आगलागीको घटना हुँदा ठुलो क्षति पुग्ने गरेको छ।

यसै गरी रौतहटको तेजापाकड गाउँ र ईशनाथमा पनि आगलागीका घटनाहरू भएका छन्। सबै आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रकाशित: २६ चैत्र २०७९ १३:४६ आइतबार





