नारायणी पुलदेखि माथीपट्टि भरतपुरतिरको भागभन्दा गैँडाकोट तर्फको भाग होँचो छ। गैँडाकोटका केही घरहरुमा प्रत्येक बर्ष नदी पस्ने गर्दछ । त्यहाँ तटबन्धनको कुनै काम हुन सकेको छैन। तर, अग्लो भाग रहेको चितवन तर्फ भने यतिखेर ‘रिभर बिच मोडल’मा तटबन्धसहितका संरचना धमाधम बनिरहेका छन्। जसले गर्दा गैँडाकोट बासी थप त्रसित देखिन्छन्। दुईतर्फि तटबन्धन गर्ने गरि नारायणी नदी व्यवस्थापन आयोजना स्थापना भएपनि गैँडाकोट तर्फ निर्माण कार्य सुरु हुन सकेको छैन। नारायणघाट तर्फमात्रै निर्माण कार्य नहुँदा डुवानको समस्यामा पर्ने गैंडाकोट बचाऔँ अभियान संघर्ष समितिका सदस्य दिपक पाण्डे बताउँछन्।
‘एउटै परियोजना हो। चितवन तर्फ काम सुरु भएको छ। गैंडाकोट तर्फ डिपिआर समेत भएको छैन,’ उनले भने, ‘बर्खामा नदीले झन् ठुलो जनधनको क्षती पु¥याउन सक्ने देखिएको छ।’ नारायणघाटपट्टि बन्ने कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई सिधै गैंडाकोटतर्फ फर्काउने र आउँदो वर्षायाममै गैंडाकोटपट्टि ठूलो क्षति हुने उनले बताए। खास गरी नदी किनारको सबैभन्दा होचो तहमा रहेको बोटे टोल क्षतिको सबैभन्दा बढी जोखिममा छ।
चितवन र गैडाकोट तर्फ समानान्तरण रुपमा काम अगाडि बढाउन उनले माग गरेका छन्। तर, राजनीतिक पहुँचका आधारमा काम अगाडि बढाएको उनको आरोप छ। यसरी काम बढाउँदा गैडाकोट तर्फका २, ५, ६, ७ र ९ नम्बर वडामा नदी पस्ने उनले बताए। देवघाटमा त्रिशुली र कालीगण्डकी मिलेर बनेको नारायणी नदी नारायणघाट बजारमा तीव्र रूपमा बगेर आउँछ। दियालो बंगलाको छेउनेर एकैचोटि मोडिन्छ। यसले नदी वरपरका बस्तीमा थप डर पैदा गराएको छ।
अहिले नारायणघाटको नारायणी नदी किनारमा ‘रिभर बिच मोडल’को काम हो। जसले गैँडाकोट तर्फ असर नगर्ने नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी शंकर बुढाथोकी बताउँछन्। ‘यो नारायणी किनारमा बगरको लेबललाई संरक्षण गर्ने कार्यक्रम हो। अहिलेको संरचानाभन्दा माथी उठाउँदैनौँ,’ उनले भने ‘वारीको संरचनाले पारी डुब्दैन। पहिला जति डुब्ने हो त्यति नै डुब्छ।’ यो परियोजनाका लागि १५ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। १८ महिनाभित्र सक्नेगरि ठेक्का लगाईएको छ। ६४० मिटर लम्बाइको तटबन्ध, आरतीस्थल र फुटपाथको निर्माण हुनेछ।
नारायणी नदी धार्मिक सांस्कृतिक महत्व भएकाले भक्तजनलाई नुहाउन जान सजिलोको लागि खुट्कीला सहितको संरचना बनाउन लागिएको उनले बताए। बर्खामा पानीले डुब्ने गरी नै संरचना बनाउन लागिएको बुढाथोकीले स्पष्ट पारे। भौगोलिक अवस्था नबिग्रियोस भन्नेमा आफु सचेत रहेको उनको भनाई छ। यो कार्यक्रम नारायणी तटबन्धन अन्तरगतकै परियोजना हो। तर गैडाकोट तर्फ अझै डिपिआर समेत भएको छैन। असार भित्र डिपिआर गरेर भदौँदेखि काम अगाडि बढाउने लक्ष्य लिएको उनले बताए।
नारायणी नदीले दुवै जिल्ला तर्फ कटान र डुबान गर्दछ। यसको नियन्त्रणका लागि नारायणी नदी व्यवस्थापन आयोजनाको कार्यालय नै स्थापना गरिएको छ। यो आयोजनाले देवघाटदेखि गोलाघाटसम्म तटबन्धनका काम गर्नेछ । यसको अवधि ६ बर्ष तोकिएको छ। तटबन्धनका लागि ४ अर्ब ७२ करोड रुपैयाँ समेत स्रोत सुनिश्चित भएको छ । सोही योजना अन्तरगत अहिले चितवन तर्फ रामघाटदेखि काभ्रेघाट, गाजिँपुरदेखि हिरापुर, सिसईदेखि बलुवा, बलुवादेखि गोलाघाटसम्मको २२ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौता भएको नारायणी नदी व्यवस्थापन समितिले जनाएको छ। तर, नवलपरासी (बर्दघाट सुस्ता पुर्व) भने केही १० किलोमिटरको हाराहारीमा मात्रै टेन्डर भएको छ । गैडाकोट नगरपालिकाको २, ६ र ९ नम्बर वडा, देवचुली नगरपालिकाको १०, कावासोती नगरपालिकाको १७ र मध्यविन्दु नगरपालिकाको २ र ३ नम्बर वडामा डेन्टडरको प्रकृयामा रहेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए। अहिलेसम्म ५६ करोड रुपैयाँको बराबरको कामका लागि ठेक्का लागेको छ।
यस परियोजनालाई भरतपुर महानगरपालिकाले आफ्नो गौरवको आयोजना भित्र राखेको छ। अहिले वातावरण प्रभाव मुल्यांकन(इआईए) नगरि काम अगाडि बढाईएको भन्दै संरक्षण कर्मीले विरोध समेत गर्न थालेका छन्। तर, वन क्षेत्रभन्दा १० किलोमिटर बाहिर इआईए गर्न नपर्ने बताउँछन्। नारायणी नदी लोपोन्मुख चलचरको बासस्थान समेत हो। घडियाल गोही, डल्फिन समेत यहाँ पाइन्छन्।
प्रकाशित: २५ चैत्र २०७९ ०२:१७ शनिबार





