इलाम कारागारबाट बिहीबार फरार १ कैदीलाई प्रहरीले पक्रेको छ। प्रहरीले हिजो (शुक्रबार) उनलाई कारागारबाट करिब १८ किलोमिटरमा रहेको माइखोलाछेउबाट पक्रेको हो।
झापा मेचीनगर नगरपालिकाका ३४ वर्षे मनराज राई कारागारबाट फरार थिए। उनी इलाम नगरपालिका–९ र १० को सीमा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर प्रदीप सुवेदीले जानकारी दिए। राई कारागारको कम्पाउन्ड वालमा चढेर बाहिर भागेका थिए। गत असोजमा डाँका मुद्दामा जेलमा परेका राईलाई जिल्ला अदालतको गत कात्तिक १५ को फैसलाअनुसार ८ वर्ष कैद र ८० हजार रुपैयाँ जरिमाना तोकिएको छ।
कैदी–बन्दीले कारागारभित्रै तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको महिनादिन नबित्दै इलाम कारागारबाट कैदी फरार भएका थिए।गत फागुनमा यही कारागारभित्र कैदी–बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो बाहिरिएको थियो।
त्यसपछि स्थानीय प्रशासनले छानबिन गरी केही कैदी–बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर गरेको थियो। सार्वजनिक भएको भिडियो ११ महिनाअघिको रहेको भन्दै प्रशासनले त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मी भने अहिले त्यहाँ नभएको जनाएको थियो।
प्रकाशित: १८ चैत्र २०७९ ०२:२३ शनिबार





