मृतकका आफन्तको माग सम्बोधन नहुँदा सोनियापट्टी दुर्घटनामा ज्यान गुमाएका पाँच जनाको शव अझै परिवारले बुझेका छैनन् ।
पाँचै शव जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।
सुनसरी भोक्राह नरसिंह गाउँपालिकाको सोनियापट्टीमा बिहीबार बिहान ट्रक पल्टिदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
विराटनगरबाट मार्बल र टायल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जादै गरेको १ ख ४५४१ नम्बरको ट्रक भोक्राहा नरसिंह वडा नं. ८ मा अनियन्त्रित भई सडकमा पल्टिँदा सुनसरी बर्जु वडा नं. १ का ३२ वर्षे बिरेन्द्र गुरुङ्, सोही ठाउँका ५५ वर्षे बह्मदेव गुरुङ्, ५० वर्षे टेकबहादुर गुरुङ्, २८ वर्षे निसु गुरुङ् र ५५ वर्षे चन्द्रबहादुर गुरुङ्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्रकको अगाडिको क्याविनमा चालकसहित चार जना र पछाडि पाँच जना रहेकोमा लोड गरिएको मार्बल र टायलले किचेर पाँचै जनाको मृत्यु भएको डिएसपी चन्द्र खड्काले बताए ।
उनका अनुसार अगाडि क्याविनमा बसेका तीन जना घाइतेको विराटनगर नरसिंह होममा उपचार भइरहेको छ । चालक फरार रहेका छन् । बिहान साढे पाँच बजे भएको घटना सडक घुमाउँरो भएकाले गर्दा तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भएर पल्टिएको डिएसपी खड्काले बताए ।

दुर्घटनामा एउटै बस्तीका मृत्यु भएपछि बर्जु पुरै वस्ती शोकमा डुबेको छ । घटनापछि मृतकका आफन्त र ट्रक व्यवसायीबिच जिल्ला प्रहरी कार्यालय सुनसरीमा वार्ता हुँदा जनही १५ लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् । आफन्तले सम्बन्धित ट्रक धनीसँगै वार्ता गर्ने पनि अडान राखेका छन् । जसले गर्दा उनीहरुले शव बुझेका छैनन् ।
मृतकका आफन्त राजु गुरुङ्ले एउटै गाउँका पाँच जनाको मृत्यु भएकाले गर्दा उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने बताए । ‘पाँचै जना ज्याला मजदुरी गरेर खानेहरु हुन, उनीहरुको परिवारमा अब ठूलो समस्या सिर्जना भएको छ,’ उनले भने, ‘उचित क्षतिपूर्ति दिइनुपर्छ ।’ ट्रक व्यवसायी संघका प्रतिनिधिले भने कानुन अनुसार क्षतिपूर्ति उपलब्ध गराउने बताएका थिए । मृतकको शव जिल्ला अस्पताल इनरुवामा पोष्टमार्टम गर्न राखिएको छ ।
स्थानीयले क्षतिपूर्तिको माग राखेर बिहीबार दिउँसो २ बजेदेखि हुलाकी राजमार्ग अन्तर्गत सुनसरी बर्जुमा यातायात आवागमन अवरुद्द गरे । सडकमा ढाट लगाएर र टायर बालेर स्थानीयले यातायात सञ्चालनमा अवरोध सिर्जना गरेका हुन् ।
प्रकाशित: १ माघ २०८२ १८:४५ बिहीबार





