८ वैशाख २०८१ शनिबार
समाज

निरु हत्याआरोपी पुर्पक्षका लागि जेलमा

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहास्थित गोरालवाडाकी १६ वर्षीया बालिका निरु विक हत्या आरोपमा पक्राउ परेका अने नेपाली जेल चलान भएका छन्। फागुन ५ मा काठमाडौंबाट पक्राउ परेका उनलाई फागनु ८ मा म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्ला अदालत कालिकोटमा पठाएको थियो।

पक्राउ परेका दुईमध्ये खाँडाचक्र नगरपालिका–३ ताडीमा बस्दै आएका ४७ वर्षीय अने नेपालीलाई जिल्ला अदालत कालिकोटले पुर्पक्षका लागी जेल चलान गरेको हो। खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला विक सामान्य धरौटीमा छुटेकी छन्।

‘अने नेपाली र कमलाका विषयमा अनुसन्धान गरी अदालतमा बुझाएपछि उनीहरूलाई धरौटीमा छुटाउने वा राख्ने न्यायाधीशको आदेशमा भर पर्ने हुन्छ। थुनचेक आदेशमा जेल चलान गरिएको हो’, सरकारी वकिल सीताराम राउतले भने, ‘अने नेपाली थुनामा राखी अनुसन्धान गर्ने गरी न्यायाधीशको आदेशअनुुसार थुनचेक गरिएको छ।’

निरु हत्या भएको १८ महिनापछि दुईजनालाई कालिकोट प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान थालेको थियो। विशेष अनुसन्धान अधिकृतलाई खटाएर अनुसन्धान गर्दै आएको प्रहरीले १८ महिनापछि घटनामा संलग्न रहेको पुष्टि गर्दै दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

पक्राउ पर्नेमा निरु विककी अन्टी खाँडाचक्र नगरपालिका–६ कै वर्ष ३० की कमला विक र सोही ठाउँका दाइ नाता पर्ने वर्ष ४७ का हाल खाँडाचक्र नगरपालिका–३ ताडी बस्दै आएका अने नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार सुरुदेखि अनुसन्धान गर्दा घटनामा संलग्न छन् भन्ने आधार भेटिएकाले अनुसन्धानमा राखेको र केही प्रमाण फेला परेपछि पक्राउ गरी अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरेको बताए। उनले भने, ‘पुराना पेन्डिङ मुद्दा (अनुसन्धान पुराना भएका) मुद्दाहरू प्राथमिकतामा राखी अनुसन्धान थालिएको छ।’

पक्राउ परेकी कमलाले भदौ ४ गते निरुवालाई ओढ्ने पछ्यौरीसमेत दिएको खुलेको थियो। निरु विक २०७८ साल भदौ ४ मा घरबाट साँझ निस्किएकी थिइन्। निरुको चार दिनपछि भदौ ७ गते आधा शरीर जंगली जनावरले खाएको अवस्थामा शव फेला परेको थियो। घटनामा सबै प्रमाण मेटिइसकेकाले प्रहरीलाई तत्काल अनुसन्धान गर्न असहयोग पुगेको थियाे। यो घटना रहस्यमय भएको भन्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले सूक्ष्म अध्ययन गरिरहेको थियो।

प्रकाशित: १८ चैत्र २०७९ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App