१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नाकामा प्रहरीको ‘असुली पेटिका’ प्रकरण: चार प्रहरी निलम्बित, असईलाई जोगाइयो

नागरिक राष्ट्रिय दैनिकमा सोमबार वीरगन्जको मुख्य भन्सारमा प्रहरीले तस्करसँग बाल्टिनमा रकम असुली गरेको समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मा कार्यरत चार जना प्रहरी निलम्बनमा परेका छन्।

निलम्बित हुनेहरुमा वरिष्ठ प्रहरी हवलदार गणेश कडेंल, प्रहरी हवलदार गौरीशंकर यादव, प्रहरी साहायक हवलदार रोहितकुमार यादव र प्रहरी साहायक हबल्दार सलोन बस्नेत रहेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका निमित्त प्रमुख (एसएसपी) मनोजकुमार यादवले जानकारी दिए।

इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) का वरिष्ठ प्रहरी हवल्दारदेखि साहायक प्रहरी हबल्दार निलम्बित हुँदा यस प्रहरी कार्यालयको इन्चार्ज (सई) टेक बहादुर कार्कीलाई भने जोगाइएको छ। उनलाई इनर्वा प्रहरी कार्यालयबाट इलाका प्रहरी कार्यालय श्रीपुरमा लगिएको छ। इलाका प्रहरी कार्यालय इनर्वामा सिर्सिया ड्राइपोर्टमा कार्यरत रहेका सई विनोद काफ्लेलाई पठाइएको छ। यस प्रहरी कार्यालयमा कार्यरत सईसहित २० जना प्रहरी कर्मचारी परिवर्तन गरिएको छ। 

मधेस प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) यादवका अनुसार असुलीका दिन शुक्रबार इलाका प्रहरी कार्यालय इनर्वामा कार्यरत सई कार्कीलाई भोलिपल्टै त्यहाँबाट हटाइएको थियो। उनीमाथि चाहिँ किन कारबाही भएन प्रश्नमा यादवले भने, ‘सई कार्कीलाई घटनाको भोलिपल्टै त्यहाँबाट हटाइएकोले उनीमाथि थप कारबाही भएन।’

शुक्रबार साँझ ६ः३० बजे वीरगन्जको मुख्य भन्सार नाकामा प्रहरीले तस्करलाई प्लास्टिकको रातो रंगको बाल्टिनमा रकम राख्न लागाइरहेको दृश्य कैद गरेपछि तयनाथ प्रहरीले यसबारे सईसाबलाई सोध्न भनेका थिए। ती प्रहरीकर्मीको भनाइबाट यस नाकामा भईरहेको असुलीबारे सई जानकार रहेको प्रष्ट हुन्छ। 

असुली भइरहेको स्थानबाट इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) मुस्किलले दुई सय मिटर उत्तरमा छ। छेवैमा जमानादेखि बाल्टिन थापेर तस्करसँग भइरहेको रकम असुली यस प्रहरी कार्यालयको कमाण्डर (सई) को मर्जी बिना हुनै नसक्ने स्थानीय बताउँछन्। यस प्रकरणमा कनिष्ठ प्रहरीकर्मीलाई निलम्बन गरी वरिष्ठलाई चोख्याउने काम न्यायोचित नभएको प्रहरी कार्यालय छेवैका एक स्थानीयले भने।

ती स्थानीयका अनुसार यहाँ भइरहेको असुली धन्दाको इमानदार छानबिन हुने हो भने धेरै प्रहरी अधिकारी कारबाहीको दायरामा आउँछन्। कमाण्डरको मन्जुरी बेगर मातहतका प्रहरीकर्मीले प्रहरी कार्यालय नजिकै यसरी तस्करसँग रकम असुल्नै नसक्ने उनको दाबी छ।

नागरिक टिमले इनर्वा प्रहरीको असुली धन्दा कैद गरिरहँदा नेपाल प्रहरी संगठनमा नयाँ नेतृत्वले पदभार ग्रहण गरिरहेको थियो। देशकै प्रतिष्ठित प्रहरी संगठनका प्रमुखले पदभार ग्रहण गरिरहँदा देशकै मुख्य भन्सार नाकामा केही प्रहरीले संगठनको छवि धुमिल बनाइरहेको थियो। इनर्वाका प्रहरीले तस्करसँग ‘असुली पेटिका’ राखेरै रकम असुलिरहेका थिए।

वीरगन्ज भन्सारको प्रवेशद्वारभित्र पश्चिमपट्टि इनर्वा प्रहरीले प्लास्टिकको रातो रंगको बाल्टिन राखेर पारिबाट भन्सार छलीका सामान लिएर आउनेसँग महिनौँदेखि रकम असुल्दै आएको थिए। महिनौँदेखि यहाँका प्रहरीले चलाउँदै आएको असुली धन्दा नागरिक टिमले छताछुल्ल पारिदिएको छ।

ड्युटीमा तैनाथ प्रहरीलाई प्रश्न गर्दा नजिकै रहेको इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) का सईलाई सोध्नुस्, मलाई यसबारे बोल्ने अधिकार छैन भनेका थिए। यी प्रहरीको भनाईले पनि सईको मर्जीअनुसार नै बाल्टिनमा रकम असुली भइरहेको प्रष्ट हुन्छ।

प्रकाशित: १३ चैत्र २०७९ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App