२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

वीरगन्जको मुख्य नाकामा प्रहरीको ‘असुली पेटिका’

प्रहरीले बाल्टिनमा असुल्छन् तस्करसँग रकम

वीरगन्जको मुख्य नाकामा तस्करसँग रकम असुल्न प्रहरीले राखेको बाल्टिन। तस्विरः नागरिक

सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले तस्करसँग रकम असुलेको दृश्य अनौठो होइन। तर, शुक्रबार साँझ ६ः३० बजे वीरगन्जको मुख्य भन्सार नाकामा प्रहरीले तस्करलाई प्लास्टिकको रातो रंगको बाल्टिनमा रकम राख्न लागाइरहेको दृश्य अनौठो थियो।

नेपाल प्रहरी संगठनमा नयाँ नेतृत्वले पदभार ग्रहण गरिरहँदा देशकै मुख्य भन्सार नाकामा गैरकानूनी कार्य रोक्न तैनाथ प्रहरी तस्करसँग ‘असुली पेटिका’ राखेरै रकम असुलिरहेका थिए।

वीरगन्ज भन्सारको प्रवेशद्वारभित्र पश्चिमपट्टि प्रहरीले प्लास्टिकको निलो रंगको बाल्टिन राखेर पारिबाट भन्सार छलीका सामान लिएर आउनेसँग रकम असुल्दै आएको खुलेको छ। महिनौँदेखि यहाँका प्रहरीले चलाउँदै आएको असुली धन्दा नागरिक टिमले ड्युटीमा तैनाथ प्रहरीलाई प्रश्न गर्दा नजिकै रहेको इलाका प्रहरी कार्यालय इनर्वा (पर्सा) का सईलाई सोध्नुस् भन्दै उम्के।

क्यामेरा छोप्दै ती प्रहरीकर्मीले भने, ‘यसबारे साइसाबलाई सोध्नुस्, हामीलाई जवाफ दिने अधिकार छैन।’ इलाका प्रहरी कार्यालय पर्सा पुग्दा सई नभएको भन्दै फर्काइयो।

वीरगन्ज मुख्य नाकामा प्रहरीले तस्करसँग बाल्टिनमा पैसा उठाउँछन नि? प्रश्नमा पर्सा प्रहरी प्रमुख (एसपी) कोमल शाहले भने ,‘मैले त्यहाँ त्यस दिन ड्युटी बसेका प्रहरी र इन्चार्जलाई हटाएको छु। थप कुरा बुझ्दैछु उनले भने, ‘तपाईँसँग भएको सबुद प्रमाण मलाई दिनुस् के रहेछ म हेर्छु।

भन्सार छलीका माल बस्तु भित्रिने क्रम बढेपछि यस भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन। चालु आर्थिक वर्षको फागुन २८ गतेसम्म वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली खराब स्थितिमा देखिएको छ। वीरगन्ज भन्सार मुलुककै सर्वाधिक राजश्व संकलन गर्ने भन्सार हो।

फागुन २८ सम्ममा यो भन्सारले १ खर्व ६६ अर्ब ७० करोड राजश्व उठाउने लक्ष्य थियो। जसमा १ खर्व ७२ करोड मात्र राजश्व असुली भएको भन्सार कार्यालयले जनाएको छ। लक्ष्यको ६०.४ प्रतिशत राजश्व असुली भएको देखिन्छ।

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोली तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी निरीह दर्शक बनिदिँदा तस्करी बढेको उल्लेखित घटनाले प्रष्ट्याँउछ।

सीमादेखि सहरसम्म सुरक्षाकर्मी र भन्सार कर्मचारीको धापका कारण वीरगन्ज भन्सार र सीमा क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन्। पछिल्लो समय पर्सामा सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ।

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठूलो परिमाणमा भन्सार राजस्व छली कपडा, मोटरपार्ट्स लगायतका सामान भित्रिने गरेको प्रमाण हो यो। वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई भारतीय सीमा सुरक्षा बलले रोक्न खोज्दा तस्कर जाइलाग्छन्।

विभिन्न सीमानाकाबाट भित्रिने भन्सार राजश्व छलीका कपडालगायतका सामान वीरगन्जको गोदाममा भण्डारण गरी कारेबारीले देशको विभिन्न सहरमा पुर्‍याउने गरेका छन्।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख डिल्लाराज पन्थीका अनुसार यस भन्सारको राजश्वमा योगदान गर्ने मुख्य वस्तु नयाँ सवारीसाधन हो। तर सवारीसाधनको आयात करिब ठप्प रहेकाले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न समस्या भइरहेको उनी बताउँछन्।

‘वीरगन्ज नाकाबाट राजश्वमा सर्वाधिक योगदान गर्ने वस्तु नयाँ सवारी साधन र इन्धन हुन्,’ उनले भने, ‘इन्धनको आयात नियमित रहे पनि नयाँ सवारी साधनको आयात भने प्रायः ठप्प छ।’

पछिल्लो समय पर्साको मुख्य नाकासहित अन्य नाका र मधेस प्रदेशका जिल्लाहरुमा पनि सेटिङमा तस्करी फस्टाउँदो छ। पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ।

पर्सा मात्र होइन पछिल्लो समय मधेस प्रदेशमै तस्कर राज छ। 

धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करको राज छ। सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, सिरहाको ठाढी, माडर र बरियारपट्टी, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाही पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाकामा तस्करको रजाइँ छ।

यी नाकाबाट पछिल्लो समय मदिरा, मरिच, मटर, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाउँदो छ।

प्रकाशित: १२ चैत्र २०७९ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App