५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

साकेला–दिक्तेल सडक सञ्चालनमा

साकेलाको रतन्छा–दिक्तेल सडकमा बस सेवाको उद्घाटन गर्दै समन्वय प्रमुख राई, नगरप्रमुख भट्टराई र अध्यक्ष राई। तस्बिर: महेश्वर

खोटाङको साकेला गाउँपालिकादेखि सदरमुकाम दिक्तेल बजार जोड्ने सडक सञ्चालनमा आएको छ। साकेला २ को रतन्छादेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिको दिक्तेल बजार जोड्ने सडक बिहीबार दिउँसोदेखि सञ्चालनमा आएको हो।

दिक्तेलको अल्छेढुङ्गादेखि दुम्ली–लामदुवाली हुँदै रतन्छाको मानेभञ्ज्याङसम्म चल्ने बस सेवा खोटाङ यातायात प्रालिले सञ्चालनमा ल्याएको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए। उनका अनुसार दुर्गम भेगको गाउँपालिकाबासीलाई सदरमुकाम सहजरुपमा आउजाउ गर्नका लागि यातायात व्यवसायी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको समन्वयमा बस सेवा सञ्चालनमा ल्याइएको हो।  

अध्यक्ष राईले यो सडक सुचारु भएपछि गाउँपालिकाबासीलाई सदरमुकामलगायत माथिल्लो भेगसम्म आउजाउ गर्न सह भएको बताए। सदरमुकाम भएकाले दिक्तेलसम्मको सडक सञ्जाल प्राय सबै स्थानीयतहरुसँग जोडिइसकेकाले त्यहाँसम्म पुग्ने यातायात चलेपछि अरुतिर आउजाउ गर्न पनि सहज हुने उनको भनाई छ। अध्यक्ष राईले सडक सञ्जालसँगै विद्युत्, खानेपानी, कृषि, पशुपालन तथा व्यापार व्यवसायजस्ता सबै कुरामा जनतालाई सहज सेवा दिन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।  

जनप्रतिनिधि स्थानीय सरकार भएकाले जनताको सेवा सहजरुपले प्रवाह गर्न सधैँ तत्पर रहनुपर्ने आफ्नो मान्यता रहेको राईले बताए। ‘स्थानीय सरकार जनताको घरमुलीजस्तै अभिभावक भएकाले अभिभावकीय भूमिका निर्वाह गर्न हरेक पक्षमा जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ’ उनी भ्रन्छन् ‘त्यस कारण हामी जनप्रतिनिधि सधैँ चनाखो हुनुपर्छ, म जनताको सेवाको विषयमा सधैँ चनाखो भएर लाग्दै आएको छु र लागिरहनेछु।’ प्रभावकारी र चुस्त दुरुस्त सेवा प्रवाहका लागि जस्तोसुकै समस्याको पनि सहज समाधान गर्न संवेदनशील हुने उनको भनाई थियो।  

बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज भट्टराई र गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले संयुक्तरुपमा सडक उद्घाटन गरे। दिक्तेलको अल्छेढुङ्गादेखि दोर्पा–दुम्ली हुँदै साकेलाको रतन्छासम्म ३९ किलोमिटर लामो कच्ची सडकमा बस सञ्चालन सुरु भएको हो।

बिहीबारै आयोजित सर्वपक्षीय बैठकले विभिन्न गन्तव्यको भाडा दर पनि तोकेको छ। गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, खोटाङ यातायातका वरिष्ठ उपाध्यक्ष फडिन्द्र राई, महासचिव हिङ्माङ, कोषाध्यक्ष गोविन्द कटवाललगायत यातायात व्यवसायी र जनप्रतिनिधि सम्मिलित बैठकले साकेला २ रतन्छा सुर्के सिलापादेखि दिक्तेलसम्म ५ सय भाडा तय गरेको छ। त्यस्तै, नैनेपाटी, स्कुलक्षेत्र, मबु, यातिम्छा चौकदेखि दिक्तेलसम्म ४ सय ५० र यातिम्छा चौक, पिनालाखा र साल्मेदेखि दिक्तेलसम्म ४ सय भाडा तय भएको छ। त्यसैगरी लामदुवालीदेखि दिक्तेलसम्म ३ सय ७०, चम्पादेखि दिक्तेलसम्म ३ सय ५०, चिउरी डाँडादेखि दिक्तेलसम्म ३ सय, दुम्ली–दिक्तेल २ सय ६०, रुवाबु–दिक्तेल २ सय ४०, च्यानडाँडा–दिक्तेल १ सय ८० र मोहरिया–दिक्तेल १ सय ३० रुपैंया भाडा दर कायम गरिएको प्रालिले जनाएको छ।  

सो रुटमा नियमितरुपमा बस सञ्चालन गर्ने विषयमा पनि सर्वपक्षीय प्रतिबद्धता जाहेर भएको छ। जसका लागि दिक्तेल रुपाकोट मझुवागढी र साकेलाले आआफ्नो क्षेत्रको भूगोलमा सधैँ यातायात सञ्चालन गर्न सडकको नियमित मर्मत र स्तरोन्नति गर्दै जाने सहमति गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए। उनका अनुसार दिक्तेलदेखि रतन्छासम्म सामान ढुवानी गर्दा १० किलोसम्मको भाडा नलिने, सो भन्दा बढी भए प्रतिकिलो ४ रुपैंयाका दरले भाडा लिने निर्णय भएको छ। चामल ल्याउनुपर्दा भने प्रतिबोरा १ सय भाडा लिने उनले बताए।  

प्रकाशित: १२ फाल्गुन २०७९ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App