१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

भक्तपुरमा गाईजात्राको तयारी

साँस्कृतिक पर्व गाईजात्राका लागि तयारी गर्दै।

भक्तपुर– नजिकिँदै गरेको गाईजात्रामा प्रदर्शन हुने विभिन्न नाच, नाटक, प्रहसनको तयारी भक्तपुरका टोलटोलमा हुन थालेको छ । यस वर्ष गाईजात्रा भदौ ३ गते शुक्रबार परेको छ ।

गाईजात्रामा प्रदर्शनका लागि विभिन्न प्याखं (नाच)को तयारी टोलटोलमा भइरहेको छ । गाईजात्राका क्रममा यहाँ सयौं नाच देखाइन्छ । यहाँ देवी प्याखं, भैल प्याखं, माक प्याखं, गाईचा प्याखं, लुसी प्याखं, फाकंदली प्याखं, नागाचा प्याखं देखाइन्छ । साथै लाखे प्याखं, नटु वाचा प्याखं, कंलाली प्याखं, जंगली प्याखं, भालु प्याखं, खिचा प्याखं, ख्या प्याखं, कवाँचा प्याखंलगायत नाच देखाइन्छ । साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां प्याखं, झ्या झ्या प्याखंलगायत नाचको पनि तयारी भइरहेको छ ।

नेपाल क्रान्तिकारी साँस्कृतिक संघ भक्तपुरका अध्यक्ष बालकृष्ण बनमालाका अनुसार गाईजात्राका लागि भक्तपुरका टोलटोलमा तयारी सुरु भएको छ । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँदै आएको छ । गाईजात्राको अघिल्लो दिन जनैपूर्णिमादेखि आठ रात नौ दिनसम्म गाईजात्रा मनाइन्छ । जात्रा क्रममा नगरका विभिन्न ठाउँमा टोलटोलका नाच, नाटक, प्रहसन प्रदर्शन गरिन्छ ।

भक्तपुर नगरपालिकाले गाईजात्रामा प्रदर्शन गरिने नाच, नाटक, ख्याललाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रा क्रममा टोलटोलबाट साँस्कृतिक प्रदर्शन गर्ने क्रम बढेको हो । नगरपालिकाले वर्षेनी जात्रामा हुने साँस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार वितरण गर्दै आएको छ ।
यस वर्ष नाच, नाटक र प्रहसन गरी २५ विधामा पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार विजेतालाई ३० हजारदेखि २ हजार ४ सय रुपैयाँसम्म नगद पुरस्कारको व्यवस्था छ । देवी प्याखं र भैल प्याखंमा पहिलो पुरस्कार ३० हजार, दोस्रो पुरस्कार २४ हजार र तेस्रो पुरस्कार १८ हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

संस्कृतिविद् ओम धौभडेल भक्तपुरमा गाईजात्रा नौ दिनसम्म धुमधामका साथ मनाउने क्रममा टोलटोलका नाच, नाटक, प्रहसन नगरभरि देखाइने जनाए । उनका अनुसार गाईजात्राका लागि गठामुग सकिएलगत्तै टोलटोलमा तयारी सुरु हुने गर्छ । जनैपूर्णिमादेखि सुरु हुने गाईजात्रा कृष्णअष्टमीसम्म प्रदर्शन हुने उनले बताए । गाईजात्राका दिन यहाँ विशेष नाच घिन्तान्गिसी प्रदर्शन गरिन्छ ।  
 

 

प्रकाशित: १ भाद्र २०७३ ०३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App