१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

उषा राई कुटपिट पश्चात् मृत्यु प्रकरण: ४ आरोपी पक्राउ

उषा राई कुटपिट र मृत्यु प्रकरणमा पक्राउ परेका ४ जना सार्वजनिक गर्दै प्रहरी। तस्बिर: रोहित राई

कुटपिटबाट घाइते भएकी एकल महिलाको उपचारको क्रममा मृत्यु भएको घटनामा धरान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका ४ जना महिलाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। धरान १३ की ४० बर्सिया उषाकुमारी राईको मंसिर १३ गते उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो। उनलाई कार्तिक ३ गते उर्मिला राईको नेतृत्वमा गएका महिलाहरूको समूहले कुटपिट गरेका थिए।

घटना भएको महिना दिनभन्दा बढी समयपछि मृत्यु भएपश्चात् मृतकका भाइ सुन्दर राईले ७ जना विरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीको आधारमा घटनाको मुख्य आरोपी धरान १३ सूर्य मार्गकी ५५ बर्सिया उर्मिला राईलाई मंसिर १५ गते पक्राउ गरिएको र १० दिनको म्याद थप गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

यस्तै, मंसिर १६ गते २६ बर्सिया सुमित्रा राई र धरान १७ की २९ बर्सिया सुसेली राईलाई पक्राउ गरेर अदालतबाट ९ दिनको म्याद थप भएको डिएसपी श्रेष्ठले बताएका छन् भने ४० बर्सिया रत्न लिम्बु सुब्बालाई मंसिर १८ गते पक्राउ गरेर ७ दिनको म्याद थप गरिएको बताए।

जाहेरीमा नाम उल्लेख भएका सिर्जना राई, मिना राई र निरकुमारी गुरुङको खोजी कार्य भइरहेको पनि डिएसपी श्रेष्ठले बताए। ती मध्ये मिना राई भने को हुन् भन्ने खुल्न सकेको छैन। 

‘मिना राई को हो भन्ने खुलेको छैन। जाहेरीकर्ता र घटनास्थलमा पनि सोधपुछ गर्दा पहिचान भएको छैन,’डिएसपी श्रेष्ठले भने,‘अन्य प्रतिवादीहरूको हकमा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर खोजी भइरहेको छ।’

उषा राईलाई कुटपिट घटनाको भिडियोसमेत उनको मृत्यु पछि सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो। उक्त भिडियोमा देखिएको तर जाहेरीमा नाम उल्लेख नभएका महिलाहरूबारे पनि अनुसन्धान भइरहेको र कुटपिटमा संलग्न भएको देखिए पक्राउ गरिने डिएसपी श्रेष्ठले बताए।

‘नाम नखुलेका अन्य महिलाहरूको खोजी अनुसन्धान गरी कारबाही गरी पाउ भन्ने जाहेरीमा उल्लेख छ, हामी पनि प्राप्त प्रमाणहरू, भिडियोहरू हेरेर अनुसन्धान गरिरहेका छौँ।’

मृतक राईलाई मुख्य आरोपी उर्मिला राईले आफ्ना श्रीमान् गोविन्द राईसँग नजिकिएको आरोपमा कार्तिक ३ गते आफन्त र अन्य महिलाहरूसहित गएर कुटपिट गरेका थिए। मृतक धरान १३ सूर्य मार्गमा सिलाई कटाई टेलरिङ पसल सञ्चालन गरी बसेका थिए। उनको श्रीमान्को करिब एक बर्षअघि निधन भएको थियो। सुरुमा आरोपितकै घरमा डेरामा बसेकी उनी ५ महिनाअघि मात्र डेरा सरेकी थिइन्।

कार्तिक ३ गतेको कुटपिट घटना पछि ८ गते महिला सेलमा छलफल गरी उपचार खर्च पीडक पक्षले व्यहोर्ने गरी सहमति भएको थियो। तर, मंसिर पहिलो सातातिर स्वास्थ्यमा समस्या देखिएपछि बिपी प्रतिष्ठानमा उपचारको लागि लगिएको थियो। उपचारकै क्रममा उनको मंसिर १३ गते दिउँसो निधन भएको थियो।

प्रकाशित: २० मंसिर २०७९ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App