एमाले सचिव महेश बस्नेतले वर्तमान सरकारका अर्थ मन्त्री स्वर्णिम वाग्लेले संसदमा ‘हामी कम्युनिष्ट होइनौँ’ भन्ने अभिव्यक्तिले सरकारको वास्तविक चरित्र उजागर भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत बस्नेतले सरकार गरिब, श्रमिक, सुकुम्बासी, दलित, विद्यार्थी, शिक्षक तथा मजदुरप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन्। उनले जनताको पीडा नदेख्ने, विकासभन्दा विस्थापनलाई प्राथमिकता दिने र अधिकारको माग उठाउँदा दमनमा उत्रिने शक्ति कम्युनिष्ट हुन नसक्ने बताएका छन् ।
बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको पहिलो दिनदेखि नै संविधान, कानुन र संसदीय प्रणालीमाथि हस्तक्षेप हुँदै आएको बताएका छन्। उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारले सरकारको सोच, शैली र संस्कार थप उजागर भएको बताए।
उनले कम्युनिष्ट विचारधारा श्रमको सम्मान, उत्पीडित वर्गको पक्षधरता र जनअधिकारको संरक्षणमा आधारित हुने भन्दै वर्तमान सरकारले जनतामाथि डोजर चलाउने, युवाको भविष्य थुन्ने र श्रमिकको आवाज दबाउने काम गरिरहेको बताएका छन्।
उनले सरकारले नागरिकको घर भत्काएर, आवाज दबाएर र राज्य शक्तिलाई भय सिर्जनाको साधन बनाएर कुनै शासन उदार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।
प्रकाशित: १ जेष्ठ २०८३ १५:१७ शुक्रबार





