रास्वपाकी सांसद रञ्जु दर्शनाले गणेश नेपाली आफैंलाई जलाउने बिन्दु सम्म किन पुगे भन्ने खोजिनुपर्ने बताएकी छिन्।
शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले लाखौं युवाको लागि सहज हुने नीति सरकार बाट चाहिने बताइन्।
‘गणेश नेपालीको आत्मदह, उनको उपचार खर्च व्योहर्ने सम्म सिमित रहन मिल्दैन। गणेश नेपाली आफैंलाई जलाउने बिन्दु सम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोज बाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ’, उनले भनिन्,‘ एक गणेशले त भौतिक रूपमै आफुलाई जलाए तर दैनिक “मैले सकिन, मरौं कि क्या हो” भन्ने सोच आउने लाखौं युवाको लागि जिवन केहि भएपनि सहज हुने नीति सरकार बाट चाहिन्छ।’
जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुने बताउदै उनले थपिन्, “मैले सकिन” भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नु सम्म ठेले पछि यथार्थ बाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होईन१ जिवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको सबैभन्दा ठुलो सुरक्षा हुन्छ।’
रोग, शोक र भोकमा बग्ने आसुँ झुटो नहुने बताउँदै उनले सुकुमबासी व्यवस्थापनमा पनि सरकारको तर्फ बाट ठिक ढङ्गले नभएको बताइन्।
१०० दिनमा आमुल परिवर्तन, लाखौं रोजगारी एकैपटक सिर्जना गर्न नसकिने उनको भनाइ छ। उनले भनिन्, ‘सबैलाई एकैपटक खुसि बनाउन पनि सकिँदैन तर पिँढमा रहेका श्रमजीवि, गरीबहरूको रोदन भने रोक्न सकिन्छ। सरकारको ध्यान जाओस्।’
प्रकाशित: २६ असार २०८३ १२:२५ शुक्रबार





